छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न


छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता (नेसनल इक्वेष्टेरियन च्यापियनसिप) सम्पन्न भएको छ । टुँडिखेलमा आयोजना भएको प्रतियोगिताको प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा हुनुहुन्थ्यो ।

तीन विधामा आयोजित यो प्रतियोगितामा टेन पेकिङ, शो जम्प र हाइजम्प रहेका थिए । जसमध्ये हाइजम्पतर्फ खिलध्वज खड्का (गणेश), रामबहादुर दाहाल (सम्मोहन) र सविन कुमार पाखेरेल (आकांक्षा) क्रमश ः पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

त्यसैगरी शो जम्पतर्फ योगबहादुर बस्नेत (देवकी), लालबहादुर कुँवर (लमजुङ) र रामबहादुर दाहाल (सम्मोहन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । प्रतियोगिताको अर्को विधा टेन पेकिङमा रुद्रबहादुर कार्की, गोविन्दबहादुर खड्का र लक्ष्मण रावल क्रमश ः पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

प्रदर्शन खेल अन्तर्गत महिला राइडरहरुलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका थिए ।

प्रतियोगितामा २६ राइडरको सहभागिता रहेको थियो । सवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा वरिष्ट पत्रकार श्याम चित्रकारलाई सम्मान गरिएको थियो ।

प्रतियोगितालाई नेपाली सेना, राष्ट्रिय खेलकुद परिषद र भ्रमण बर्ष २०२० को उच्चस्तरको सहयोग रहेको थियो । त्यसैगरी कतार एयरवेज, लिओन मोटर्श, टिभिएस मोटर्स लगायतको प्रायोजन रहेको थियो ।