जनताको आशा र नेपाल प्रहरीभित्रको अराजकता

जनताको आशा र नेपाल प्रहरीभित्रको अराजकता


■ सागर सुवेदी

त्यो बेला म त्यस्तै सात–आठ वर्षको थिएँ होला । कुनै कारणवश हाम्रो गाउँमा दुई प्रहरी (एक असईका साथ प्रहरी जवान) घोडा चढेर आए । (प्रहरी आउनुको कारणबारे यहाँ उल्लेख नगरौँ।) तर जुन कारणले प्रहरी आएका थिए, अहिलेको हिसाबले भन्नुपर्दा दुई होइन २० जवान भन्दा ज्यादा प्रहरीको आवश्यकता पर्ने थियो । गाउँमा प्रहरी आएपछि गाउँका सबैजसो मान्छे उपस्थित भए र प्रहरीले जे–जे भने सोहीअनुरुप गरेर प्रहरीलाई आफ्नो कर्तव्य निर्वाह गर्न दिए । अर्थात्, प्रहरीप्रति विश्वास गरेर उनीहरूलाई सहयोग गरेर पठाए । मचाहिँ उक्त क्रियाकलाप एक छेउमा बसेर नियालिरहेको थिएँ । साथै, भविष्यमा केही बन्ने हो भने प्रहरी नै बन्छु भन्ने कल्पना गरेँ मैले त्यतिबेला । यस्तै–यस्तै परिवेशमा हुर्कंदै गएँ म । मेरो बाल मस्तिष्कले भन्थ्यो– प्रहरी जति सम्मानित पेसा दुनियाँमा बिरलै केही होला ।

समय बित्दै गयो, समयसँगै गाउँ छोडेर सदरमुकाममा बसोबास गर्न थाल्यो हाम्रो परिवार । यतिबेला एआइजीबाट सेवानिवृत्त भइसकेका जयबहादुर चन्द त्यसबखत डीएसपीको रूपमा सरुवा भएर हाम्रो जिल्लामा आएका थिए । त्यो बेला एक प्रहरी अधिकारीको रूपमा उनको चातुर्यता तथा जनतासँग गरिएको कुटनीतिक ब्यवहारले झन् प्रभावित गऱ्यो कि अब त म जसरी भए पनि प्रहरी नै हुन्छ, त्यसमा मा पनि काँधमा फुली भएको प्रहरी अफिसर नै बन्छु भन्ने दृढ चाहना भयो ।

समयले लामो कोल्टे फेर्दै गयो र आज म नितान्त फरक पेसामा छु । तर पनि प्रहरी संगठनप्रति मेरो चासो, आत्मियता र राम्रो कर्म–कर्तव्य गरिदियोस् भन्ने सदिच्छा आज पनि उत्तिकै छ । हाम्रो देशको प्रहरीले आफ्नो गरिमा नगुमाओस् भन्ने अपेक्षा हरदम राख्दै आएँ मैले ।

तर सधैं सोचेजस्तो र देखेजस्तो कहाँ हुन्छ र !? टाढा नै बसेर सहि स संगठनभित्रका विकृतिहरूलाई नियाल्दा बडो निरासा लाग्ने गर्दछ । एकातिर प्रहरीभित्र संगठनका काविल सदस्यहरूको अवमूल्यन, संगठनभित्रको गुट, अर्कोतिर संगठनका सदस्यहरूको राजनीतिक नेताहरूको चम्चागिरी, आज नागरिकहरूको भरोसाको केन्द्रमा रहेको प्रहरी चेन अफ कमाण्डबाट प्रस्ट रूपमा बाहिर गइरहेको छ । देश तथा संगठनले आजसम्म ध्यान नदिएको विषय भनेको संगठनका सदस्यहरूको गिर्दो मनोबललाई उकास्न तत्परता नदेखाउनु, उपयुक्त संगठनको सदस्यलाई उपयुक्त कमाण्ड, साथै गलत गर्नेलाई सजाय र राम्रो गर्नेलाई पुरस्कृत गर्ने परिपाटी बिथोलिनु ।

