मधुमेह कति खतरनाक ?

मधुमेह कति खतरनाक ?


बोलीचालीको सरल भाषामा ‘सुगर’ भनेर चिनिने डाइबिटिज अर्थात् मधुमेहले यतिबेलाको दौडधुप तथा तनावपूर्ण जीवनशैलीमा आक्रामक ढङ्गले प्रभाव जमाइरहेको छ । वृद्ध व्यक्ति मात्र होइन युवा र बच्चाहरू पनि आज मधुमेहको सामना गर्न विवश भइरहेका छन् । शरीरलाई बिस्तारै खोक्रो तुल्याउँदै लैजाने यो एक खतरनाक रोग हो । एकपटक देखापरेपछि जीवनभर साथ नछोड्ने यसको प्रकृति अचम्मको छ । यदि यसलाई बेवास्ता गरियो भने शरीरका अन्य कतिपय अङ्गलाई समेत निष्क्रिय बन्न सक्छन् । यस्तो खतरनाक रोगबारे जानकारी राखेर आवश्यक विधि अवलम्बन गरे यसबाट बच्न या समस्या उत्पन्न भइसकेको अवस्थामा पनि जीवन लम्ब्याउन सकिन्छ । डायबिटिजको कारण के हो, यसका लक्षण के–के हुन्, कसरी यसलाई रोक्न सकिन्छ भन्नेबारे यहाँ केही जानकारी दिने प्रयास गरिएको छ ।

मधुमेहको कारण :

हाम्रो शरीरको ‘प्याङ्क्रियाज’ (अग्न्याशय)ले ठीकसँग काम नगरेको वा पूर्ण रूपले बेकार बन्न पुगेको अवस्था हो डायबिटिज । मधुमेह पैदा गर्ने अन्य धेरै कारण छन्, तर प्याङ्क्रियाज ग्रन्थी यसको लागि सबैभन्दा ठूलो कारण हो । प्याङ्क्रियाज ग्रन्थीबाट विभिन्न प्रकारका हार्मोनहरू बाहिर निस्कन्छन्, जसमध्ये इन्सुलिन र ग्लुकन हुन् । इन्सुलिन हाम्रो शरीरको लागि धेरै उपयोगी तत्व हो । इन्सुलिनले ग्लुकोज अर्थात् चिनीलाई शरीरका अन्य भागमा पुऱ्याउने कार्य गर्दछ । कोषहरूमा पुऱ्याइएको ऊर्जाले इन्सुलिनद्वारा वितरित चिनीबाट ऊर्जा प्राप्त गर्दछ । शरीरमा इन्सुलिन हर्मोनको कम उत्पादन भएपछि डायबिटिज भएको मानिने हो । जब इन्सुलिन कम हुन्छ, कोषहरू र रगतमा चिनी राम्रोसँग पुग्न सक्दैन, जसको कारण कोषिकाको ऊर्जा कम हुन थाल्छ र यसबाट शरीरलाई नोक्सान पुग्न थाल्छ । अशक्तता, मुटुको द्रुत धड्कन इत्यादि समस्याहरू शुरु हुन्छ ।

यसबाहेक अन्य कारणहरू पनि मधुमेहका लागि जिम्मेवार छन् । मधुमेहका कारण इन्सुलिनको कम उत्पादनको कारण रगतमा चिनी उच्च हुन्छ र मधुमेह रोगीलाई बारम्बार पिसाब लाग्ने गर्छ । डाइबेटिजको मुख्य कारण आनुवंशिक पनि हुन्छ । यदि तपाईंको परिवारका कुनै सदस्यहरू, आमाबाबु, भाइबहिनीहरू छन् भने भविष्यमा तपाईंलाई मधुमेह हुन सक्ने सम्भावना धेरै हुन्छ । जो मोटो शरीरका हुन्छन् उनीहरूलाई पनि मधुमेह हुने खतरा बढी हुन्छ । तपाईंको वजन धेरै छ, ब्लडप्रेसर एकदम उच्च छ र कोलेस्ट्रोल सन्तुलित छैन भने पनि तपाईंलाई मधुमेह हुन सक्छ । यसबाहेक व्यायामको अभावले पनि मधुमेहलाई निम्त्याउँछ ।

के–के हुन् मधुमेहका लक्षणहरू ?

तपाईं दिनभर थाकेको महसुस गर्नुहुनेछ । हरेक दिन पर्याप्त निद्रा पाएपछि पनि, तपाईं बिहान उठ्दा लाग्छ कि तपाईंको निद्रा पूर्ण छैन र शरीर थाकेको छ । यी चिजहरूले रगतमा चिनीको स्तर निरन्तर बढिरहेको देखाउँदछ । मधुमेह भएको अवस्थामा चिनीको ठूलो मात्रा शरीरमा सङ्कलन हुन्छ, यो पिसाबको माध्यमबाट बाहिर जान्छ, जसको कारण मधुमेह रोगीले बारम्बार पिसाब लागेको गुनासो गर्न थाल्छ । मधुमेह बिरामीले बारम्बार तिर्खा लागेको अनुभूति गर्दछ । किनकि, शरीरको पानी र चिनी पिसाबको बाटोबाट बाहिर जान्छ, जसको कारण हरदम प्यासको अवस्था रहन्छ । मानिसहरू प्रायः यस कुरालाई हल्का रूपमा लिन्छन् र तिनीहरूको रोग शुरु भएको भनेर बुझ्दैनन् । मधुमेह मेलिटसको शुरुवातले आँखालाई पनि असर गर्छ । मधुमेह बिरामीमा दृष्टि कम हुन थाल्छ र रोगको शुरुमा धमिलो देखिन्छ । केही पनि हेर्नका लागि आँखामा जोड दिनुपर्छ । मधुमेहको थालनीमा अचानक दिनदिनै वजन घट्न थाल्छ र भोक जागेर आउँछ । अन्य दिनको तुलनामा धेरै गुणा भोक बढ्छ । यदि तपाईंको शरीरमा कुनै चोटपटक वा घाउ छ र चाँडै निको हुँदैन भने ठान्नुहोस् मधुमेहले गाँजेको छ । साना घाउ पनि बिस्तारै ठूलो घाउमा परिणत हुन्छ र सङ्क्रमणका लक्षणहरू देखिनेछ । मधुमेह बिरामीको शरीरमा हुने कुनै पनि किसिमको सङ्क्रमण चाँडै निको हुँदैन । यदि तपार्इंलाई भाइरल, खोकी, चिसो वा कुनै ब्याक्टेरियाको सङ्क्रमण भयो भने अत्यन्त जटिलताको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । शरीर चिलाउने र छालासम्बन्धी समस्याहरू पनि निम्तन्छन् ।

ग्लुकोज तथा रगत परीक्षण जरुरी :

मधुमेहका बिरामीले समय–समयमा ग्लुकोजको अवस्था जाँच गराउनुका साथै रगत परीक्षण गराइरहनुपर्छ । किनकि, यदि ग्लुकोजको स्तर बढ्यो भने मधुमेह बिरामीका लागि धेरै खतरनाक हुन सक्छ । रगत परीक्षणबाट किड्नीले ठीकसँग काम गरिरहेको छ कि छैन भनेर देखाउँछ । मधुमेहमा किड्नीले महत्वपूर्ण असर पार्दछ । नियमित जाँचले बिरामीलाई मिर्गौला समस्याबाट टाढा राख्छ । यस्तै, कोलेस्ट्रोल परीक्षणमा पनि ध्यान पुऱ्याउनुपर्छ, अन्यथा जटिल अवस्था निम्तन सक्छ । किनभने मधुमेहको अवस्थामा शरीरमा कोलेस्ट्रोल बढेमा मुटुरोगको जोखिम दोब्बर हुन्छ । खराब कोलेस्ट्रोल रगतका धमनीहरूमा जम्मा हुन गई मुटुको समस्या उत्पन्न गर्दछ ।