असन्तुष्ट ‘काङ्ग्रेसजन’को महाधिवेशन तयारी !

असन्तुष्ट ‘काङ्ग्रेसजन’को महाधिवेशन तयारी !


■ ज्ञानमणि भुर्तेल

अति गऱ्यो क्षेत्रीले ! अब यसलाई नहराई हुन्न !’– कान्छो महामानवले दारा किट्नु’भो !!

हो ! अब सहन्न सकिन्न ! यसलाई नहराई काङ्ग्रेसको उत्थान सम्भव छैन !’– रुन्चे ब्राह्मणले सही थाप्नु’भो !!

उसलाई हराउन हामी नमिली सम्भव छैन, त्यसैले हामी मिल्नुपर्छ !’– बाहुवली तेस्रो शक्तिले उपाय सुझाउनु’भो !!

साँच्चै ! यो त हिटलरकै बाउ हुन लाग्यो ! यसपालि यसलाई हराउनैपर्छ !’– सानो लौहपुरुष पनि तात्नु’भो !!

मिल्न त मिल्ने ! तर हराउने चैँ कसरी ?’– रुन्चे ब्राह्मणले जिज्ञासा राख्नु’भो !

पेल्ने नि ! त्यसलाई पेलेरै हराउनु पर्छ !’– तेस्रो शक्तिले उपाय उपाय पस्किनु’भो !

हैन ! पेलेर हैन !! बरु पिएर हराउन सकिन्छ !!! पिएरै हराइदिने हो !’– कान्छो महामानवले अर्को उपाय अविष्कार गर्नु’भो !

हावा गफ ! पिएर पनि कसैलाई हराउन सकिन्छ ? बरु रुनुपर्छ !! रोएरै सोत्तर पार्ने त्यसलाई !!’– रुन्चे ब्राह्मणको तर्क !!

के हावादारी गफ गरेको होला ? पेलेर, रोएर, पिएर पनि कतै हुन्छ ? लौरोले हानेर भुक्लुक्क पार्ने नि !! ‘मसँग मेरो बा’को लौरो छ !! त्यसले जस्तोसुकै बिरोधिलाई पनि लडाउँछ !! हरिबोलको कथा याद गरौँ त पञ्चायतकालको !!’ गर्वोक्तिसहित साना लौहपुरुषले थपे– ‘यसरी विवाद गरेर हुन्न ! कसरी लडाउने र को सभापति हुने भन्ने टुङ्गो गरौँ अब !

सानो लौहपुरुषको तर्कमा सबैले सहमति जनाए ।

पेलेरै लडाउने र म सभापति हुने नि… कुरै खत्तम !!’– तेस्रो शक्तिले आफैंले आफैंलाई प्रस्ताव गर्नु’भो ! उहाँले आफ्नै काकालाई पेलेरै थापा निवासमा डेरा सार्देको र अर्को फुच्चेलाई जिल्ला सभापतिदेखि संसदीय चुनावसम्म पेल्दै बुढानिलकण्ठको पुजारी बनाइदिएको योग्यता बर्णन गर्नु’भो !

यसरी पेलेर हुन्न बरु रोएर लडाउन सकिन्छ ! मसँग रुने अनुभव प्रशस्त छ !! उसलाई लडाउन म सक्षम छु !!’ रुन्छे ब्राह्मणले आफू सभापति हुने योग्यतासहितको आसय प्रकट गर्नु’भो ।

नाप्यौ बाहुन !! सत्र–सत्र पल्ट रुँदा पनि आफैं लड्यौ !! अब म सभापति हुने ! मसँग शक्तिशाली बा’को ऐतिहासिक लौरो छ लडाउनका लागि ! त्यसैको बलमा म उसलाई लडाउन सक्छु !! द्याट्स अल !

त्यसबेला त हामी मिलेका थिएनौँ नि त अहिले मिलेपछि ..

लु..भो ! तपाईंहरू चुप लाग्नुस् ! त्यसलाई ठिक लाउने उपाय मसँग छ !! मस्त पिउने अनि लडाउने !’– रुन्चे ब्राह्मणको कुरो बीचमै काट्दै कान्छो महामानवले थप्नु’भो, ‘मसँग काङ्ग्रेसको खान्दानी नातासमेत जोडिएको छ !! अबको सभापति म !!

अब यसरी लामो विवाद गरेर हुन्न ! निष्कर्षमा पुगौँ !!!’– तेस्रो शक्तिले बैठक छोट्याउने आसय प्रकट गर्नु’भो !!!

यति लामो इतिहास बोकेको काङ्ग्रेसको विवाद पनि लामै हुन्छ नि !! तपाईं पछि आएकोलाई के थाहा काङ्ग्रेस ?’– रुन्चे ब्राह्मणले हल्का लाठीचार्ज गर्नु भो !

लौ ! अब समापनतिर लागौँ ! एइ केटा ! के छ ब्यवस्था ?’– कान्छो महामानवले आवाज लाउनु’भो । केटोले बोतल, चारवटा ग्लास, सलाद र पानीको बोतल पेस गऱ्यो ।

मलाई थाहा’थ्यो ! बाहुनले सागमै टार्छन् भन्ने कुरो !! आफू त आफ्नो ब्यबस्था आफैं गर्ने हो !’ हल्का ओठ लेप्राउँदै ओभरकोटको खल्तीबाट बफ छोइला निकाल्नु’भो सानो लौहपुरुषले !

आफू त बफ–सफ चल्दैन, बाहुन परियो… तर खुर्सानीचैँ नभैहुन्न ! पहिले–पहिले मलाई खुर्सानी माइला भन्थे !’– कोटको खल्तीबाट खुर्सानी निकाल्दै सोफाबाट झरेर पँलेटी कस्नु’भो रुन्छे ब्राह्मणले !

आफू त जयगुरु परियो ! लसुन प्याज समेत चल्दैन !!’ तेस्रो शक्ति तल झर्नुभएन ! सोफामै बस्नु’भो !

बाँकी तीनैजना मुखामुख गरेर हाँस्नु’भो !

चियर्स !!!! पार्टी एकता कायम रहोस् !!!

तीनवटा ग्लास एक–अर्कामा ठोक्किए !

माहोल तात्दै गयो ! सोफामा बसेका तेस्रो शक्तिले विगत सम्झेर थुक निल्नु’भो !! हंश (आँत)ले माग्ने र आडम्बरले रोक्ने द्वन्द्व चल्यो !!

उहाँको बेचैनी बुझेर कान्छो महामानव बोल्नु’भो– ‘जयगुरु !! हुने सुरु ? आउनुस् !!!

बुढेसकालमा पोइल हिँडेकी छोरीलाई बाउले ‘ज्वाईं लिएर आइज ! टीका लाइदिन्छु’ भनेझैँ भैगो उहाँलाई !! सोफा छोडेर हाम्फाल्दै पँलेटी कस्नु’भो !!! मलाई पनि बफ चल्दैन ! यो त फलफूलको रस त हो नि है ? एउटा खुर्सानी पाउँ न !!!

बोतल धेरै रित्तियो !! रात पनि छिप्पियो !!!

लौ… अब सुतौँ !! महाधिवेशन तयारीका लागि आराम जरुरी छ !!

सबैको मत मिल्यो !! एकले अर्कोलाई ‘गुड नाइट’ गर्नु’भो र आ–आफ्नो हिसाबले लड्नु’भो !!!

काङ्ग्रेस कार्यकर्ताहरू ! कृपया डिस्टर्व नगर्नुहोला !! उहाँहरू महाधिवेशन तयारीका लागि सुकलामा हुनुहुन्छ !!