पचास करोड पशुपक्षी मरे, प्रधानमन्त्रीसँग हात मिलाएनन् नागरिकले

पचास करोड पशुपक्षी मरे, प्रधानमन्त्रीसँग हात मिलाएनन् नागरिकले


■ राजन घिमिरे, सिड्नी

यतिबेला पूरा अष्ट्रेलिया शोकमा छ । तीन महिनादेखि निरन्तर रूपमा लागिरहेको डढेलो कम हुने छाँटकाँट अझै देखिएको छैन । यसका कारण सयौँ नागरिक घरबारविहीन भइरहेका छन् भने अष्ट्रेलियन सरकारको आँकडाअनुसार पचास करोड पशुपक्षी डढेलोमा परेर मरेका छन् । यो भयानक बिनास र विपत्ति अष्ट्रेलियाको इतिहासमै पहिलोपटक भएको बताइएको छ ।

डढेलोमा क्वाला र कंगारूलगायत अष्ट्रेलियाको पहिचान बनेका पशुपक्षीहरू डढेर मरेका छन् । यतिबेला अष्ट्रेलियाको लागि विश्वभरबाट सहानुभूति र सहयोगका निमित्त आवाज उठिरहेको छ ।

सरकारले न्यु साउथवेल्स राज्यको एक सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको जानकारी दिएको छ भने डढेलोका कारण जंगलमा रहेका पशुपक्षी मात्र नभएर घरहरू पनि जलेका छन्। डढेलोले अस्ट्रेलियाको करिव ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको बताइएको छ ।

डढेडो लागेको क्षेत्रमा निरीक्षण गर्न गएका यहाँका प्रधानमन्त्रीसँग जनता रुष्ट भएको समाचार अष्ट्रेलियन च्यानल सेभेन न्यूजले प्रसारण गरेपछि त्यो दृश्य भाइरल नै भएको थियो । ‘हामी यहाँ मर्ने तर तपाईं होलिडेमा जाने ?’ जस्ता गुनासो गरिएका र प्रधानमन्त्रीसँग जनताले रिसाएर हात मिलाउन नमानेको दृश्यले निकै चर्चा पाएको छ ।

यस विभत्स डढेलोमा परेर २३ जना अस्ट्रेलियन जनताले ज्यान गुमाइसकेका छन् ।