उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह


सभामुख चयन प्रक्रिया लम्बिएर आलोचना बढ्दै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको जानारी दिँदै त्यसका लागि उपसभामुख पदमा आफ्नो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुने बताए ।

नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने अझै कुनै निर्णय गरेको छैन । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।