पृथ्वीनारायणको कूटनीतिक कौशल

(इतिहास)



श्री ५ पृथ्वीनारायण शाहका आँखा चनाखा थिए । उमदा र रामदास उम्केर गएका त उनले पत्ता पाएनन्, तर बेतियामा यिनीहरू पुगेर गोल्डिङसँग साँठगाँठ गर्न लागेको कुरा आफ्ना गुप्तचरद्वारा पत्ता पाएर उनले नुवाकोटबाट रम्बोल्डलाई ‘कम्पनीका राज्यको र मेरा राज्यको सिमाना अब जोरिइसकेको छ, यदि मेरो सुरक्षाको–प्रबन्ध गरिदिन्छौ भने म तिमीसँग भेट गर्न पटना आउँछु’ भन्ने पत्र लेखे । तर, यस पत्रमा उनले जयप्रकाश मल्लको नाम पनि लिएका होओइनन् । केवल रम्बोल्डको आँट बुझ्न र अलमल्याउन यो पत्र लेखेका थिए । गोल्डिङको पत्र पटनामा पुग्नेबित्तिकै श्री ५ पृथ्वीनारायण शाहको यो पत्र पनि पुग्यो । रम्बोल्डले जयप्रकाश मल्लको पत्र, गोल्डिङको पत्र र श्री ५ पृथ्वीनारायण शाहको पत्रसमेत खामेर विषय समितिमा आफ्नो राय यो लेखी पठाए– ‘पहिले चालू रहेको नेपालसितको व्यापार यी आक्रामकहरू (गोर्खाली) ले गर्दा बिलकुल बन्द भएको छ । नेपालको नाकाबन्दी हटाउन मात्र होइन, यी गोर्खालीलाई घुँडा टेकाउनसमेत सामान्य शक्तिको प्रयोग पर्याप्त हुनेछ भन्ने मलाई निश्चय छ । सम्भवतः हामी जयप्रकाश मल्ललाई मद्दत गर्ने तरखरमा छौँ भन्ने कुराको सुइँको श्री ५ पृथ्वीनारायण शाहले पाइसकेजस्तो छ । हिजो मात्र उनको एक चिट्ठी आएको छ । त्यसमा मेरो सुरक्षाको प्रबन्ध भएमा म पटना आउन चाहन्छु भनेर उनले लेखेका छन् ।’

१८ अप्रिलमा गभर्नर वेरेलेस्टलाई लेखिएका रम्बोल्डका यस पत्रउपर विषय समितिले ३० अप्रिलका दिन विचार गर्दा जयप्रकाशलाई सैनिक सहायता दिने निर्णयमा समिति पुग्यो र सोही दिन रम्बोल्डलाई ‘पृथ्वीनारायणलाई नेपालको घेरा उठाउनू र हाम्रा मित्र राजा (जयप्रकाश) का उपर फेरि हमला नगर्नु, त्यसो गरेनौ भने कम्पनीको मर्यादाका रक्षाको निमित्त तिमीलाई हामी शत्रु घोषित गर्नेछौँ भन्ने व्यहोराको पत्र लेखे’ भन्ने आदेश पठायो । यसै दिन टिपराको लडाइँ जितेका कप्तान किनलकलाई पनि पटनातिर रवाना हुने आदेश विषय समितिले दियो । त्यसमा गोर्खालीलाई दिइएको धम्की काम नलागेमा उनीहरूका विरुद्ध अभियान गर्नुपर्नेछ र त्यसमा उनी जानुपर्ने हुनाले तयारीका निम्ति पटना तुरुन्त जानु भन्ने निर्देश थियो । यसप्रकार गोर्खालीका विरुद्ध सैनिक अभियान गर्ने कुरा निश्चितप्रायः भयो ।

विषय समितिले यो निर्णय लिनुमा मुख्य दुई कारण थिए । (१) बन्द भएको नेपालसितको व्यापारलाई फेरि चालू गराउन र (२) नेपालको बाटो चीन व्यापार सम्बन्धको स्थापना गर्न, किनभने चीनमा हुन थालेको कम्पनीको लगानीले गर्दा बङ्गालको कोषबाट सुन रित्तिँदै थियो । नेपालसित व्यापार फेरि चालू भएमा नेपालबाट आउने सुनले यो कमी पूरा हुनेछ भन्ने विषय समितिको विश्वास थियो ।

