कांग्रेस सभापतिसँग पार्टी सञ्चालनको योजना नभएको कांग्रेस महामन्त्रीको आरोप

कांग्रेस सभापतिसँग पार्टी सञ्चालनको योजना नभएको कांग्रेस महामन्त्रीको आरोप


नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको आरोप लगाएका छन् । चितवनमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले कांग्रेसको आगामी १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।

पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर आफू चार वर्षसम्म चुप लागेर बसेको तर नआएको भन्दै कोइरालाले अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गरेरै छाड्ने बताए । शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो । अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको पनि कोइरालाले बताए ।

सभापति देउवाप्रति कडा रुपमा प्रस्तुत भएका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्न जरुरी भएको औंल्याउँदै सरकारले पनि केही गर्न नसक्ने अनि प्रतिपक्षले पनि केही नगर्दा जनतामा चरम निराशा छाएको धारणा राखे ।