प्रहरी संगठनभित्र यतिबेला उल्टो भैरहेको देखिन्छ, चेन अफ कमाण्डमा नरहनेहरू, गलत क्रियाकलापमा सम्मिलित हुनेहरू, चम्चागारी गर्नेहरू पुरस्कृत हुने अनि देश र पीडित जनताको पक्षमा काम गर्ने अधिकृतहरूलाई दण्ड ! यस्तै रहिरहे नागरिक भरोसाको प्रथम केन्द्र अर्थात् साथै प्रथम न्याय अनुभव गर्न पाउने संगठनको अवस्था भोलि के होला ? अनुमान मात्र गर्दा पनि कहाली लाग्न थालेको छ । हिजोका दिनमा संगठनका केवल दुई जवान उपस्थित हुँदा सम्मान गर्ने, डराउने नागरिकहरू आज समग्र प्रहरी संगठनलाई के–कसरी बुझ्दैछ ? यो बुझ्नेमध्ये म त करोडौँ नेपाली नागरिकहरूमा एक पात्र मात्र हुँ ।

आज समय बदलिइसक्यो, त्यो संगठन आज त्यो रहेन । हिजो हुने विकृतिहरू नागरिक तहसम्म आउँदैन थिए, हुन्थे भने पनि गलत गर्नेले सजाय पाएको हुन्थे, संगठन प्रमुख सबैका अभिभावक हुन्थे भनेर पूर्वप्रहरीहरूले सुनाएका गाथा आज्ञा कथा जस्तो बनेका छ । आज प्रहरीभित्र यतिसम्म हुन्छ भन्ने विषयहरू धेरै ठाउँमा अनेक मध्यमबाट छताछुल्ल भइरहेका छन् तर पनि मैले स्वयं प्रस्ट रुपमा बुझेको रोचक प्रसङ्ग यहाँ उल्लेख गर्न चाहेँ । यो एक प्रसङ्ग मात्र हो यस्ता प्रसङ्गहरू हरेक जिल्लामा घटिरहेका छन्, राम्रो काम गर्ने अधिकृतहरू घुस नखाएको कारण साथै हाकिम अनि नेताका टेबलमा पैसा बुझाउन नसकेकै कारण कमाण्ड पाउन नसकेका कयौँ उदहारण छरप्रस्टै छन् ।

संगठनप्रमुख खनालबाट अन्याय भएको प्रसङ्गलाई सात महिनाअगाडि फर्केर हेरौँ पर्वत जिल्लाको एक सन्दर्भतर्फ । वर्तमान प्रहरी प्रमुखको ठाउँमा त्यो बेला भुवनेश्वर तिवारी नामका संगठनभित्रका सिनियर डिएसपीले कमाण्ड गर्दथे । उनी कमाण्ड तथा सिनियारिटीका हिसाबले एसपी हुने लाइनका अधिकृत थिए । उनको कार्यकालमा तिवारीले जिल्लामा प्रकृति दोहनविरुद्ध कठोर कदम चलाए । सर्वसाधारण नागरिकबीच हाई–हाई हुने काम गरे । उनको उक्त कदमविरुद्ध त्यहाँका ‘मै हुँ’ भन्ने ठेकेदार, माफियाहरूले उनलार्ई घुसको अफर गरे । माफियाको सर्त थियो– हामीलार्ई प्रकृति दोहन गर्न देउ हामी तिमीलार्ई मालामाल गरिदिन्छौँ । डिएसपी भुवनेश्वर तिवारीले उक्त प्रस्तावको सिधै इन्कार गरे साथै उक्त बार्गेनिङ गर्न आउने व्यक्तिलाई चेतावनी दिँदै भने– आजसम्म केही खाइनँ, त्यसैमा पनि सिनियर डिएसपी हुँ, एसपी बढुवा अर्को महिना हुँदैछ, म गलत गर्न सक्दिनँ र प्रकृति दोहन गर्न पनि दिन्न ।

