सुन्दर नेपाल सुन्दर नै रहोस्

सुन्दर नेपाल सुन्दर नै रहोस्


■ स्वयम्भुनाथ कार्की

जातीय तथा धार्मिक विविधता आजको विश्वका सबै देशको विषेशता हो । यस तथ्यलाई मनन् गर्ने हो भने जातीय, धार्मिक वा सामुदायिक विविधता कुनै पनि राष्ट्र बन्नको निमित्त अनिवार्य तत्व हो । भेटिकन सिटीबाहेक विश्वमा अन्य कुनै देशका नागरिक एकै धर्मका अनुयायी शायद छैनन् । विषेश किसिमले श्रृजित भेटिकन सिटीमा पनि शायद जातीय विविधता होला । तसर्थ, यो जातीय वा धार्मिक विविधता नेपालको मात्र होइन । नेपालको सुन्दरतामा जातीय वा धार्मिक विविधताले त केही तत्व थपेको होला, तर भौगोलिक विविधता र सम्पूर्ण नागरिकको भावनात्मक एकता नै नेपालको सुन्दरताको प्रमुख तत्व हो ।

पृथ्वीमा पाइने भौगोलिक विविधतामध्ये धेरैजसो नेपालमा पाइन्छ । ज्वालामुखी, मरुभूमि, समुन्द्र जस्ता केही अपवाद छोडेर अन्य सबै किसिमका भौगोलिक अवस्था नेपालमा पाइन्छन् । जहाँ भौगोलिक विविधता हुन्छ त्यहाँ जैविक विविधता पनि हुन्छ । प्राकृतिक रूपले आफुलाई अनुकुल वातावरणमा विभिन्न जीव तथा वनस्पतिको उत्पत्ति र अस्तित्व हुने गर्छ । नेपालको यो विविधता नै सम्पूर्ण संसारलाई आकर्षण गर्न पर्याप्त छ । प्रकृतिको सुन्दर संग्रहालयको रूपमा रहेको नेपाल साँच्चै भन्ने हो भने प्रकृतिको ढिकुटी कोठा हो । नेपालीहरूलाई प्रकृतिले यो ढिकुटीका रक्षकको भूमिका दिएको छ । संसारभर बहादुर र इमानदार भनेर कहलिएका हामी भने प्रकृतिले दिएको यो दायित्व बहन गर्ने सवालमा बेइमान सावित भएका छौँ । जसबाट यो सम्पत्ति जोगाउनुपर्ने थियो त्यसैको हितका निमित्त प्रकृतिसँग बेइमानी गर्दै छौँ ।

संसारभर वातावरण तथा जीव वनस्पतिको संरक्षणको आवाज उठेको छ । तर, नेपालमा बीस वर्षअगाडिको रैथाने जीव वा वनस्पतिको आज सिला खोज्नुपर्ने अवस्था छ । अधिकारको नाममा भौगोलिक विविधता निमिट्यान्न पार्न अनेक प्रकारका तर्क तथा दबाब श्रृजना गर्ने कामले नेपालको सुन्दरताले कुन किसिमको हानि ब्यहोर्ने हो त्यसको लेखाजोखा गर्न कसैले आवश्यक सम्झेको छैन । विश्व वातावरण संरक्षण अभियानले अपनाएको नारा ‘पृथ्वी पुर्खाबाट प्राप्त सम्पत्ति होइन, भावी सन्ततिको नासो हो’ नेपालमा अर्थविहीन भएको छ । गणितीय बहुमतको दम्भमा देशलाई आफ्नो पुख्र्यौली सम्पत्ति ठानेर मनपरी गर्ने कामको विरोधमा बोल्न डराउने अवस्था सर्वसाधारणका मुख थुन्ने कानुनले बनाइएको छ ।

छपन्न कोटी यदुवंशीको विनासमा बाहिरी तत्वले सिन्कोसम्म पनि भाँचेको थिएन । आपसकै मैमत्तापन उनिहरूको विनासको एक मात्र र प्रभावकारी कारण थियो भन्ने कुरा पौराणिक आख्यानमा पाइन्छ । पृथ्वीको पुरातात्विक अध्ययन गरेर निकालेको वैज्ञानिक निश्कर्ष वा पुरातन सभ्यताहरुको पतनको इतिहासले पनि यहिी कुरा देखाउँछ । प्राचीन सिन्दुघाटीको सभ्यता वा रोमन सभ्यता त धेरै पुरानो कुरा हो तर कोलम्बसले भारत खोज्नु परेको त मध्ययूगिन इतिहास नै हो । भारतवर्षको (भारतवर्ष भन्नाले आधुनिक भारत देश नभई उपमहाद्वीप भन्ने जनाउँछ) खोज यूरोपेलीहरूलाई आवश्यक पर्नुले नै यताको सभ्यता उन्नत भएको सावित गर्छ । तर, आज यस उपमहाद्वीपका सबै देश अल्पविकसित छन् । यसरी पतन हुनुमा आफ्नो स्वार्थको निमित्त भावनात्मक एकताको विनास नै कारण थियो भनेर भन्न हिचकिचाउनु पर्दैन ।

आफ्नो वर्चश्व कायम गर्न क्षमता बढाउनुभन्दा सजिलो उपाय अरुको क्षमता घटाउनु हो । कुनै देशलाई कमजोर बनाउन त्यस देशका नागरिकको गौरव गर्ने कुरालाई विस्थापित गर्नु पहिलो कदम हो । साझा गौरवको विनाश गर्न परस्परविरोधी परिस्थिति पैदा गरेर गर्न सकिन्छ । यसै गुरुयोजनाअन्तर्गत कसैले हामीबीच फुट गराएर हाम्रो भौगोलिक विविधता र भावनात्मक एकताको सुन्दरतालाई कुरुप पार्न खोजेको छ । सबै देशवाशीले हार्ने यो अभियानले सुन्दर देश नेपाललाई अस्तित्वविहीन आर्थिक र राजनैतिक गुलाम बनाउने छ । भावनात्मक एकतामा खलल पार्ने कुनै पनि कार्यले हामीलाई संहारतर्पm डो¥याउछ भन्ने तत्ववोध अभैm नगर्ने हो भने विनास निश्चित छ ।

डाँडा सम्याएर मैदान बनाउन वा चट्टान थुपारेर पर्वत बनाउने क्षमता मान्छेमा छैन । जबर्जस्ती गरेमा पनि त्यसलाई प्रकृतिले अस्वीकार गरेर प्रकोपबाट विनास गर्छ । प्राकृतिक वासस्थानको विरुद्ध कुनै जीव वनस्पति राख्न सकिँदैन । रैथाने जीव वनस्पतिलाई आयातित किसिमले प्रतिस्थापन गर्ने कुराको पक्षपातीलाई उन्नत किसिम भनिएका जीव वनस्पतिको कमजोरपन थाहा नभएको हुन सक्छ । पहिलेको कृषिमा भएको किसानको आत्मनिर्भरता उन्नत भनिएको कृषिकर्म गर्ने किसानमा किन छैन ? यो मनन योग्य विषय होइन र ? भौगोलिक विविधता कायम रहोस्, जैविक विविधता रहिरहोस्, जातीय वा धार्मिक विविधताको उपस्थितिमा पनि भावनात्मक एकता कायम रहोस्, यो नै नेपालको सुन्दरता हो । नेपाल सुन्दर थियो, सुन्दर होस तथा चिरकालसम्म सुन्दर रहोस् ।