‘एसियन गेममा पदक जित्ने लक्ष्यसहित अब पौडीले गति लिन्छ’

■ अशोक बज्राचार्य, अध्यक्ष नेपाल पौडी सङ्घ

जब राष्ट्रिय धुनसँगै राष्ट्रिय झँडा आकासियो मनले निकै आनन्दको महसूस गऱ्यो, खुसीले सीमा नाघ्यो, आँखाबाट आँसु झरेको पत्तै पाएनन्, उनी निकै खुसी थिए, किनकि उनले चार दशकसम्म गरेको मिहिनेत र देखेको सपना पूरा भएको थियो । व्यक्तिगत रूपमा गौरिकाले जितेको पहिलो स्वर्णले विगतको यादलाई ताजा गर्दा उनी भक्कानिएका पनि थिए । यो ऐतिहासिक क्षणको उनी प्रतीक्षामा थिए, तर भाग्यले साथ दिएको थिएन । तर १३औँ साग उनको लागि खुसी नै खुसी ल्याएर आयो । पहिलोपटक पौडीले ऐतिहासिक स्वर्ण पदक जित्दै कीर्तिमानसमेत कायम गऱ्यो । राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रमा पुऱ्याउन सफल भयो । यसपछि चुनौती नै चुनौतीको पहाडमा उभिन पुगेका नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यसँग पौडीको विगत, वर्तमान र आगामी रणनीतिबारे घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानी :



० नेपाल पौडी सङ्घको स्थापनादेखि नै पौडी खेलको विकास र विस्तारमा निरन्तर सक्रिय हुनुहुन्छ, यतिबेला कस्तो महसूस गरिरहनुभएको छ ?
– नेपालमा पौडी सङ्घको स्थापना ०३७ सालमा भएको हो । म त्यतिबेला सहसचिवको रूपमा सङ्घमा आबद्ध थिएँ । म पौडी खेलको विकास र विस्तारका लागि निरन्तर रूपमा होमिएको चार दशक पुग्दै छ । यो अवधिमा जुन चुनौतीसँग लडियो त्यो आफैँमा स्मरणयोग्य छन् । सीमित साधन, स्रोत र अपर्याप्त भौतिक पूर्वाधारका बाबजुुद पनि पौडी खेललाई निरन्तरता दिन र केही प्रतियोगिताको आयोजना गर्न सफल भयौँ, मैले यसलाई ठूलो उपलब्धि मानेको छु । समयसँगै अहिले पौडी खेलले पनि ठूलो फड्को मारेको छ, त्यसमा म सन्तुष्ट छु ।

० पौडी सङ्घको गठन हुँदा नेपालमा पौडी खेलको अवस्था कस्तो थियो, पौडी खेल्ने वातावरण बनाउन कत्तिको मिहिनेत गर्नुपऱ्यो ?
– त्यतिबेला दशरथ रंगशाला परिसरमा पौडीपोखरीको निर्माण भइसकेको थियो । उक्त आठ लेनको पौडीपोखरी ०३४ सालमा निर्माण भएको थियो । त्यस्तै, बालाजुमा पनि पौडीपोखरी थियो । पौडी खेलको विकासका लागि राजधानीमा दुईवटा पौडीपोखरी भए पनि प्रशिक्षणको अभाव थियो । पौडी खेलाडी बन्नेभन्दा मनोरञ्जनको रूपमा खेल्नेको सङ्ख्या निकै बढी थियो । यस्तो अवस्थामा खेलाडी उत्पादन गर्न निकै गाह्रो थियो । पछि सङ्घले प्रशिक्षण दिएर खेलाडी उत्पादन गर्न थालेपछि अन्यको चासो बढे पनि त्यो पर्याप्त थिएन् । अझ पुरुष खेलाडीको तुलनामा महिला खेलाडीको उपस्थिति ज्यादै न्यून थियो ।

० ०३८ सालमा काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडी खेल पनि समावेश थियो, एक वर्षको अन्तरालमा कसरी १४ अञ्चलमा खेलाडी उत्पादन भए त ?
– निकै उत्कृष्ट प्रश्न, यथार्थमा भन्नुपर्दा पौडी खेलको शुभारम्भ प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताबाटै भएको हो । प्रथम राष्ट्रिय प्रतियोगिता भने पनि पौडीको प्रथम राष्ट्रिय प्रतियोगिता भने पनि यही नै थियो । जसमा १४ अञ्चलका नभई सीमित अञ्चलका खेलाडीले मात्रै सहभागिता जनाएका थिए । यो राष्ट्रिय प्रतियोगितामा सीमित अञ्चलका खेलाडीले सहभागिता जनाए पनि पौडी खेलको विकास र विस्तारमा यो प्रतियोगिता कोसेढुङ्गा साबित भयो । यसपछि पौडी खेलतर्फ रुचि राख्नेहरूको सङ्ख्या ह्वात्तै बढ्यो ।

० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले कहिलेदेखि सहभागिता जनायो, त्यतिबेला नेपाली खेलाडीको स्तर कस्तो थियो ?
– अन्तर्राष्ट्रिय प्रतियोगिताको चर्चा गर्दा सन् १९८२ मा भारतको राजधानी दिल्लीमा आयोजना भएको नवौँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलोपटक पौडी खेलमा सहभागिता जनाएको हो । त्यतिबेला नेपाल पौडीमा भर्खर वामे सर्दै थियो, त्यस्तो अवस्थामा पनि नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गरे । त्यतिबेला हाम्रो सहभागिता र अनुभव बटुल्ने कुरा नै ठूलो थियो । एसियाली खेलकुदमा पदक जित्ने कल्पनाबाहिरको कुरा थियो, जुन यद्यपि छ । त्यसपछि सन् १९८४ मा नेपालमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा नेपालले सहभागिता जनाएको थियो । दक्षिण एसियाली मुलुकका सात राष्ट्र सहभागिता जनाएको उक्त प्रतियोगितामा पुरुष रिलेमा पौडी खेलाडीले कांस्य पदक जितेका थिए । यो नै पौडी खेलाडीले अन्तर्राष्ट्रियस्तरमा जितेको पहिलोपदक हो । त्यसपछि सन १९९६ मा सम्पन्न एट्लान्टा ओलम्पिकमा नेपालले पहिलोपटक सहभागिता जनाउने अवसर पाएको थियो ।

० सन् १९९९ मा नेपालमा सम्पन्न आठौँ साफमा पौडीले पहिलोपटक स्वर्ण पदक जितेको थियो, त्यसपछि भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औँ सागमा मात्र पदक जित्न सफल भयो, यति लामो समयसम्म पौडीले पदक नजित्नुको कारण के थियो ?
– पदक नजित्नुको कारण प्रस्ट छ– त्यसबेला हामी सीमित स्रोत–साधनको अभावमा गुज्रिरहेका थियौँ । चाहेर पनि खेलाडीलाई बाह्रै महिना प्रशिक्षण गराउन असमर्थ थियौँ । गर्मीयाममा ६ महिना प्रशिक्षण गरेपछि जाडोको ६ महिना त्यसै बस्नुपर्ने खेलाडीको बाध्यता थियो । जसले ६ महिनासम्म गरेको प्रशिक्षण त्यसै खेर जान्थ्यो । किनकि अर्को सिजनमा पुनः जिरोबाट सुरु गर्नुपथ्र्यो । यस्तो अवस्थाको ज्ञात हुँदाहुँदै पनि सम्बन्धित निकायले जुन किसिमको व्यवस्था गर्नुपथ्र्यो त्यो गर्न सकेन, त्यसैको परिणाम थियो त्यो । आठौँ साफमा नेपालले महिलातर्फ (सय गुणा चार) टिम इभेन्टमा स्वर्ण पदक जितेका हुन् । यो सत्य हो, यसमा दुईमत छैन । जहाँसम्म १२औँ सागको कुरा छ, त्यो पौडी खेलमा कुनै पनि नेपाली पौडीखेलाडीले व्यक्तिगत रूपमा जितेको पहिलो पदक हो । १२औँ सागमा गौरिका सिंहले नेपाललाई पहिलोपटक एक रजत र ३ कांस्य पदक दिलाएकी थिइन् । त्यसबाहेक अहिलेसम्म पौडीमा नेपालले जितेका पदक टिम इभेन्टमा मात्रै थिए ।

० हालै सम्पन्न १३औँ सागमा गौरिका सिंहले पौडीतर्फ चारवटा स्वर्णसहित नौवटा पदक जितेर ऐतिहासिक कीर्तिमान कायम गरेकी छिन्, यसलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
– यो सबै गौरिकाको मिहिनेतको फल हो । उनले जसरी मिहिनेत गरेकी थिइन्, यसभन्दा बढी स्वर्ण पदक जित्नुपर्ने थियो । गौरिकाको टाइमिङलाई दृष्टिगत गर्दा यसको हकदार पनि थिइन् उनी । तर खेल हो, कहिलेकाहीँ आफूले सोचेकोजस्तो हुने रहेनछ । हामीले त कम्तीमा पनि गौरिकाले ६ स्वर्ण जित्ने विश्वास गरेका थियौँ । र, पनि केही छैन, उनको यो उत्कृष्ट प्रदर्शनबाट हामी ज्यादै खुसी छौं । गौरिकाले व्यक्तिगत प्रतिस्पर्धामा चार स्वर्ण जितेर नेपाली पौडीको चार दशकको इतिहासमा ऐतिहासिक कीर्तिमान कायम गरेकी छिन् । जसको जति प्रशंसा गरे पनि कमै हुन्छ, यसका लागि म गौरिकालाई हृदयदेखि नै धन्यवाद दिन्छु । १३औँ सागमा गौरिकाको यो उत्कृष्ट प्रदर्शनले पौडी खेललाई नयाँ ट्र्याकमा ल्याएको मेरो ठम्याइ छ । गौरिका १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेकी थिइन् ।

