नेप्सेमा १५ अंकको वृद्धि, एक अर्ब ७० करोडको कारोबार

नेप्सेमा १५ अंकको वृद्धि, एक अर्ब ७० करोडको कारोबार


धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) पनि दोहोरो अंकले वृद्धि भएको छ । आइतबार ४३ अंकले वृद्धि भएको बजारले आज पनि सोही लय पछ्याएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५.१४ बिन्दुले बढेर एक हजार २७०.८६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले बढेर २७६.२८ मा पुगेको छ ।

नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । कुल १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता सेयर रु. एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोबार भयो । नेप्से र कारोबार रकममा देखिएको वृद्धिसँगै बजार पुँजीकरणमा समेत सुधार देखिएको छ । नेप्सेका अनुसार आजको बजार पुँजीकरण रु. १६ खर्ब २० अर्बबराबरको रहेको छ ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज दुई उपसमूहका सेयर ओरालो लागेका छन् भने दश उपसमूहका सेयर भने बढेका छन् । उत्पादन २.०६ र लघुवित्त १३.८९ ले घटेको छ । यस्तै, बैंकिङ १४.८१, व्यापार २५.१२, होटेल १२.५९, विकास बैंक १२.५३, जलविद्युत् ४८.७, वित्त १०.८८, निर्जीवन बिमा ३९.०१, अन्य ६.९९, जीवन बिमा ५२.०७ र सामूहिक लगानी कोषको ०.०४ बिन्दुले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. ६ करोड चार लाख ५५ हजार ७०६ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु. पाँच करोड ९७ लाख १४ हजार १३०, एनआईसी एसिया रु. पाँच करोड ५७ लाख ५९ हजार ६१७, प्रभु बैंक रु. चार करोड ४१ लाख ७५ हजार ८७, एनएमबी बैंक रु. चार करोड २३ लाख ३० हजार ३६८ र प्राइम बैंक रु. चार करोड १५ लाख ७० हजार ५८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज घोडीघोडा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा सानिमा माई हाइड्रोपावर ९.८७, चिलिमे जलविद्युत् कम्पनी ८.६७, राधी विद्युत् कम्पनी ८.६७, सेन्ट्रल फाइनान्स ७.६९, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ७.४४ र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ७.३० प्रतिशतले आर्जन गरे । यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५.९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.७०, विजय लघुवित्त वित्तीय संस्था ५.४७, नयाँ नेपाल लघुवित्त विकास बैंक ५.१९, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.१९, समिट लघुवित्त वित्तीय संस्था ४.९६ र जोशी हाइड्रो पावरका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाए ।