भुइँको टिप्दा पोल्टाको पोखिने खतरा !

■ इन्द्रबहादुर बराल



नेपालको राजनीतिमा ०३३ साल पुस १६ गतेको विशेष महत्व छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका संस्थापक ‘जननेता’ बीपी कोइराला भारत प्रवासको निर्वासित जीवन त्याग गरी राष्ट्रियतामाथिको खतरा महसुस गर्दै उक्त दिन स्वदेश फर्केका थिए । यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा नेपाली काङ्ग्रेसले विशेष कार्यक्रमका साथ हरेक वर्ष मनाउने गर्दछ । तर, आन्तरिक कचिङ्गलका कारण यस वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस काङ्ग्रेसले कसरी मनायो या मनाएन भन्ने तमाम काङ्ग्रेसी शुभचिन्तकले अनुभू ितगर्नै पाएनन् । यो विडम्बनाको कुरा हो ।

काङ्ग्रेसजनका लागि मात्र नभई मेलमिलाप दिवसको महत्व र यसबाट प्रवाहित हुने सन्देश अन्य दलका नेता–कार्यकर्ताका निम्ति पनि उत्तिकै मननीय छ । विशेष गरेर प्रमुख राष्ट्रिय दलहरूमध्ये सत्तारुढ दल नेकपा (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसभित्र देखिएको आन्तरिक विवादले राष्ट्रिय एकता कमजोर भएको परिवेशमा मेलमिलापको आवश्यकता झनै बढेको छ । तर, काङ्ग्रेस नै यस दिवसको उचित कदर गर्न चुकेको परिवेश अत्यन्त दुःखद छ ।

राष्ट्रिय एकता र मेलमिलापको सन्देशको सान्दर्भिकता अझै सकिएको छैन भन्ने अनेक घटना–सन्दर्भले दर्शाइरहेका छन् । भन्नैपर्दा नेपाली काङ्ग्रेसले त झनै उच्च प्राथमिकताका साथ मेलमिलापको वातावरण निर्माण गर्नुपर्ने दायित्व छ । यो महसुस नगरी यस वर्षको अर्थात् ४४औँ राष्ट्रिय एकता तथा मेलामिलापका सन्दर्भमा काङ्ग्रेसीहरू नै चार दिशा मुन्टो फर्काएर बसेबाट आम कार्यकर्ता तथा शुभचिन्तकमा निराशा र चिन्ता हुनु स्वभाविक छ । काङ्ग्रेसमा देखिएको यस विभाजनकारी परिदृष्य साँच्चै चिन्ताको विषय बनेको छ ।

काङ्ग्रेसभित्रको कलह र मनमुटावको लाभ दिँदै सत्तारुढ दल नेकपा (नेकपा)ले लोकतान्त्रिक मूल्य–मान्यतामाथि धावा बोल्दै गएको छ । सरकारले सामाजिक सञ्जालमाथि अङ्कुश लगाउने तयारी गर्दैछ । यस्ता गम्भीर मुद्दातर्फ ध्यान छैन केवल पार्टी सत्ता कसरी कब्जा गर्न सकिन्छ भन्ने ध्याउन्नमा लिप्त हुँदा ‘भुइँको टिप्दा पोल्टाको पोखिने’ खतरा बढेको छ ।

आज काङ्ग्रेसभित्रका केही वंशवादी नेताहरू रामचन्द्र पौडेलको काँधमा बन्दुक राखेर काङ्ग्रेसकै तेजोबध गर्न उद्यत् रहेका भन्ने चर्चा काङ्ग्रेसवृत्तमै चल्न थालेको छ । यसतर्फ वरिष्ठ नेता पौडेलको ध्यान पुगेको छैन कि भन्ने महसुस किन गराएको छ भने उनी जिल्ला सभापतिको भेला गराएर पार्टी नेतृत्वविरुद्ध उकास्न उद्यत् देखिए । आफ्नै दमखमले काङ्ग्रेसको यो उचाइसम्म आइपुगेका नेता पौडेलले वर्तमानमा कसरी अघि बढिरहेको छु भन्ने बुझ्न एकपटक पछाडि फर्केर हेर्नु आवश्यक देखिन्छ ।

वास्तवमा नेपाली काङ्ग्रेससभित्र लेगेसीको राजनीति हाबी हुँदै गएको छ । पार्टीका लागि खासै योगदान नभएकाहरूले पार्टी हत्याउने हतारोमा आत्मघाती अभिव्यक्तिहरू दिन थालेका छन् । खुमबहादुर खड्का जस्ता कुशल संगठकलाई कति ठूलो जालझेल र षड्यन्त्र गरेर फसाइएको थियो र खड्कालाई प्रयोग गरी अन्तमा फसाउने षडयन्त्र कुन समूहबाट गरिएको थियो भनी गम्भीर मनन गर्नैपर्छ पौडेलले । अन्यथा उनको नियति पनि गुदी खाएर फालिएको केराको बोक्रासरह हुनेमा शङ्का गर्नु पर्दैन । कुनै पनि नेता वा कार्यकर्ताले अरुको काँध चढेर राजनीति गर्दा ऐनमौकामा धोका हुन सक्छ भन्ने ख्याल राख्नैपर्छ ।

पुनश्चः, योगदान नहुनेहरूले समाउने अखेंटो भनेकै लेगेसीको राजनीति हो, जो यतिबेलाको काङ्ग्रेस–कलहमा स्पष्ट झल्किरहेको छ । यसर्थ, राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भलाई हरेक काङ्ग्रेसजनले एकपटक पुनः स्मरण गर्नैपर्छ । पार्टीभित्रको गुट–उपगुद्धको अन्त्य गरी राष्ट्रिय एकता र मेलमिलापको वातावरण सिर्जना गर्न लागिनपरे काङ्ग्रेसले अझै दुर्गति भोग्नुपर्नेछ, हेक्का रहोस् ।

प्रतिक्रिया