० गौरिकाले पहिलो स्वर्ण पदक जित्दा तपाईं भावुक बन्दै आँसु झार्नुभो, त्यस्तो के महसूस भो तपाईंलाई ?
– सन् १९८४ देखि निरन्तर साग गेममा सहभागिता दिँदै आए पनि व्यक्तिगत इभेन्टमा पौडी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् । जब गौरिकाले भारत, श्रीलङ्का, बंगलादेश र पाकिस्तानका खेलाडीलाई पछि पार्दै पहिलो स्वर्ण पदक जितिन् त्यसपछि मलाई विगतका दिनको याद आयो । ऐतिहासिक स्वर्ण, राष्ट्रको प्रतिष्ठा र पौडी खेलले ऐतिहासिक सफलता प्राप्त गर्दा पुरस्कार वितरण समारोहमा म निकै भावुक बनेँ । जब राष्ट्रिय धुनसँगै राष्ट्रिय झन्डा आकासियो मनले निकै आनन्दको महसूस गऱ्यो, खुसीले सीमा नाघ्यो, आँखाबाट आँसु झरेको पत्तै भएन । निकै खुसी थिएँ, चार दशकको मिहिनेत र सपना पूरा भएको थियो, अझ आफू अध्यक्ष भएको बेलामा । यसभन्दा खुसीको क्षण मेरो लागि के हुन सक्थ्यो होला र ?

० १३औँ सागमा त्यस्तो के रणनीति बनाउनुुभो, जसले गर्दा पौडी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रका लागि पदक जित्न सफल भए ?
– खेलाडी छनोटको आधार भनेको नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता थियो । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ४० जना खेलाडीलाई हामी १३औँ सागको लागि छनोट गरेका थियौँ । जसमा पुरुष २४ र महिला १६ थिए । ती खेलाडीलाई सङ्घको पहलमा विशेष प्रशिक्षण दिएका थियौँ । त्यही विशेष प्रशिक्षणका कारण १३औँ सागमा पौडी खेलाडीले स्वर्ण, रजत र कांस्य पदक जित्नुको साथै आफ्नो खेलस्तरमा सुधार ल्याउनसमेत सफल भए । गौरिकापछि डुवाना लामा (१३ वर्ष) ले उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत र तीन कांस्य जितेकी छिन् । यो पौडी खेलका लागि शुभसङ्केत हो । अहिले डुवानाको उमेर मात्र १३ वर्षको छ, यदि उनले उचित प्रशिक्षण पाइन् भने १४औँ सागमा स्वर्ण पदक जित्ने पक्का छ । त्यस्तै टिसा शाक्यले व्यक्तिगत र टिम इभेन्टमा गरी चार कांस्य जितेकी छिन् भने अनुसिया तण्डुकारले तीन कांस्य । पुरुष खेलाडीले १३औँ सागमा पदक जित्न नसके पनि सबैको मन जित्न सफल भएका छन् । आफूलाई भविष्यमा पदक दाबेदार खेलाडीको रूपमा उभ्याएका छन् । त्यसमा अलेक्कजेन्डर शाह, हाम्जा, अनुभव सुब्बा र शुभम श्रेष्ठले आफ्नो टाइममा सुधार गर्दै आफूलाई अग्रपङ्क्तिमा उभ्याएका छन् ।

० १३औँ सागमा पाएको सफलताले नयाँ चुनौती खडा भएको छ, अब यसभन्दा उत्कृष्ट नतिजा ल्याउन कस्तो उपायको अवलम्बन गर्नुपर्लाजस्तो लाग्छ ?
– सर्वप्रथम १३औँ सागले पौडीमा प्रतिभावान खेलाडी जन्माएको छ । अब उनीहरूलाई कसरी व्यवस्थापन गर्ने त्यो प्रमुख चुनौती हो । तर, अहिले बाह्रै महिना खेलाडीलाई प्रशिक्षण दिने वातावरण बनेकोले यसमा कुनै चिन्ता छैन । हामीसँग २५ बाई ५० मिटरको लन कोर्स र २५ बाई २५ को हिटिङ कोर्स छ । त्यस्तै प्रदेश– १ को विराटनगर र प्रदेश– ४ को पोखरामा २५ बाई ५० मिटरको पौडी पोखरी निर्माण हुँदै छ । त्यसबाहेक प्रदेश २, ३ र ५ मा २५ बाई ५० मिटरको पौडीपोखरी निर्माण भइसकेका छन् । यस्तो अवस्थामा पौडीले गति लिने कुरामा म ढुक्क छु । अब दक्षिण एसियाली मुलुकमा हाम्रो स्थान भारतपछि दोस्रो रहनेछ, म यो दाबाका साथ भन्न सक्छु ।

