भीमलाई बचाउन डाक्टरहरूको दुस्साहस !

भीमलाई बचाउन डाक्टरहरूको दुस्साहस !


वि.सं. १९८९ भाद्र ९ का दिन पश्चिमतर्फका कमाण्डिङ जनरल ‘जङगीलाठ’ धर्मशमशेर जंगबहादुर राणाको कलकत्तामा हृदय गति बन्द भई मृत्यु भयो । निज स्व. श्री ३ महाराज वीरशमशेरका दोस्रा पुत्र हुन् । मृत्यु हुँदा निज जम्मा ५९ वर्षका थिए । यिनको जन्म वि.सं. १९३० मा भएको हो । यिनी निःसन्तान पनि थिए तसर्थ निजका सहोदर दाज्यू गेहेन्द्र शमशेरका दोस्रा पुत्र एकाराज शमशेरलाई यिनले धर्मपुत्र लिएका थिए ।

धर्मशमशेरको मृत्युको खबर काठमाडौंमा पर्सिपल्ट अर्थात् भाद्र ११ का दिन मात्र आइपुग्यो । सो सूचना लिई तुरन्त जुद्धशमशेर र रुद्रशमशेरहरू श्री ३ भीमकहाँ पुगे ।

जुद्धशमशेरले सो दुःखद् समाचार श्री ३ भीमलाई सुनाए । श्री ३ भीम अति दुःखित भएर र जुद्धशमशेरलाई साविक बमोजिम जे–जे गर्नुपर्ने हो सो गर्नु भनी अह्राई दुवै जनालाई विदा दिए । श्री ३ भीमसँग बिदा भई अलि पर पुगेपछि रुद्र शमशेरलाई महाराजबाट हुकूम भयो भन्न आएकाले रुद्रशमशेर मात्र फर्की श्री ३ भीमसमक्ष पुगे र रुद्रशमशेरलाई देख्नासाथै श्री ३ भीमले ‘काहिँला (रुद्र), तँलाई म एकैपटक दिउँला, बुझिस् एकैपटक दिउँला ल जा’ भनी बिदा गरे । उपरोक्त ‘एकै पटक दिउँला’ भनेको शायद श्री ३ भीमले मुख्तियार जुद्धशमशेरलाई निष्काशन गर्ने या राजीनामा गराउने मनसाय गरेको थियो भन्न सकिन्छ ।

स्व. श्री ३ चन्द्रले आफू (श्री ३ भीम) लाई अपशब्द प्रयोग गरी गालीगलोज गरेकैले वि.सं. १९७८ मा राजीनामा समेत गरेकै हुन् भने आफू (श्री ३ भीम) ले पनि भाइ जुद्धशमशेरलाई सबैसमक्ष बारम्बार अपशब्द प्रयोग गरी गाली गर्नुको तात्पर्य नै राजीनामा गरुन् भन्ने थियो । तीन–चारपटक जुद्धशमशेरले रुद्रशमशेरसँग ‘कति बेइज्जत सही बसुँ ? अब त राजीनामा गर्छु काईंला (रुद्र)’ भनी उठ्न लाग्दा साथै बसेका रुद्रशमशेरले ‘राजा रिसाए भन्दैमा आफू रिसाउनु हुन्छ ? हुँदैन’ भनी लबेदा समाती तानी–तानी राजीनामा गर्नबाट रोकेका थिए । श्री ३ भीमले सिंहदरबारभित्र चोकमा १२÷१५ वटा म्याना झिक्न लगाई सफासमेत गराउन लगाएका थिए । म्याना सफा गराउन लगाएको कारण पनि जुद्धशमशेरलाई निष्काशन गर्नको निमित्त नै हो भन्दछन् । जुद्धशमशेर मुख्तियार जस्ता मानिस खरीको बोटको चौतारामा मेच राखी बसेको अवसरमा हजुरिया जनरल रामशमशेर मोटरमा खरीको बोट नजिक आई, मोटरको ‘हर्न’ बजाई जुद्धशमशेरलाई जिस्काउने पनि गर्न थाले । उपरोक्त यी सबै कारणहरूबाट पनि श्री ३ भीमले जुद्ध शमशेरलाई निष्काशन गर्न आँटेको बुझिन्छ ।

श्री ३ भीम सधैं दिनमा र रातमा भुजा खाँदा खुब पेटभरि खाने गर्दथे र खाई सक्नासाथ चुठ्ने अवसरमा घाँटीभित्र औँला हाली खाएको सबैजस्तो बमन गरी झिक्ने गर्दथे । यो कार्य उनको वर्षौंदेखिको थियो । वि.सं. १९८९ भाद्र १२ गतेका दिनमा पनि श्री ३ भीमले भूजा खाएपछि बमन गर्न लाग्दा बमन भएन । अब पेट फुलेझंै भयो साथै उकुसमुकुस हुन थाल्यो । यही अवसरमा तेजशमशेर पक्षघातको रोगबाट पीडित भएकाले निजको औषधिउपचार गर्न भारतबाट ‘डक्टर इन्दु’ काठमाडौं आएका थिए, निज डक्टर इन्दुलाई बोलाई श्री ३ भीमले देखाए । डक्टर इन्दु र डक्टर सिद्धिमणिहरू भई ‘महाराज ! परका नली ‘एष्उभ’ हाली ज्यूनार भएको खाना बाहिर झिक्न सकिन्छ’ भनेकाले श्री ३ भीमको घाँटीबाट रबरको नली पेटसम्म पुग्न गरी कोचे सो नलीबाट मनतातो पानी समेत हाले । पेटमा खाएको खाना त छँदै थियो । साथै आन्द्रा रबरको नलीद्वारा हालेको मनतातो पानी समेत पेटमै रह्यो, बाहिर झिक्न सकेनन् साथ साथै आन्द्रा ठाउँ–ठाउँमा प्वाल समेत प¥यो । श्री ३ भीमका नातिहरू सुवर्ण महावीरहरूको भनाइ छ कि यी पचभैयाहरूकै धनको जोडले गर्दा निज डक्टरहरूले करामत गरे । जे गरेता पनि भोलिपल्ट १३ गतेका दिनदेखि श्री ३ भीमलाई ‘शूल’ भई बिरामी परे ।

धर्मशमशेर जङ्गी लाठको मृत्यु भई जुठो परेको जम्मा ८ दिन अर्थात् १६ गतेका दिन आफना बुबा श्री ३ भीमशमशेर ‘शुलको व्यथाले ग्रस्त’ भएको अवसरमा पनि हजुरिया जनरल रामशमशेरले ९ वटा जक्खू जम्खू खसी काटी सुन्दरीजलमा बनभोज गरे । त्यसै अवसरमा रामशमशेरले सबैलाई सुनाई ‘यी ए भनाउँदाहरूले हामी मरेमा ५ दिन त के तीन दिन मात्र बार्दछन् भने हामीले मात्र किन १३ दिन बार्ने ?’ भनी सो ९ वटा खसी काटी वनभोज गरेको हो भने ।

भालिपल्टै वि.सं १९८९ भाद १७ गते राति करिब ११ बजे महाराज भीमशमशेर जंगबहादर राणाको जम्मा २ वर्ष २ महिनासम्म नेपाल अधिराज्यको बागडोर आफ्नो हातमा लिई जम्मा सतसठ्ठी वर्ष चार महिना उमेरमा सिंहदरबारमै मृत्यु भयो ।

(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ बाट)