अष्ट्रेलियामा पर्यटनमन्त्रीको अपमान !

अष्ट्रेलियामा पर्यटनमन्त्रीको अपमान !


■ राजन घिमिरे, सिड्नी

अष्ट्रेलिया यतिबेला ठूलो शोकमा परेको छ । विश्वभरबाट अष्ट्रेलियाको यस पीडाप्रति सम्वेदना प्रकट गर्ने लहर चलिरहेको छ । तर, केही सातादेखिको डडेलोले ठूलो क्षति पुगी यसरी शोकाकुल बनेको अवस्थामा अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि आफ्नो अगुवाईमा ऱ्याली निकाल्न खोज्दा अष्ट्रेलिया यात्रामा रहेका पर्यटनमन्त्री योगेशकुमार भट्टराईले ठूलो अपमान सहनुपरेको छ ।

पर्यटनमन्त्री भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, दूतावासकै अफिसर दीपक खड्कासहित केही नेपालीहरू ऱ्यालीका लागि ओपेरा हाउसनजिक पुगेका थिए । पर्यटन वर्ष २०२० को प्रचारप्रसार गर्न सिड्नी आइपुगेका मन्त्री भट्टराईसहितको टोलीलाई सिड्नीको ओपेरा हाउस परिसर प्रवेशमा सिड्नी प्रहरीले रोक लगाएपछि मन्त्रीलगायत नेपालकै बेइज्जत हुने अवस्था सिर्जना भएको हो ।

‘यहाँ तपाईंहरूको टोलीलाई प्रवेश गर्न कुनै इजाजत छ ?’ भनी अष्ट्रेलियन प्रहरीले सवाल गर्दा ऱ्याली–आयोजकलगायत सहभागीहरू नाजवाफ भएका थिए । दुई दिनअघि नै सिड्नी काउन्सिलले ओपेरा हाउसमा झण्डासहित ऱ्याली निकाल्न नमिल्ने भन्दै अनुमति नदिएको जानकारी प्राप्त भएको छ ।

ऱ्याली निकाल्न स्वीकृति नदिइएको भन्दै प्रहरीले रोकिदिएको बारे अस्ट्रेलियाबाट सञ्चालित नेपाली मिडियामार्फत ब्यापक मात्रामा समाचार सम्प्रेषित गरिएको थियो । ‘नेपालको बहालवाला मन्त्रीलाई प्रवासमा यसरी बेइज्जत हुने गरी कार्यक्रम गर्न मिल्छ ? यो जिम्मेवारी कसले लिने ?’ सवाल पैदा भएको छ । यसरी मुलुककै बेइज्जत हुने कार्य भएकोमा स्थानीय नेपालीहरू आयोजकप्रति रुष्ट भएका छन । मन्त्री भट्टराईलाई विवादमा ल्याउने गरी भ्रमण वर्षको कार्यक्रम राखिएको भन्दै अष्ट्रेलियामा रहेका नेपालीहरुले आपत्ति जनाएका हुन् ।

ज्ञातव्य छ, ओपेरा हाउसभित्र झन्डा, ब्यानर लैजान समय लिएर पहिले नै स्वीकृति लिनुपर्ने प्रावधान छ । तर नेपाली आयोजक पक्षले यसबारे ध्यान नपुऱ्याउँदा मन्त्रीकै बेइज्जत हुन पुगेको छ ।

तर, मन्त्री योगेश भट्टराईले भने आफ्नो फेसबुक पेजमार्फत् सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जानकारी गराएका छन् । यसबारे विभिन्न मिडियाबाट काल्पनिक, गलत र भ्रमपूर्ण समाचार सम्प्रेषित गरी मित्रराष्ट्रसँगको सम्बन्धमाथि नै खेलबाड गर्न खोजिएको आरोप उनले लगाएका छन् ।

हेर्नुहोस् मन्त्री भट्टराईको भनाई जस्ताको तस्तै–