राजपरिवारको जिम्मेवारी त्याग्ने ह्यारीदम्पतीको घोषणा फिर्ता लिन बेलायती राजपरिवारको आग्रह

राजपरिवारको जिम्मेवारी त्याग्ने ह्यारीदम्पतीको घोषणा फिर्ता लिन बेलायती राजपरिवारको आग्रह


बेलायती राजकुमार ह्यारीदम्पतीको निर्णयबारे सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । महारानी एलिजाबेथसहित राजपरिवारका वरिष्ठ सदस्य र राजकुमार ह्यारीसमेतका बीचमा छलफल भएको राजपरिवार स्रोतले जनाएको छ ।

राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो । बैठकमा सहभागीहरूले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए । ह्यारीका पिता तथा युवराज चाल्स र उनका भाइ विलियमलगायतले पनि ह्यारीदम्पतीलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जली दिन ओमन पुगेका युवराज चाल्स उताबाट फर्किएर बैठकमा सहभागी भएका थिए । मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो । उनलाई क्यानडाबाटै बैठकमा सहभागिताका लागि आउन आग्रह गरिएको थियो । व्यक्तिगत जीवनका लागि उनीहरूले फेरि ‘अर्को कदम’ चाल्न सक्ने आशंका गरिएको छ । महारानीले समाधान खोज्दै गर्दा ह्यारीपत्नी मेगन भने केही दिनअघि नै क्यानडा गएकी थिइन् । ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले त्यस्तो घोषणा गरेका थिए ।

ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ । दरबार स्रोतका अनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गरेका थिएनन् । राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारीदम्पतीको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्शपछि सोमबारको छलफल भएको हो ।
रासस–एएफपी