जापानमा मृत्यु भएका थापाको शव नेपाल पठाउने तयारी पूरा

जापानमा मृत्यु भएका थापाको शव नेपाल पठाउने तयारी पूरा


■ जापान प्रतिनिधि (टोकियो)

जापानको सेन्दाई शहरमा हृदयघातका कारण मृत्यु भएका पोखराका २७ वर्षीय विकल थापाको शवलाई नेपाल पठाइने तयारी पूरा भएको छ ।

पोखरामा रहेको परिवारले मृतक थापाको शवलाई नेपाल झिकाइदिन अनुरोध गरेपछि कास्की पोखरा समाज जापानले सहयोग संकलन गरेको थियो । समाजले दिएको जानकारीअनुसार सेन्दाइवासी नेपालीहरुसहित जापानमा क्रियाशील संघसस्था एवम् जापानवासी नेपालीहरु गरी २३ लाख ६५ हजार ४ सय २४ जापानिज एन संकलन भएको कास्की पोखरा समाज जापानका अध्यक्ष विकास श्रेष्ठले बताउनुभयो । थापाको शवलाई जनवरी १२ तारिख जापानबाट नेपाल पठाइने तयारी रहेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले दुःखको समयमा सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्नुभयो ।

विगत ७ वर्षदेखि पूर्वोत्तर जापानको शहर सेन्दाईमा श्रीमती र छोरासँगै बस्दै आएका थापाको ह्रदयघात भई मृत्यु भएको थियो। नेपालमा रहेको परिवारले मृतक थापाको शवलाई नेपालमै लैजान चाहेको भन्दै कास्की पोखरा समाज जापानले सहयोगको लागि सबैमा अपिल गरेको थियो । थापाको शवसँगै थापाका श्रीमती र छोरा पनि नेपाल जाने भएको समाजका महासचिव कमल बास्तोलाले जानकारी दिनुभयो ।

केही समय पहिले सेन्दाईमा नै पोखराका चिरञ्जीवी गिरीको पनि सडक दुर्घटनमा परेर मृत्यु भएको थियो ।