सहकारी संस्थाले सामाजिक कार्यमा ध्यान दिनुपर्नेमा जोड

सहकारी संस्थाले सामाजिक कार्यमा ध्यान दिनुपर्नेमा जोड


■ हेमशंकर सिंह, राजविराज

सहकारीको माध्यमबाट समाज रुपान्तरण गर्ने उद्देश्यले १९ वर्षअघि स्थापना भएको ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड २०औं वर्षमा प्रवेश गरेको छ । सप्तरी जिल्लाको १८ वटै स्थानीय तहमा आफ्नो संस्थाको कोष र विभिन्न निकाय, बैंक र वित्तीय सहयोगबाट स्वास्थ्य, शिक्षा, महिला स्वरोजगार, सीपमूलक तालिम, अनुसन्धान विकास र वचत गर्ने बानीलगायतका क्षेत्रमा सो संस्थाले लगानी गर्दै आएको छ ।

संस्थाको शुक्रबार १९औं वार्षिक साधारणसभा मनाउने क्रममा अध्यक्ष सुखराम यादवले सहकारीका सबै सदस्य परोपकार तथा समाजसेवातर्फ समर्पित भएका कारणले मात्र यो सफलता मिलेको बताए । उनले २०५७ साल पुस २ गते १ सय ११ जना सदस्यको ५–५ हजार शेयर पुँजीबाट संचालन गरिएको उक्त संस्थामा १ हजार १ सय समूहमार्फत् अहिले ४० हजार शेयर सदस्य पुगेको जानकारी पनि दिए । जसमध्ये ९० प्रतिशत महिला शेयर सदस्य रहेको उनले बताए ।

संस्थाले आफ्नो कोष तथा दातृ निकायको सहयोगबाट झण्डै ३२ हजार महिलालाई गरिबी निवारण तथा लघुबित्त कार्यक्रममार्फत आय आर्जनका विभिन्न काममा लगाएका छन् । १८ वटै स्थानीय तहमा पुगिसकेको संस्थाले अब ती स्थानीय तहका सबै वडा र टोलमा कार्यक्रम पऱ्याउने घोषणा समेत गरेको छ ।

समाजसेवा तथा परोपकारको मूल उद्देश्य बोकेको उक्त संस्थाले विगत १९ वर्षदेखि शिक्षा, स्वास्थ्य, आर्य आर्जन तथा स्वरोजगारतर्फ विशेष कार्यक्रम लागु गर्दै आएको संस्थाका कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलले बताए । आफ्ना सदस्यलाई स्वरोजगारका लागि सीप विकास र आय आर्जनमूलक तालिम दिनुका साथै साधारण, हायर परचेज, लघुवित्त, वैदेशिक र शैक्षिक कर्जा उपलब्ध गराउँदै आएको संस्थाले यस वर्ष ४४ करोड ४९ लाख २३ हजार ३ सय ९० रुपैयाँको कारोबार गरी २२ लाख ८३ हजार २ सय ८२ रुपैयाँ खुद मुनाफा गर्न सफल भएको साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनले देखाएको छ ।

साधारण सभाको उदघाटन गर्दै राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले संस्थामा महिलाको उल्लेख्य सहभागिता र सक्रियता देखेर कुनै समय महिलाकै नेतृत्वदायी भूमिकामा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीसमेत उत्साहित हुने बताए । संस्थाद्वारा संचालित विभिन्न कार्यक्रममा महिलाको सक्रिय र उल्लेख्नीय सहभागिता र आज यहाँ देखिएको महिलाहरुको सहभागिता धेरै उत्साहजनक रहेको औंल्याउँदै उनले भने, ‘यो दृश्य राष्ट्रपति समक्ष पठाउनुहोस्, म पनि यसबारे राष्ट्रपतिसमक्ष कुरा राख्छु । यसले संस्थामा आवद्ध महिला र संस्था दुबैलाई ठूलो मद्दत पुऱ्याउने काम गर्दछ ।’ सहकार्य मार्फत् सहकारीको विकास गर्नुपर्नेमा जोड दिदै प्याकुरेलले सहकारी संस्थाहरु नाफामूखी मात्र नभई सामाजिक काममा पनि ध्यान दिन सके सहकार्य गर्नेहरुको संख्या आफै बढेर जाने सुझाव दिए ।

उदघाटन समारोहमा गैसस महासंघका केन्द्रीय उपाध्यक्ष ध्रुव देव, रेडक्रस सोसायटी शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमअघि नाचगान, बाजागाजासहित संस्थाका पदाधिकारी र शेयर सदस्यहरुले सचेतनामूलक नाराअंकित प्लेकार्ड बोकेर बजारको विभिन्न भागको परिक्रमा गरेका थिए ।

विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान

यसैबीच ग्लोबल बहुमुखी सहकारी संस्थाले आफ्नो १९औं वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुऱ्याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पत्रकारिता क्षेत्रबाट अवधेश झा, स्वास्थ्य क्षेत्रबाट डा. रन्जित झा र समाजसेवातर्फबाट जोगेन्द्र भगत रहेका छन् । कार्यक्रममा साझेदारी संस्था, आवद्ध उत्कृष्ट कर्मचारी तथा स्वयमसेविकालाई पनि संस्थाले सम्मान गरेको छ । उनीहरुलाई राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले दोसल्ला तथा सम्मानपत्रबाट सम्मानित गरेका थिए ।