सागमा टेबलटेनिसतर्फ पदक विजेता सम्मानित

सागमा टेबलटेनिसतर्फ पदक विजेता सम्मानित


नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद (साग) मा हालसम्म पदक जित्ने टेबलटेनिस खेलाडीलाई सम्मान गरेको छ । तेश्रोदेखि १३ औं सागमा पदक जित्ने सबै टेबलटेनिस खेलाडीलाई संघले सम्मान गरिएको हो ।

सागको १३औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ मा भएको तेश्रो सागदेखि टेबलटेनिस पहिलोपटक समावेश गराइएको थियो । समावेश भएको संस्करणदेखि नै नेपालले टेबलटेनिसमा निरन्तर सहभागिता जनाउदै आएको छ ।

सिजरिन शाह, गीता क्षेत्री, निलम तुलाधर र पूजा थापाले महिला टिम इभेन्टमा स्वर्ण जितेका थिए । सिजरिन सागमा सबै भन्दा बढी पदक जित्ने नेपाली खेलाडी पनि हुन् । सिजरिनले स्वर्णसहित ४ रजत र ३ कांस्य जितेकी छन् । त्यसपछि बढी पदक जित्नेमा नेपाल भेट्रान टेबलटेनिस संघका उपाध्यक्ष समेत रहेका धर्ममान वज्रचार्य छन् । उनले १ रजत र ४ कांस्य जितेका छन् ।

संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल भेट्रान टेबलटेनिस संघकी अध्यक्ष निनु सत्याललगायतले पदक विजेतालाई प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।