‘नेताको आँधी, राजनेताको खडेरी’ हाम्रो नेपालमा !

‘नेताको आँधी, राजनेताको खडेरी’ हाम्रो नेपालमा !


■ बलराम सिलवाल

सन् १६०० ताका ओलिभर क्रमवेलले बेलायतमा राजतन्त्र मासेर गणतन्त्र भित्र्याए । गणतन्त्रबाट आजित भएका बेलायती जनताले क्रमवेलको लासलाई च्यानबाट निकालेर काटकुट गरी यत्रतत्र छरिदिए । उनीहरूले पुनः बेलायतमा राजतन्त्र भित्र्याए जो अद्यावधि छँदै छ । यसको विपरीत फ्रान्समा क्रान्तिताका आफूलाई भोको राखी दरबार मगमगाउने गरी अत्तर छर्कने राजतन्त्रलाई सदाको लागि समाप्त पारिदिए । यसबाट बुझ्नुपर्छ– जनता कसैका बपौती होइनन् । चित्त नबुझेमा यिनले क्रान्ति ल्याउँछन् । चाहे त्यो राजतन्त्र होस् वा गणतन्त्र, जनहितको कार्य नै इतिहासको प्रमाणित तथ्य हो ।

नेपालको सन्दर्भ उप्काऔँ– जनताले राणा फाले, पञ्चायत फाले, अनि प्रजातन्त्र÷राजतन्त्र मासेर गणतन्त्र भित्र्याए । यो कालखण्डमा कार्यकर्ताको हितबेगर जनहित भएन । नेता आश्वासन दिँदो छ, गर्न केही सकेको होइन । सत्र सालमा काङ्ग्रेसले दुईतिहाइ जनादेश पाएर पनि उल्लेखनीय कार्य गर्न नसकेपछि पञ्चायत भित्रियो । यसले पनि त्यही उपक्रम दोहोऱ्यायो, त्यही– जुन नियति अरूले भोग्दै आए । अहिलेको दुईतिहाइले पनि त्यही नियति भोग्न सक्छ, आफूलाई नसच्याएमा ।

आत्मालोचना नगर्ने, अर्काको खोइरो काढ्ने प्रवृत्ति घातक छ । कम्युनिस्टले कोशी–गण्डक सम्झौताको विषयमा काङ्ग्रेसीलाई सराप्नुसम्म सरापे । आफ्नो पालामा महाकाली सम्झौता गरेर पार्टी फुटाए । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको फलाको लम्पसारवादमा रूपान्तरित भयो । कम्युनिस्ट पुँजीवादी हुनु भनेको खतरनाक अवस्था हो, यसले सर्वहारालाई लत्याउँछ । नेताको भन्ने कुरा एउटा र गर्ने कुरा अर्को भएपछि टालो हालेको कपडाझैँ हुन्छ । फट्याइँ पनि त्यस्तै हो । फट्याइँ गर्दै जाँदा फट्याइँ मात्र बाँकी रहन्छ, सत्यता रहँदैन । यसपछि जनताको विश्वास निराशामा परिणत हुन्छ ।

काङ्ग्रेसले जनताको साथ लिएर निरङ्कुश शासनको पतन गरेको हो । यसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो दर्शन बनाएको हो । यसले अन्य दलहरूलाई समेटेर काम गर्नुपथ्र्यो, तर किन हो गर्न सकेन । लामो इतिहास रहेको भनेर छवि बनाएको यस पार्टीलाई केही व्यक्तिले ध्वस्त पारे । अर्थात् समाजवाद छोड्यो, पुँजीवाद अँगाल्यो । संस्थापकहरूलाई पार्टी छोड्न बाध्य पारियो । सिद्धान्त मात्र राम्रो भएर हुँदैन, व्यवहार राम्रो हुनुपर्छ । काङ्ग्रेसमा परिवारवाद हाबी भयो भन्ने मान्छेको कमी छैन । बीपीका पिता चन्द्रशमशेरको चुनौती मोलेर निर्वासनमा भारत गएकै हुन् । केशव, सरोजले आफूलाई बलिदान गरेकै हुन् । कार्यकर्ताहरूले पार्टीको हितार्थ त्याग तपस्या गरेकै हुन् । परिवारवाद ठूलो कुरो होइन, जनहितको काम गरियो भने ।

कम्युनिस्टले कोशी–गण्डक सम्झौताको विषयमा काङ्ग्रेसीलाई सराप्नुसम्म सरापे । आफ्नो पालामा महाकाली सम्झौता गरेर पार्टी फुटाए । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको फलाको लम्पसारवादमा रूपान्तरित भयो ।