भुवनेश्वरले यति भनेपछि प्रकृति दोहन गर्ने व्यक्तिहरूको समूह वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालको श्रीमतीमार्फत केही लाखको लेनदेन गरेर उनलार्ई राम्रो काम गर्दागर्दै साथै आफ्नो कर्तव्यमा अविचलित हुँदै गर्दा ६ महिनामै हटाइए । ती डीएसपी आज न एसपी हुन पाए न प्रहरी संगठनले उनलार्ई कमाण्डबाट हटाउनुको चित्तबुझ्दो कारण दिएको छ । उनलार्ई हटाएको कारण प्रकृति दोहनविरुद्ध कडा कदम चालेकोले हो भन्ने कुरा त्यहाँ हरेक नागरिकहरू अवगत रहेछन् । आज पर्वत जिल्लामा एक जुनियर डीएसपीले कमाण्ड गर्दै आएका छन् जो नेपाल प्रहरीभित्रका वरिष्ठ अधिकृतहरूको चम्चागिरी गर्दै अथवा बार्गेनिङ गर्दै एक वेबसायटमार्फत चाकरी र पहेँलो पत्रकारिता गर्दै आएका व्यक्तिहरूको सिफारिसमा जिल्लाको कमाण्ड पाएका रहेछन् । (प्रसङ्ग आबश्यक भएमा सम्पूर्ण विवरण लेख्न सकिने) । यहाँ अचम्म किन लाग्छ भने नेपाल प्रहरीभित्र सयौँ सिनियर तथा खुबी भएका अधिकृत हुँदाहुँदै किन एक भर्खर इन्सपेक्टरबाट बढुवा भएर आएकोलाई जिल्ला प्रमुख दिइयो ? के प्रहरीभित्र खुबी भएका अरु अधिकृत थिएनन् या खुबी भएकाहरूसँग सर्वेन्द्र खनाललाई बुझाउने पैसा भएन ?

यसो भन्दै गर्दा प्रत्येक इन्सपेक्टरबाट बढुवा भएकाहरू जिल्ला कमाण्ड गर्न सक्दैनन् भन्नेचाहिँ होइन । खै त समानता खै त खुबी भएकालाई खुबी देखाउन दिएको ? प्रश्न यो मात्र हो । सामाजिक संजालले हिरो बनाएका साथै सामाजिक संजाललाई हेरेर बाहवाही बटुलेका प्रहरी प्रमुख सर्वेन्द्र खनालको हाल यस्तो छ, न उनी आफ्ना संगठनका सदस्यको पक्षमा अडान राख्न सक्छन् न संगठन सदस्यको मनोबल बढाउन नै । एक पूर्वप्रहरी अधिकारी भन्छन्– प्रहरी संगठनमा दुई धार छ जो पहिलादेखि चल्दै आइरहेको छ । साथै उक्त धारकै अवधारणाअनुरुप राम्रा काम गर्नेहरू भन्दा बद्नामहरू सधैं बढुवा तथा राम्रा ठाउँमा सरुवामा पर्दै आइरहेका छन् । जो राम्रो काम गर्ने क्षमता राक्छ तर चाकरी–गुलामी गर्न जान्दैन । ती छानी–छानी पाखा लागाइन्छन्, कहीँ–कहीँ लोकलाज बचाउन केही उत्कृष्ट काम गर्नेहरूलाई जिल्ला प्रमुख दिए पनि समय हुनुअगावै हटाइन्छन् । अचम्म मान्नुपर्ने यो छ कि सामाजिक सञ्जाल तथा अनलाइन पत्रिकाहरूको बाढी आएको यो समयमा कुनै पत्रिकाले लेख्यो फलानो ‘सिंघम् डीएसपी’ हामीले सिंघम मानिहाल्छौँ, हामी त्यो समाचार कति पैसा दिएर लेख्न लगाइएको थियो बुझ्नतर्फ लाग्दैलाग्दैनौँ ।