० १३औँ साग सञ्चालन भइसक्दा पनि हिटिङ पौडी पोखरीले पूर्णता पाएको थिएन, यस्तो अवस्थामा यही पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्थ्यो ?
– एक महिनाअघि हिटिङ पौडी पोखरीको अवस्था देख्दा म निकै चिन्तित थिएँ । समयमै पौडी पोखरीको निर्माण कार्य सम्पन्न हुने कुरामा विश्वस्त हुन सकिएको थिएन । तर पौडी पोखरीको निर्माणलाई पूर्णता दिन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले जुन विशेष पहलकदमी गर्नुभयो त्यसबाट मात्रै सम्भव भएको हो । उहाँहरूकै विशेष सहयोग र सक्रियताले दाउमा लागेको राष्ट्रको प्रतिष्ठा बचेको थियो । यसको लागि उहाँहरू धन्यवादको पात्र बन्नुभएको छ ।

० हिटिङ पौडीपोखरीको निर्माणसँगै अब कुनै बहाना बनाउने ठाउँ छैन, अन्तर्राष्ट्रियस्तरमा पदक जित्न कस्तो योजना बनाउनुभएको छ ?
– सही कुरो, त्यसैले हामीले योजनाबद्ध र दूरदर्शी भएर काम गर्न आवश्यक छ । त्यसका लागि केही महिनापश्चात् नै १ देखि ५ प्रदेशमा विभिन्न उमेर समूहका पौडी प्रतियोगिता आयोजना गर्नेछौँ । साथै छात्रवृत्तिस्वरूप पुरस्कारको व्यवस्थापन गरी विशेष प्रशिक्षण सञ्चालन गर्ने गरी एकेडेमिक रूपमा पौडी खेलको विकास गर्ने लक्ष्य बनाएका छौँ । त्यस्तै, पौडीलाई परिणाममुखी बनाउन यही वर्षदेखि हरेक प्रदेशमा ‘मेयर कप’ पौडी प्रतियोगिता सञ्चालन गर्नेछौँ ।

० यसको प्रत्यक्ष असर १४औँ सागमा देखिने कुरामा कत्तिको विश्वास गर्नहुन्छ, के पाकिस्तानमा पनि पौडी खेलाडीले अहिलेकै प्रदर्शन दोहोऱ्याउन सफल होलान् ?
– १३औँ सागको नतिजाले हामी खुसी छौँ, तर फुर्केका छैनौँ, हामीलाई हाम्रो धरातल राम्रोसँग थाहा छ । त्यसैले अहिले भएका सुविधासम्पन्न पूर्वाधारको पूर्ण रूपमा सदुपयोग गर्दै १४औँ सागमा उत्कृष्ट नतिजा ल्याउन विशेष ध्यान दिनेछौँ । त्यसका लागि योजनाबद्ध रूपमा कार्यक्रम तर्जुमा गरी १४औँ सागमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आउँदो १९औँ एसियन गेममा समेत पदक प्राप्त गर्ने लक्ष्यसहित अगाडि बढ्नेछौँ ।

० सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक खेलकुदमा नेपालको सहभागिताबारे के भन्नुहुन्छ, ओलम्पिक छनोट चरण पार गरेर कहिले ओलम्पिकमा पुग्ने विश्वास गर्नुहुन्छ ?
– टोकियो ओलम्पिकमा नेपालको तर्फबाट पौडी खेलतर्फ १३औँ सागकी सर्वोत्कृष्ट खेलाडी गौरिका सिंह र अलेक्जेन्डर शाहले सहभागिता जनाउने पक्का भइसकेको छ । जसको तयारीका लागि सङ्घ र नेपाल ओलम्पिक कमिटीको विशेष प्रयासमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) बाट पाँच सय डलर मासिक उपलब्ध गराउँदै आएको छ । टोकियो ओलम्पिकमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान बनाउने मैले विश्वास लिएको छु । ओलम्पिक छनोट चरण पार गरेर ओलम्पिकमा पुग्नु भनेको नेपालका लागि ठूलो उपलब्धिको कुरा हो । साँचो रूपमा भन्नुपर्दा ओलम्पिकमा पदक जितेबराबर नै हो । त्यसैले यो कुरा टोकियो ओलम्पिकमा सम्भव छैन । आउँदा ओलम्पिकमा भने छनोट चरण पार गरेर ओलम्पिकमा पुग्ने हाम्रो प्रयास रहनेछ ।

प्रतिक्रिया