विश्वेश्वरप्रसाद कोइरालाको सपनाको समाजवाद

■ इन्द्रबहादुर बराल



जहानियाँ सामन्ती राणा शाहीको अन्त्यपछि पनि करिब ८ आठ वर्ष नेपालको राजनीति अलमलमै बित्यो । संविधानसभा कि प्रतिनिधिसभा निर्वाचन भन्ने दाउपेचमा अन्ततः नेपाली काङ्ग्रेस संविधानसभाको मुद्दा थालीमा राखेर प्रतिनिधिसभा अर्थात् आमनिर्वाचनमा जान राजी भयो । पहिलो आमनिर्वाचनले नेपाली काङ्ग्रेसलाई दुईतिहाई बहुमत प्राप्त गऱ्यो । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसद कोइरालाका सामु पार्टीले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयनमा ल्याउन ठूलो चुनौतीको विषय थियो । बीपी प्रधानमन्त्री भएपछि पहिलो आमसभामा भनेका थिए– जग्गा हुन्छ जोत्नेको चाहे पुर्पुरोमा जे लेखोस् ।

राणाहरूको जहानियाँ १०४ वर्षे शासनकालमा नेपालीको कुल भूमि (खेतीयोग्य) मध्ये ९७ प्रतिशत जमिन बिर्तावालाको थियो । कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत राणाहरूकै थियो । वनजङ्गल पनि बिर्तावालाहरूकै अधीनमा थियो । नेपाली सर्वसाधारण जनताले कृषि कर्म गर्न हलो, कुटो, कोदालो, बिउ बनाउन आवश्यक काठ पनि बिर्तावालाहरूकै निगाहामा भर पर्नुपर्ने अवस्था सर्वविदितै छ । यसरी १०४ वर्ष एकलौटी रूपमा राष्ट्रका उत्पादनमाथि मुठ्ठीभरका मानिसको अधीनबाट फुत्काएर आमनेपालीको हातमा स्वामित्व दिलाउनु चानेचुने कुरा थिएन । तथापि आफ्नो पार्टी नेपाली काङ्ग्रेसको आर्थिक नीतिअनुरूप ती उत्पादनका साधनलाई जनताको हातसम्म पुऱ्याउन बिर्ता उन्मूलनबाहेक अर्को विकल्प थिएन र भयो पनि बिर्ता उन्मूलन । साथसाथै वन–जङ्गललाई पनि राष्ट्रियकरण गरियो र राजारजौटा पनि विधिवत् रूपमा हटाइएको थियो । माथि उल्लेख तीनवटै काम नेपाली काङ्ग्रेसकै प्रजातान्त्रिक समाजवादको परिणति थियो । देशमा अहिले दुईतिहाईको शक्तिशाली कम्युनिस्ट सरकार छ । यो सरकारले पनि एक वर्ष १० महिना पार गरिसकेको छ, तर परिणाम शून्य नै भन्नुपर्ने हुन्छ ।

यसर्थ नेपाली काङ्ग्रेस र नेकपा दुई भिन्न पार्टी दुई भिन्न अवस्थामा दुईतिहाई बहुमतको सरकारको इमानदार मूल्याङ्कन गर्ने हो भने नेपाल कम्युनिस्ट पार्टीको सरकारको कार्यक्षमता र समाजवादप्रतिको प्रतिबद्धता नक्कली साबित भइसकेको छ । सुनिँदै छ– भृकुटी कागज कारखानाको नेपाल सरकारले बेचबिखन गर्न सहजता गर्दै भूमिसम्बन्धी विधेयक बहुमतको आडमा बलजफ्ती गर्दै पारित गऱ्यो । के त्यस्तो काम कुनै पनि समाजवादउन्मुख पार्टी नेतृत्व सरकारले गर्न सुहाउँछ ? त्यसकारण नेपाल कम्युनिस्ट त्यसमा पनि सत्तारुढ पार्टी भूसामन्तको पृष्ठपोषणमै तल्लीन देखिन्छ । हुने बिरुवाको चिल्लो पात, बीपीले त्यही १९ महिनामा १०४ वर्षसम्म जरा गाडेर बसेको सामन्ती व्यवस्थालाई समाप्त गर्दै जनतालाई रैतीबाट नागरिक बनाए । तर, कम्युनिस्ट कुम्लो बोकी ठिमीतिर भनेजस्तै नाम मात्रको सी विचारधाराको पोको थाप्लो हाल्दै छ भर्खरै । अब बेला आइसक्यो नेपालीले कुन पार्टी प्रजातान्त्रिक समाजवादी हो हो र कुन होइन भनेर चिन्ने ।