पार्टीमा कोइरालावाद हाबी भयो भनी कोइरालाहरूलाई विमुख तुल्याएर शेरबहादुरलाई सभापति बनाइयो । आखिर नतिजा सुध्रेन, बिग्रँदै गएको छ । जनताले काङ्ग्रेसलाई नपत्याएका होइनन्, यसले सदुपयोग गर्न नसकेको हो । व्यक्तिगत स्वार्थले काङ्ग्रेस काँक्रोको चिराजस्तो भएको हो । यसभित्रको गुटबन्दी नै काङ्ग्रेसको पतन हो । अहिलेको पुस्ता काङ्ग्रेसले राणा/पञ्चायत फालेको इतिहासमा विश्वास गर्दैन । तसर्थ काङ्ग्रेस सच्चिने हो भने जनहित/युवाहितको काम गर्नुपर्छ, विगतको इतिहास फलाक्ने होइन । अब पनि काङ्ग्रेस यथास्थितिमा रहने हो भने आउँदो ५–१० वर्षमा जनमानसमा ‘काङ्ग्रेस भन्ने पार्टी नि अस्तित्वमा थियो र ?’ भन्ने हुन्छ ।

राजनेताले समाज/राष्ट्रहित सोच्छ, नेताले आफ्नो हित सोच्छ । हाम्रोमा राजनेताको खडेरी छ । नेताको आँधी आएको छ । नेपाली जनताले सास्ती भोगेको छ । हाम्रो मुलुकले नेता होइन, राजनेता खोजेको छ । खै, कहिले भेटिन्छ होला राजनेता ? कोही–कोहीले हामी यति वर्ष कारागारमा थुनियौँ भनेर बखानेको सुनिन्छ । परन्तु यी त व्यक्तिगत स्वार्थको लागि पो रहेछ भन्ने बुझिन्छ ।

नेता कति छट्टु र अधम हुन्छ भन्ने विषयमा एक–दुईटा कथा उप्काउन चाहन्छु । एकपल्ट नेताले जनसभालाई सम्बोधन गर्ने क्रममा भनेछ, ‘आजको विषयवस्तुबारे तपाईंहरूलाई थाहै होला ।’ जनताले थाहा ‘छ’ भनेछन् । अर्कोपल्ट जनता आधाले थाहा छ भन्ने आधाले थाहा छैन भन्ने मतो गरे । नेताले सम्बोधन गरेछ, ‘आजको विषयवस्तुबारे तपाईंहरूलाई थाहै होला ।’ आधाले थाहा छ भने, आधाले थाहा छैन भने । यसपछि नेताले भनेछ ‘थाहा हुनेले थाहा नहुनेलाई भनिदिनू ।’ अनि जनताले अर्कोपल्ट कसैलाई पनि थाहा छैन भन्ने सल्लाह गरे । अर्को जनसभामा उसले भनेछ, ‘आजको विषयवस्तुबारे तपाईंहरूलाई थाहै होला ।’ जनता सबैले भनेछन्, ‘हामीलाई थाहा छैन ।’ नेताले प्रत्युत्तरमा भनेछ, ‘तपाईंहरूलाई थाहा नभएको कुरो मलाई कसरी थाहा हुन्छ र ?’ यत्ति भनेर नेता उम्कियो ।

दोस्रो कथाअनुसार एउटा टापुमा सबै जाति, धर्म र संस्कारका जनता मिलेर बसेका रहेछन्, रामराज्य रहेछ । एकपल्ट घुम्दैफिर्दै केही नेताहरू त्यो टापुमा पुगेछन् । उनीहरूले आफ्नो धर्मअनुसार त्यहाँको जनतामा जातिवाद/नश्लवादको बीजारोपण गरेर फर्केछन् । केही समयपछि ती नेताहरू अनुगमनको निम्ति त्यो टापुमा पुग्दा जनता जाति/धर्मको नाममा सङग्राम मच्चाएर यदुवंशीझैँ नासिएको भेटेछन् । आफ्नो काम फत्ते भएकोमा उनीहरू खुशी भएर फर्के । यस कथाबाट प्रस्ट हुन्छ– नेताले जाति, नश्ल, धर्म इत्यादिको नाममा जनता फुटाउने काम गर्छ । तसर्थ जनता एकजुट भएर त्यसको प्रतिकार गर्नुपर्छ ।

‘जहाँ दमन त्यहाँ प्रतिरोध’ भन्दै हिँड्ने नेताहरू आफू शासन सत्तामा पुगेपछि अहिले मुनासिब माग राख्ने जनतालाई दमन गरिरहेका छन् । यिनीहरूले हिजोका कुरा बिर्सेको नाटक गरेका हुन्, अबुझ बनेका हुन् । यिनीहरूले सबै तत्व बुझेका छन् तर अबुझ बनेको नाटक गरेपछि कसको के लाग्छ ?