माथिको प्रसङ्ग एक यथार्थ उदाहरण मात्रै हो । वर्तमान अवस्थामा न प्रहरी संगठनमा राम्रो काम गर्ने अधिकृतहरूले पालो पाउने अवस्था छ न क्रियाशील उमेर छँदै ३०वर्षे सेवा अवधिको कारण सीप र अनुभवले तिखारिएका सिनियर अधिकृतहरूलाई अवकासपछि उनीहरूबाट राज्यले लिन सक्ने फाइदाहरूको विषयमा बहस भएको देखिन्छ । एकातर्फ जो प्रहरी प्रहरी संगठन प्रमुख भए पनि आफ्नो गुट संरक्षणका लागि आफ्नो कार्यकाल बिताउँछन्, साथै कसरी कसलार्ई कमाउ अड्डामा पठाएर असुली गर्ने भन्ने ध्यान हुन्छ भने अर्कोतिर नेपाली राजनीतिक पार्टी तथा नेताहरूले प्रहरी संगठनलाई नै घरमा पालेको कुकुरभन्दा माथिको दर्जा दिन नखोजेको प्रस्ट देखिन्छ ।

संगठनभित्रको चेन कमाण्डको कुरा गर्ने हो भने संगठन यतिसम्म लाचार छ कि राजनीतिक नेतासँग चम्चागिरी गर्ने हरू न कुनै एन मान्छन् न चेन अफ कमाण्ड, चाहे रवि प्रकरण होस् चाहे ज्ञानेन्द्र शाही प्रकरण होस्, प्रचण्डको व्यक्तिगत सुरक्षा गार्ड भएकै कारण चितवन जस्तो संवेदनशील जिल्लाको प्रमुख पड्काएका एसपी दानबहादुर मल्लले सम्पूर्ण संगठनलाई नै धोती लगाइदिएका छन् । यो लेख लेख्दै गर्दा उनलार्ई प्रदेश प्रहरीको कमाण्डले १२ घण्टाभित्र चार्ज बुझाएर जिल्ला छोड्न दिएको आदेश पनि बालुवा को पानीझैँ बनाइदिएका छन् भने कोहलपुरमा खसी काण्डमा परेका डीएसपीलाई फितलो कमाण्डको कारण संगठनिक कारबाही गर्नुको साटो पुरस्कृत गर्दै अर्को इलाका प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ जबकि संगठनभित्र सबैले अवसर पाउन सकुन् भनेर एक कार्यकाल संगठनको कुनै तह नेतृत्व गरेको अधिकृतलाई अर्को कार्यकालमा कुनै पनि कार्यालयमा प्रमुखको रुपमा नपठाउने नियम छ । यहाँ उक्त विषयलाई वर्तमान सत्ताधारी पार्टीको छहारीमा आफुलार्ई कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमै सरुवा गराउन सफल भएका छन् भने अर्कोतर्फ काठमाडौंमा साग खेलमा पत्रकारले तस्बिर खिचेकै कारण लाठी तथा बुट वर्साएका डिएस्पी रूघम कुँवरउपर पनि कुनै सांगठनिक कारवाही नभएको बुझिएको छ । स्मरणरहोस्, रुघम कुँवर तिनै व्यक्ति हुन् जो नवराज सिलवाल प्रकरणमा नबराज सिलवाललाई मेडियामा हिरो बनाउन विभिन्न छद्मभेषी पत्रकारहरूसँग मिलेर नानाभाँती लेख्न लगाएको कारण इनिस्पेक्टरबाट बढुवा भएलगत्तै काठमाडौंमै वृत्तिको कमाण्ड गर्दै आएका विवादित व्यक्ति हुन् ।

विश्वको जुनै कुनामा गए पनि नागरिकको प्रथम न्याय अनि भरोसाको केन्द्र भनेको प्रहरी नै हो । हिजोको त्यो प्रहरी र आज सर्वेन्द्र खनालको नेतृत्वको अन्तिम अवस्थामा आउँदै गर्दाको प्रहरीमा धेरै फरक आइरहेको छ । आज जनताको नजरमा हिजोको त्यो प्रहरीप्रतिको जो सम्मान थियो त्यो सम्मान ल्याउन अब संगठनको नेतृत्व लिन आउने अधिकृतले विचार पऱ्याउन र नागरिकको नजरमा प्रहरी संगठन एक इज्जतदार संगठन बनाउन् भन्ने कामना गर्न बाहेक अरु के गर्न सकिएला र ?