जापानमा यसरी गरियो भ्रमण वर्षारम्भ

जापानमा यसरी गरियो भ्रमण वर्षारम्भ


■ विशेष प्रतिनिधि, जापान (टोकियो)

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को जापानमा भव्य शुभारम्भ गरिएको छ । टोकियोस्थित जापानका लागि नेपाली राजदूत निवासको सभाहलमा एक समारोहको बीच गत मंगलबार शुभारम्भ कार्यक्रम आयोजना गरिएको हो ।

जापानी अतिथिहरुको उल्लेख्य उपस्थितिमा नेपाल भ्रमण वर्षको सफलताको कामना गर्दै स्वस्तिवाचनसहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भ्रमण वर्षको लोगोसहितको ब्यानर खोलेर औपचारिक उद्घाटन गर्नुभएको हो । उक्त समारोहमा मन्तव्य राख्दै राजदूत राणाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबैको साथ, सहयोग र सहकार्यको आवश्यक रहेको बताउनुभयो । नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं भाषिक विविधताले भरिएको मुलुक भएकाले जापानीनागरिकहरुलाई नेपालका विश्वसम्पदा क्षेत्रहरु, सर्वोच्च शिखर सगरमाथा, बुद्धजन्मस्थल लुम्बिनी जस्ता क्षेत्रहरुको भ्रमण गरी अनुभव सँगाल्न राजदूत राणाले अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल तथा नेपाली पर्यटनबारेका जानकारीहरु प्रस्तुत गरिनुका साथै नेपालमा समय व्यतीत गरेका जापानी नागरिकले नेपालको चितवान राष्ट्रिय निकुन्ञ्जमा खिचेका विभिन्न जंगली जनावार तथा पंक्षीहरुको जानकारीसहितको सामग्रीहरु पनि प्रस्तुत गरिएको थियो ।

उदघाटन समारोहमा जापान सरकारका पूर्वमन्त्री तथा सांसद, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा मन्त्रालयका वरिष्ठपदाधिकारीहरु, नेपालका लागि जापानी राजदूत मासामिची साइगो, पूर्वराजदूतहरु, एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट, एनआरएनए जापानका पदाधिकारीहरु, जापानस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नेपालीदूतावासका पदाधिकारीलगायत ठूलो संख्यामा जापानी तथा नेपालीको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली खाना र संस्कृति नाचगानसमेत प्रस्तुत भएको थियो ।