माघे सङ्क्रान्ति मेला तयारी : मेलामा मांस र मदिरा निषेध

माघे सङ्क्रान्ति मेला तयारी : मेलामा मांस र मदिरा निषेध


नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिएका छन् ।

माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा भक्तजनहरूको घुइँचो लाग्ने हुँदा मेलालाई सुरक्षित र सहज बनाउन हरेक वर्ष चुनौती सामना गर्नुपर्ने पौडेलको भनाई छ ।

देवघाट मेलाको नामले समेत परिचित मेलालाई व्यवस्थित बनाउन १५ वटा विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । पौडेलका अनुसार मेलामा खानेपानी, विद्युत्, यातायात, जलयात्रा, पार्किङ, प्राथमिक उपचारलगायतका विषयमा कुनै पनि गुनासो नआउने गरी तयारी गरिएको छ । देवघाटमा माघे सङ्क्रान्ति मेला भर्नका लागि अघिल्लो रातबाट नै भक्तजनहरू आउने हुँदा सोहीअनुसारको व्यवस्थापन गरिएको छ ।

दर्शनार्थीलाई हिँड्न र स्नान गर्न सहज होस् भनेर बाटो सम्याउने, ढुङ्गा राख्ने काम भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे बताउँछन् । देवघाटको जीर्ण बन्दै गएको झोलुङ्गेपुलसमेत मर्मत गरी दुई लाममा भक्तजनलाई नदी वारपार गर्ने व्यवस्था गरिएको घिमिरेले बताए । मेला अवधिभर देवघाट क्षेत्रमा मांस मदिरापान निषेध गरिएको कुरालाई घिमिरेले विशेष जोडका साथ जानकारी दिए ।

बताइएअनुसार अघिल्ला वर्षका मेलामा कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयका गोताखोरको टोली मात्रै उद्धारमा खटिने गरेकामा यस वर्षबाट नेपाली सेनाको गोताखोर टोलीसमेत थपिएको छ । गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली र मुक्तिनाथबाट आएकी कालीगण्डकीको वेणी सङ्गम देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ । राससका अनुसार स्वदेशका मात्रै नभएर भारतका हिन्दूहरू पनि यस दिनमा स्नान गर्न यहाँ आउने गर्दछन् । माघे सङ्क्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने मान्यता रहँदै आएको छ ।