हुने बिरुवाको चिल्लो पात ! बीपीले १०४ वर्षसम्म जरा गाडेर बसेको सामन्ती व्यवस्थालाई १९ महिनामा समाप्त गर्दै जनतालाई रैतीबाट नागरिक बनाए । तर, कम्युनिस्ट नेताहरुको चालढाल कुम्लो बोकी ठिमीतिर भनेजस्तै छ ।

विश्वेश्वरप्रसाद कोइरालाको परिकल्पना वा सपनाको समाजवाद भनेको प्रत्येक नेपालीको एउटा आफ्नै घर होस् । खेती, किसान र भषणपोषण गर्न जमिन होस् । सबै नेपालीका छोराछोरीले समयसापेक्ष शिक्षादीक्षा पाउन् । आवश्यक पर्दा औषधोपचारको व्यवस्था गर्न सकुन् । जनताका यी न्यूनतम आवश्यकता हुन् जसको परिपूर्ति हुनैपर्छ । त्यसका लागि प्रजातान्त्रिक समाजवादको स्थापना आवश्यक ठान्नुहुन्थ्यो र त्यसको लागि जीवनपर्यन्त अनेक उकाली–ओराली पार गर्नुभयो । अन्ततः अहिले विश्वेश्वरप्रसाद कोइरालाको विचारले सर्वकालिक स्थान प्राप्त गरेको छ । यहाँ प्रश्न उठ्न सक्छ– प्रजातन्त्रको पुनर्स्थापनापश्चात् नेपाली काङ्ग्रेसले सर्वाधिक लामो समयय सत्ता सम्हालेको अवस्था थियो खोइ के भयो ? यस्ता प्रश्नको तथ्यफरक निरूपण आवश्यक देखिन्छ ।

नेपाली काङ्ग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद भनेको आर्थिक सामाजिक न्याय हो । जुन समाज आर्थिक र सामाजिक रूपले उत्पीडनमा रहन्छ, त्यो समाजमा न्याय मरेको हुन्छ । यो सवालमा नेपाली काङ्ग्रेस समयमै सचेत थियो । त्यसैले सबैभन्दा पहिले अर्थात् जनआन्दोलन ०६२/६३ पूर्व नै पार्टीमा समावेशीका लागि कदमजम (कर्णाली, दलित, महिला, जनजाति र मधेसी) को नीतिअनुरूप पार्टीलाई समावेशीकरण गरिएको थियो । जसले गर्दा आज सबै जात/जाति क्षेत्र, वर्ग र लिङ्गको सहभागितामूलक पार्टी बनेको छ काङ्ग्रेस । यो समावेशिता पनि बीपीको सपनाको समावेशिता हो । समग्रता नेपाली काङ्ग्रेस त पार्टीको नाम मात्रै हो । यसको नीति, सिद्धान्त र कार्यक्रम त प्रजातान्त्रिक समाजवाद हो । आजको दुनियाँ यसैप्रति आकर्षित छ र लालयित देखिँदै पनि छ ।

नेपाली काङ्ग्रेसले अब ०७ सालको क्रान्ति गऱ्यौं भनेर पुग्दैन, न त ०४६ को आन्दोलनको अगुवा हौँ भनेर पुग्छ । काङ्ग्रेसले नेपालमा भएका हरेक आन्दोलनदेखि संविधान निर्माण र त्यसको सफल कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । तर, त्यसको यथोचित प्रचारप्रसार गर्न नसक्दा काङ्ग्रेसका पिछलग्गुहरूले यत्रो अवसर पाएका छन् । यहाँ पिछलग्गु भन्ने शब्द प्रयोग गर्न उचित किन पनि उचित ठानिएको हो भने आफूलाई जतिसुकै महान् क्रान्तिकारीको डिङ हाँके पनि सबै क्रान्तिमा काङ्ग्रेसकै पछि लागेकै हुन् । यो यथार्थलाई स्वीकार गर्दै अघि बढेमा नेपाली काङ्ग्रेसका संस्थापक नेता सबै नेपालीका ढुकढुकी बीपी कोइरालाको सपनाको प्रजातान्त्रिक समाजवाद सर्वकालिक रूपमा जीवन्त रहनु काङ्ग्रेसका लागि गर्वको विषय हो ।

प्रतिक्रिया