मोहनकृष्ण श्रेष्ठको ‘कूटनीतिमा तीन दशक’

मोहनकृष्ण श्रेष्ठको ‘कूटनीतिमा तीन दशक’


हालैको सन्दर्भ हो, देशको निम्ति कूटनयिक कर्तव्य निर्वाहमा अब्बल भूमिका निर्वाह गरेका पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ नेपाल–फ्रान्स सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा सैनिक मुख्यालय परिसरमा आयोजित पार्टीमा सरिक भई बाहिर निस्कँदै हुनुहुन्थ्यो । यसै क्रममा केही भद्र युवाहरू उहाँलाई पछ्याउँदै आए र विनम्र भावमा प्रश्न गरे, ‘सर मोहनकृष्ण श्रेष्ठ हुनुहुन्छ ?’ उहाँले स्वीकारोक्ति प्रकट गर्नुभयो । ती युवा अत्यन्त अनुग्रही भावमा भन्न थाले, ‘सर, हजुरले लेखेको पुस्तक पढेर हामीले निकै महत्वपूर्ण लाभ लिन पायौँ । परराष्ट्र सेवामा प्रवेश र सेवा निर्वाहका निम्ति पुस्तक अति उपयोगी रहेछ । यस्तो महत्वपूर्ण पुस्तकका लागि सरलाई बधाई र धन्यवाद पनि !’

यस्तै–यस्तै हार्दिकताका कुरा सुनाएर उनीहरू बिदा भए । आफ्नो अनुभव र भोगाइमा आधारित पुस्तक प्रकाशनमा ल्याएर राम्रै कर्म गरेछु भन्ने भाव उत्पन्न भई मोहनकृष्ण श्रेष्ठको हृदय पनि गद्गद् भयो । उक्त पुस्तकसँग जोडिएका यस्ता सुखद प्रसङ्ग उहाँसँग अरू पनि प्रशस्तै रहेछन् । ताजा प्रसङ्ग हुनाले मोहनकृष्ण श्रेष्ठले कुराकानीको उठान यसैबाट गर्नुभयो ।

हो, कूटनीतिक सेवामा गुज्रिएको आफ्नो साढे एकतीस वर्ष लामो अवधिमा भोगेका, देखेका, अध्ययन र महसूस गरेका यावत् सन्दर्भ तथा विषयहरू समेटेर मोहनकृष्णले लेख्नुभएको पुस्तक ‘कूटनीतिमा तीन दशक’ प्रकाशन भएको चार वर्षअघि नै हो । तर, जति–जति वर्ष बित्दै छन् उक्त पुस्तकको महत्व र चर्चा पनि क्रमशः बढिरहेकै छ । खासगरी परराष्ट्र सेवामा प्रवेश गर्न चाहने र गरिसकेका व्यक्तिहरूको लागि यो अत्यन्त उपयोगी रहेको प्रतिक्रिया प्राप्त हुने उपक्रम जारी नै रहेको सुनाउनुहुन्छ उहाँ ।

जतिसुकै योग्य वा क्षमतावान् भए पनि खुवीअनुसारको जिम्मेवारी पाउन राजनीतिक दलको कार्यकर्ता हुनैपर्छ, कुनै ‘वाद’को पछाडि लाग्नैपर्छ या नेताहरूको चाकडी र नगदको चलखेल गर्नैपर्छ भन्ने धारणा हामीकहाँ व्याप्त छ । यस्ता विभिन्न उदाहरण प्रशस्तै देखिएका पनि छन् । तर, मोहनकृष्ण श्रेष्ठ यसमा अपवादको पात्र बन्न पुग्नुभयो । आफ्नै मिहिनेत, योग्यता र क्षमताको बलमा उहाँ लोकसेवाको परीक्षा पास गरेर शाखा अधिकृतको रूपमा परराष्ट्र सेवामा प्रवेश गर्नुभयो । सेवा प्रवेशकै बेलामा उहाँले कुनै दिन आफू देशको राजदूत बनेर मुलुकको सेवा गर्ने अठोट गर्नुभएको थियो, जुन लक्ष्य हरदम सकारात्मक सोच, कामप्रतिको इमान, निष्ठा, र कर्तव्यपरायणताका कारण उहाँले हासिल गर्नु पनि भयो ।

अर्थशास्त्र र राजनीतिशास्त्रका विद्यार्थी भएर पनि विभिन्न भाषा सिक्ने, कूटनीतिक क्षेत्रका लागि आवश्यक ज्ञान र व्यवहार बुझ्ने, विभिन्न मुलुकको इतिहास बुझ्ने, फुर्सद मिल्नेबित्तिकै अन्तर्राष्ट्रिय राजनीति, आर्थिक कूटनीतिलगायत यावत् विषयक पुस्तकहरू पढ्ने आदत उहाँको थियो । कूटनीतिक सेवामा रहने व्यक्तिको बोली–व्यवहार अत्यन्त शिष्ट, अनुशासित, कसैलाई नबिझाउने, मित्रवत् हुनुपर्छ भन्ने बुझाइकै कारण उहाँले अन्य कुरामा मन नडुलाई सोही आचरणमा आफूलाई ढाल्नुभयो । फलतः परराष्ट्र सेवाका विभिन्न खुड्किला चढेर शिष्टाचार महापाल हुँदै मोहनकृष्णले फ्रान्सजस्तो विश्वमञ्चको प्रभावशाली र समृद्ध मुलुकका लागि नेपाली ‘दूत’को महत्वपूर्ण कार्यभार सम्हाल्ने अवसर पाउनुभयो ।

