अष्ट्रेलियामा पृथ्वी जयन्ती भव्यताका साथ मनाइने

अष्ट्रेलियामा पृथ्वी जयन्ती भव्यताका साथ मनाइने


नेपालमा राप्रपा लगायत राजसंस्थावादी संघसंस्थाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपले मनाउने उद्घोष गरिरहेको अवस्थामा राप्रपासमर्थित प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाले पनि भव्य रूपमा पृथ्वी जयन्ती मनाउन लागेको राप्रपा प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खड्काले जानकारी दिएका छन् । अष्ट्रेलियाका मुख्य शहरमा एनआरएनए तथा अष्ट्रेलियामा रहेका समाजका प्रवुद्ध वर्गसमेत सहभागी हुने उक्त कार्यक्रमको सिड्नीमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीको नेतृत्वमा भव्यताका साथ पृथ्वी जयन्ती मनाउन लागिएको राप्रपा प्रवास सिड्नीका अध्यक्ष प्रमोद भण्डारीले जानकारी दिए।

त्यस्तै, नेपालीहरूको बसोबास रहेको अर्को महत्त्वपूर्ण शहर मेलवर्नमा राप्रपा विद्यार्थी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष ऋषिकेश न्यौपानेले संयोजन गर्नेछन् । त्यहाँ महावाणिज्यदूत लगायत नेपाली समुदायको विभित्र क्षेत्रका विशिष्ट व्यक्तिको सहभागी रहने उनले बताए ।

अर्को सहर एडिलेटमा नेपाली वैज्ञानिक प्रखर राष्ट्रवादी व्यक्तित्व, संगीतकर्मी, प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार डा. रामकृष्ण निरौलाले संयोजन गर्नेछन् भने नेपालीहरुको बसोबास रहेको अर्को महत्त्वपूर्ण शहर व्रिसवेनमा प्रवासी नेपाली अष्ट्रेलियाका महासचिव युवा नेता मिलन आचार्य र सचिन पाण्डेले संयोजन गर्नेछन् । यसअलावा अष्ट्रेलियाका अन्य शहरहरूमा समेत राप्रपासमर्थित राष्ट्रवादी नेपालीहरूले आआफ्नो सक्रियतामा पृथ्वी जयन्ती मनाउने तयारी गरिरहेका जनाइएको छ ।