सिड्नीमा भेटिएका बलेले भने- ‘मुन्नी मेरी रिल-लाइफकी प्रेमिका, रियल होइन’

सिड्नीमा भेटिएका बलेले भने- ‘मुन्नी मेरी रिल-लाइफकी प्रेमिका, रियल होइन’


■ राजन घिमिरे, सिड्नी

बले ब्रो अर्थात सागर लम्साल क्षेत्री । चर्चित हांस्य टेलिसिरियल ‘सक्किगो नि’का एक प्रमुख तथा सबैले रूचाएका पात्र । सिड्नी आइपुगेका छन् यतिबेला यिनी ।

गत हप्ता अष्ट्रेलियाको मेलबर्न झरेका सागर यो हप्ता मेलबर्नबाट सिड्नी आएका हुन् । उनको अष्ट्रेलिया आगमन किन ? सिड्नीमा भेटिएका बले ब्रोले खुलेर बताएनन्, भने– ‘यसो घुमघाम र साथीभाइसँग भेटघाट !’

जता गएपनि उनको क्रेज लोभलाग्दै देखिन्छ । शुक्रबार बलेसँग यो पंक्तिकारले केही समय बिताउने अवसर पायो । सिड्नी शहर घुम्ने क्रममा बलेको क्रेज र सिड्नीमा रहेका नेपालीहरूले बलेप्रति देखाएको चासो साँच्चै ‘वाह् !’ गर्नलायक थियो । ‘यही त हो नि हाम्रो सम्पत्ति । दर्शकहरूको यो साथ र मायाले नै कलाकारितामा लाग्न उर्जा मिल्छ’, उनले भने ।

सिड्नी घुम्ने क्रममा बलेलाई उनका प्रशंसकहरूले चासोसहित प्रश्न तेर्स्याए– ‘सक्किगो नि’की मुन्नी तपाईंको सांच्चिकै प्रेमिका हो ?’ प्रशंकहरूबाट यस्तो प्रश्न आएपछि बलेले जवाफ दिनैपऱ्यो । उनले पनि रमाइलै पाराले जवाफ दिए– ‘मुन्नी मेरो साँच्चिकै प्रेमिका त हो तर रिलमा मात्र, रियलमा होइन ।’ सबैको जिज्ञासा यसरी मेटाइदिए बलेले ।

‘सक्किगो नि’मा पात्रअनुसार पहिरन लगाउनु पर्दा र पात्रलाई जीवन्तता दिनुपर्दा बले त्यति सुन्दर देखिंँदैनन्, तर अभिनय गजबकै गर्छन् । ‘वास्तविक गेटअपमा त उहाँ हिरो हुनुहुँदोरहेछ । मैले त यस्तो सोचेकै थिइनँ’– सिड्नीमा बलेलाई नजिकबाट नियालेपछि विकास सेडाईंले भने । पछील्लो समय अमेरिकामा रहनुहुने नेपालीहरू माझ विभिन्न कार्यक्रम प्रस्तुत गरेर नेपाल फर्किएका बलेको यतिबेला प्रवासमा राम्रो माग छ । ‘तर हामी कन्टेन्ट र प्रस्तुति नयाँ बनाएपछि मात्र कार्यक्रम देखाउंन विदेश जान्छौँ । अब केही नयाँ लिएर प्रवासको यात्रामा निस्कने छौँ’– उनले जानकारी दिए ।

प्रेमको मामिलामा बले ब्रो अलि लजाउँदारहेछन् । उनले त्यो विशेषता सिड्नीमा पनि दोहो ऱ्याए । उनले भने– ‘बल्ल–बल्ल कलाकारितामा अडिँदै छु, अहिले नै के प्रेमको चक्करमा लाग्नु ! मलाई लाखौँ दर्शकहरूले माया गर्नुभएको छ । अहिले यही मायामा चित्त बुझाउँछु । अरू प्रेम भने पछि नै गरौँला…’, बले आफ्नो कलाकारिताप्रति यति सिरियस देखिन्छन् ।

यतिबेला नितान्त ब्यक्तिगत भ्रमणमा अष्ट्रेलिया आएका बलेले कतै पनि कलासम्बन्धी कार्यक्रम आयोजना य प्रस्तुति गरेनन् । उनलाई कार्यक्रममा सहभागी तुल्याउन पनि नखोजिएको होइन तर बलेले यसपटक आफू कार्यक्रम गर्ने सोचले नआएको बताए । ‘यसपटक यस्तै भयो, अब अर्कोपटक चाँडै झकास कार्यक्रम लिएर चाँडै सिड्नी आउनेछु ।’ अष्ट्रेलियावासी नेपालीमाझ उनले बाचा गरे ।