परराष्ट्रअन्तर्गतको सरकारी सेवाका क्रममा उहाँले तीन महिनाजति संयुक्त राष्ट्रसंघको महासभामा (न्युयोर्क) काम गर्नुका अलावा जापानमा सेकेन्ड सेक्रेटरीका रूपमा गई पछि मिनिस्टर काउन्सिलर र कार्यबाहक राजदूतको जिम्मेवारी सम्हालेको, बैंककमा प्रथम सचिवका रूपमा सेवा गरेको, संयुक्त राष्ट्रसंघको एस्क्यावअन्तर्गत नायव स्थायी प्रतिनिधि रहेको र अबुधाबीमा पनि कार्यबाहक राजदूतको हैसियतमा काम गरिसकेपछि निकै वर्षदेखि फ्रान्समा नेपाली राजदूत रिक्त रहेको अत्यन्त प्रतिकूल अवस्थामा उहाँले कार्यभार सम्हाल्नुभएको थियो ।

परराष्ट्र सेवामा संलग्न हुनुअघि नै एउटा कूटनीतिज्ञका निम्ति विदेशी भाषाको ज्ञान हुनु अत्यन्त फलदायी हुन्छ भन्ने बोध गरेका मोहनकृष्ण श्रेष्ठलाई नेपाली, नेवारी र अङ्ग्रेजीका अलावा हिन्दी, जापानी, फ्रेन्च, स्पेनिस भाषाको पनि ज्ञान छ । नयाँ–नयाँ साथी भेट्दा उसैको भाषामा कुरा गरिदिँदा बढ्ता आत्मीयता हुने र मित्रता पनि छिटो झ्याङ्गिन्छ भन्ने मान्यता बोकेका मृदुभाषी उहाँले नेपाल र फ्रान्सबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ आयाममा पुनर्स्थापित गर्न अहम् भूमिका निर्वाह गर्नुभयो ।

राजदूतको रूपमा कार्यरत रहँदै आफ्ना अनुभवहरूलाई पुस्तकाकार रूप दिने सोच उहाँले बनाउनुभएको थियो । घुमफिरमा विशेष रुचि रहेको र सरकारी सेवाकै दौडानमा विश्वका सत्तरी मुलुकको भ्रमण गर्दाका अनुभव र भोगाइहरू पनि उहाँसँग थिए नै । तिनै अनुभव, भोगाइ, हेराइ र बुझाइको एक अंशका रूपमा उहाँले ‘कूटनीतिमा तीन दशक’ नाममा पुस्तक सार्वजनिक गर्नुभएको हो ।

आफ्नो अनुभवमा आधारित पुस्तक भन्नेबित्तिकै प्रायः मानिसलाई लाग्छ कि सम्बन्धित लेखकले आफ्नो बढाइचढाइ गर्दै लेखेको होला । हुन पनि आत्मपरक विषयमा कलम चलाउनेहरू सबैजसोले यथार्थभन्दा आत्म–महिमामण्डनमै पुस्तकका पाना खर्च गरेका पाइन्छन् । तर, मोहनकृष्ण श्रेष्ठले आफ्नै अनुभव र भोगाइलाई विषयवस्तु तुल्याए पनि पुस्तकलाई ‘बायोग्राफी’को रूप दिनुभएको छैन, न त त्यहाँ आफ्नो बडप्पन प्रस्तुत गर्ने कुनै प्रयत्न नै गरिएको छ ।

चार सयभन्दा बढी पृष्ठको गहकिलो पुस्तकभित्र विभिन्न छत्तीस शीर्षकमा विभक्त गरी मोहनकृष्ण श्रेष्ठले अत्यन्त रोचक, समसामयिक र ज्ञानबर्द्धक सन्दर्भ–सामग्रीहरू संलग्न गर्नुभएको छ । पुस्तक पढ्न शुरु गरेपछि पाठकले बिसाउनै नचाहने विषयवस्तुलाई मनमोहक ढङ्गले प्रस्तुत गर्न सक्नु लेखकको विशेष खुवी ठान्नुपर्छ । एक जिम्मेवार सरकारी ‘डिप्लोम्याट’का रूपमा भोगेका कतिपय सुखद सन्दर्भ, कतिपय कठिन परिस्थिति, कैयन व्यावहारिक उतारचढावका क्षणका अलावा विश्वका विभिन्न देश वा शहरका संस्कार–संस्कृतिलगायत जान्न–बुझ्न अपरिहार्य प्रकृतिका तस्बिरसहितका सामग्रीले पुस्तकको महत्व बढाएको छ । सायद यही ओजका कारण हुनुपर्छ पुस्तकको दोस्रो संस्करणसमेत प्रकाशित भइसकेको छ । यति मात्र नभई सम्बद्ध पाठकका चाहनालाई सम्बोधन गर्दै ‘कूटनीतिमा तीन दशक’को अङ्ग्रेजी संस्करण ‘Three Decades In Diplomacy’ पनि बेलायतको एक पब्लिकेसन हाउसले प्रकाशनमा ल्याएको छ । यस्तो महत्वपूर्ण कृतिका सर्जकलाई बधाई र सफलताको शुभकामना पनि !