भीसा-पासपोर्टसम्बन्धी कामको लागि दूतावासले ‘घुम्ती सेवा’ प्रदान गर्ने

भीसा-पासपोर्टसम्बन्धी कामको लागि दूतावासले ‘घुम्ती सेवा’ प्रदान गर्ने


■ प्रकाश केसी, लण्डन

भिजिट वर्ष २०२० बारे गत वर्षदेखि नै सर्वत्र चर्चा तथा सोसम्बन्धी विविध क्रियाकलाप नेपाललगायत संसारका विभिन्न देशमा त्यहाँ रहेका नेपाली दूतावासहरू, नियोगहरू तथा त्यहाँ बसोबास गर्ने नेपालीहरूद्वारा गरिएका समाचार प्रचारप्रसार भएका छन् । यसै क्रममा १ जनवरीका दिन नेपाल सरकारद्वारा काठमाडौंको रंगशालामा गरिएको भिजिट वर्ष २०२० को औपचारिक उद्घाटनपछि अन्य मुलुकमा रहेका दूतावासमा सोही किसिमले उद्घाटन समारोह आयोजना गर्ने क्रम शुरु भएका छन् ।

शनिबार (१९ पुस) लण्डनस्थित नेपाली दूतावासमा पनि एक औपचारिक कार्यक्रमका साथ गत वर्ष ६५ हजार पर्यटकहरूको नेपाल भ्रमण भएकोमा यो वर्ष नेपालमा एक लाख भन्दा बढी पर्यटक पठाउने लक्ष्य राखिएको अवगत गराइयो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा सुवेदीले कार्यक्रममा मन्तव्य राख्दै बेलायतमा बसोबास गर्ने नेपालीहरूलाई यो वर्ष आफ्नो परिवारसहित नेपाल भ्रमण गर्न तथा आफ्ना स्थानीय मूलका छिमेकीहरूलाई पनि नेपाल भ्रमण गर्नका लागि अभिप्रेरित गर्नका लागि आग्रह गर्नुभयो । त्यसका लागि नेपाली दूतावासले बेलायतको चारैवटा राज्यमा पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रमलगायत भीसा तथा पासपोर्टसम्बन्धी कार्यको घुम्ती सेवा प्रदान गर्ने दूतावासको योजना रहेको जानकारी राजदूत सुवेदीले गराउनुभयो । दूतावासबाट भीसा लिनका लागि ‘एकैदिन एकैछिन’को व्यवस्था गरिने प्रतिबद्धता उहाँको थियो ।

गत वर्षको अन्त्य अर्थात् गत डिसेम्बर महिनाको अन्तिम हप्ता बीबीसीको टप गियर कार्यक्रमको क्रिसमस एपिसोड नेपाल स्पेशल प्रोग्राम प्रसारण भएको थियो । बीबीसीको टप गियर नामको कार्यक्रम संसारको २१४ वटा देशमा ३५० मिलियन मानिसहरूले हेर्ने गर्दछन् । त्यसैले भिजिट नेपाल २०२०को लगभग शुरुमै नेपालसम्बन्धी बीबीसीको सो कार्यक्रम प्रसारित भएपछि नेपालले निकै ठूलो एस्पोजर पाएको पक्कै छ, तर काठमाडौदेखि पोखरा हुँदै जोमसोम अनि मुक्तिनाथ त्यसपछि लोमाङ्थान पुग्ने सो टोलीले भोगेको अनि कार्यक्रमद्वारा देखिएको नेपालको विकासको आधारभूत अवस्थाले एकातिर नेपालको आकर्षण खस्काएको लाग्दछ भने अर्कोतिर नेपालको सौन्दर्यताको ठूलो प्रदर्शनी भएको पनि देखिन्छ । नेपाल सरकारले भिजिट वर्षको लागि पर्यटकहरूले प्रत्यक्ष रुपमा शुरुमै सरोकार राख्ने पक्षहरूमा विशेष ध्यान दिनु जरुरी छ ।