विषय समितिको निर्देशअनुसार कप्तान किनलक र रम्बोल्ड जयप्रकाश मल्लका वकिलहरूसँग सैनिक अभियानका निमित्त आवश्यक सूचनाहरूको सङ्ग्रह गर्न लागे । यसै समयमा रम्बोल्डले विषय समितिले अह्राएअनुसार श्री ५ पृथ्वीनारायण शाहलाई एक पत्र लेखे । तर, श्री ५ पृथ्वीनारायण शाहले यस पत्रको नकारात्मक उत्तर दिए । यता पटनामा पहिले किनलकले जयप्रकाश मल्लका वकिलहरूसँग भेटघाट गरे । यस क्रममा यी वकिलहरूले गोर्खाली फौजको सङ्ख्या जम्मा पचास हजार छ र यसमध्ये बीस हजार काठमाडौं उपत्यकाको नाकाबन्दीमा लागेका र बाँकी तीस हजार आफ्नाआफ्ना ठाउँमा खेतीपातीमा लागेका छन् भन्ने बताए । गोर्खालीका हतियार धनुषकाँड, तरबार, पत्थरकला र उनीहरूको रणकौशल आदिको र बाटाघाटा, रसदपानी आदिको विषयमा पनि सबै कुरा बताए । अभियान दल जाने बाटो, त्यसको दूरी र वास आदिका विषयको समेत एक योजना मुख्तार उमदाले किनलकछेउ पेस गरे । यसअनुसार अभियान दलले तय गर्नुपर्ने दूरी एघार वासका कोस थिए । वासको नाम र दूरी तल लेखिएअनुसार थियो ।

जयप्रकाश मल्लका वकिलहरूले किनलकलाई र रम्बोल्डलाई गोर्खाली सैनिकको सङ्ख्या जो बताएका थियो । दाप्चादेखि यतालाई जयप्रकाश मल्लले रसदपानीको बन्दोबस्त गरिदिने भनी जो बताएका थिए त्यो सम्भव कुरा थिएन । त्यहाँ गोर्खालीको पूरा दखल भइसकेको थियो । नाकाबन्दीभित्र रहेका काठमाडौं उपत्यकाबाट एक गेडा अन्न पनि बाहिर जान सक्तैनथ्यो ।

जयप्रकाश मल्लका वकिलहरूले दिएको बयान र आफ्नो अन्तिम निर्णयसमेत रम्बोल्डले विषय समितिलाई पठाएपछि यसउपर विचार गरी विषय समितिले रम्बोल्डलाई लेखेका पत्रमा लेखिएका कुरा यी थिए– ‘तिम्रो उत्साहमाथि हाम्रो पूरा भरोसा छ । तर, योजनाका विषयमा झुटा प्रतिवेदन र अत्युक्तिपूर्ण तालिकाबाट हुने अभियानको असफलताको सम्पूर्ण जिम्मेवारी तिमीमाथि रहनेछ । किनभने यस असफलताले हाम्रा हातहतियारको इज्जतमा र यस समितिको काममा समेत धब्बा लाग्नेछ । वकिल, फकिर र अरू स्रोतबाट समेत तिमीले जुन सूचनाहरू प्राप्त गरेका छौ, त्यसका आधारमा तिम्रो यस विषयमा जति ज्ञान छ त्यो यहाँ टाढा रहेका हामीहरूको छैन । त्यसैले अभियान सफल हुने तिमीलाई पूर्ण भरोसा भएमा मात्र सो काम गर, नत्र नगर । किनलकले गर्नुपर्ने कुराका विषयमा अभियान शुरु गरेपछि किनलक नपुग्दै पृथ्वीनारायणले काठमाडौंमा अधिकार गरिसकेका भए अगाडि नबढ्न र बरु आफ्ना फौजलाई बेतियामा फर्काउनू, अनि मौसम र देशको प्रकृतिविपरीत भए र शत्रुको शक्ति आफ्नोभन्दा बढी देखिएमा अगाडि नबढ्न्ू । यो अभियान सफल भएमा कतै कुनै लुटपिट जोर जबर्जस्त नगरुन्, जे गर्नाले मल्ल राजाको सहानुभूति प्राप्त गर्न सकिन्छ सो काममा लागून् ।’ परन्तु अभियानका सफलताबाट प्राप्त हुने कम्पनीका लाभको लोभलाई रम्बोल्डले खुम्च्याउन सकेनन् । काठमाडौं उपत्यकामा र बेतियामा रहेका केपुचिन पादरीहरूले झट्टै अभियान चालू नगरेमा जयप्रकाश मल्लको पतन अनिवार्य छ भनेर लेखेका हुनाले रम्बोल्डले दलबलसहित किनलकलाई हिँडाइहाले ।

(‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट)

प्रतिक्रिया