सरकारलाई भ्रमण वर्षको शुभकामना !

सरकारलाई भ्रमण वर्षको शुभकामना !


अङ्ग्रेजी पात्रोअनुसार आजदेखि साल फेरिएको छ । वर्ष २०१९ लाई बिदा गर्दै सन् २०२० आरम्भ भएको छ । पछिल्ला दशकमा उत्पन्न सामाजिक एवम् राजनीतिक उथलपुथलको तीव्रावस्थाका कारण इस्वी सम्वत्को वर्चश्व नेपाली समाजमा जबर्जस्ती बढेको सबैले महसुस गरेकै विषय हो । अर्थात्, विश्वव्यापी रूपमा मनाइने इस्वीको नयाँ सम्वत्ले नेपालीलाई पनि उत्तिकै प्रभावित तुल्याउन थालेको छ । राष्ट्रको मौलिक संस्कृति, परम्परादिलाई उचित संरक्षण प्रदान गर्न नसकेको आरोप खेप्दै आएको सरकारले पनि अङ्ग्रेजी नयाँ वर्षलाई नै महत्व दिँदै वर्ष २०२० लाई ‘भ्रमण वर्ष’को रूपमा मनाउने निर्णय गरेको र यसलाई राष्ट्रिय महोत्सवकै रूपमा अङ्गीकार गर्न आह्वान गरेबाट नयाँ वर्ष २०२० को चर्चा यतिबेला थप चुलिएको छ ।

तथापि, सन् २०२० को वर्ष दिन अवधिमा २० लाख पर्यटक भित्र्याउने महत्वाकाङ्क्षी घोषणा गरेको सरकारले ‘भ्रमण वर्ष २०२०’लाई महाअभियान ठानेर मनाउन आह्वान गरे पनि तयारीका कोणबाट नियाल्दा अवस्था नाजुक नै रहेको यथार्थ लुक्न सक्दैन । हरेक विषयलाई व्यवहारमा भन्दा बोली (भाषण) मा जोड दिने नेपाली नेतृत्वको मौलिक प्रवृत्तिका कारण भ्रमण वर्षको परिणति कस्तो रहने हो भन्ने सवाल सन्देहपूर्ण सन्दर्भ नै बनेको छ । देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकारले पर्यटनलाई प्रमुख प्राथमिकताको क्षेत्रका रूपमा लिएको र प्रधानमन्त्री केपी ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अवधारणालाई सार्थक तुल्याउने अहम् माध्यम पनि पर्यटन नै रहेको सरकारी धारणा सार्वजनिक हुँदै गर्दा भ्रमण वर्षको तयारी या पर्यटक आकर्षित गर्नका लागि जे–जति कार्य भए–गरिएका छन्, यो उत्साहजनक छैन भन्दा अतिरञ्जनायुक्त ठहरिने छैन ।

हो, पर्यटनको हिसाबले नेपाल प्रचुर सम्भावना बोकेको मुलुक हो । यो यथार्थतासँग राज्य पहिलेदेखि नै परिचित भएर पनि सम्भाव्यतालाई व्यवहारमा रूपान्तरण गर्ने सवालमा अत्यन्त पछि परेको यथार्थ त नेपाल र नेपालीको दीन–हीन अवस्थाले उजागर गरिरहेकै छ । धेरै वर्षसम्म नेपाललाई कृषिप्रधान देश भनियो, तर कृषि क्षेत्रमा ओह्रालो लाग्दै आज विदेशबाट सालिन्दा अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने नियति भोग्न देश अभिशप्त छ । पछिल्ला सरकारहरूले मुलुकलाई औद्योगिकीकरणको दिशामा लैजाने भाषण पनि मज्जैसँग दिए । तर, भएका उद्योगहरू ध्वस्त पारिए, जे–जति उद्योगधन्दा चलिरहेका छन्– तिनको हालत पनि अत्यन्त नाजुक छ । यो अवस्थाको मूल जड नै भिजन नभएको, बेइमान, भ्रष्ट, गैरजिम्मेवार या अनुत्तरदायी राजनीतिक नेतृत्व हो भन्नेमा अब शङ्का बाँकी छैन । व्यवस्था जेसुकै लादे पनि नेतृत्वकर्तामा देशप्रतिको माया, इमान, कर्तव्यपरायणता, मुलुकवासीप्रति दायित्वबोध तथा जिम्मेवारीपन रहेमा जस्तै विपन्न र स्रोतविहीन मुलुकले पनि उन्नतिको खुड्किलो चढेकै हुन्छ । तर, फगत ‘जनताको निम्ति’ भन्दै ल्याइएको ‘गणतन्त्र’मा समेत आज जनता समृद्धिको मृगतृष्णामै बाँच्न विवश छन् । र, पर्यटन क्षेत्रलाई खुड्किलो तुल्याएर सरकारले अब समृद्ध जीवनको शिखर चढाइदिने आशा एकपटक फेरि बौराउँदै छन् आमनेपाली । सरकार सिङ्गै मुलुकको अभिभावक भएकोले आफ्नो अभिभावकले जगाइदिएको आशामा बहकिनु तमाम नेपाली नागरिकको निम्ति एकप्रकारको बाध्यता पनि हो ।

तर, के आफ्ना जनताप्रति अभिभावकीय जिम्मेवारी निर्वाहमा वर्तमान सरकार खरो उत्रिएला त ? पुनः एकपटक यो प्रश्न पहाडजत्तिकै अग्लो भएर नेपालीसामु ठडिएको छ । किनकि, राजधानीमै अवस्थित एक प्रसिद्ध पर्यटकीय स्थल ‘गोकर्ण रिसोर्ट’माथि नेपाल सरकारले गरेको भ्रष्टाचारजन्य छेडखानीले सरकारको ‘राज्यदोहनमा लिप्त चरित्र’लाई छरप्रस्ट पारेको छ । राज्य तहबाट भएका भ्रष्टाचारका अनेक सन्दर्भ यसअघि चर्चामा नआएका होइनन्, तर नीतिगत भ्रष्टाचारको यस तहको उदाहरण हाम्रो सन्दर्भमा अर्को सायदै भेटिएला । ऐननियमको फेरबदल, आधा दर्जन सचिव अदलबदल गर्नेदेखि गृहमन्त्रीलाई बोर्डबाट हटाएर आफूअनुकूलको मन्त्री ल्याउनेसम्मको हर्कत सरकारले गरेको छ । कुनै व्यक्ति, कम्पनी या समूहविशेषलाई लाभ पुऱ्याउनकै लागि सरकारका शीर्षपात्र नै लागेर राज्यको सम्पत्ति सुम्पिएको यस सन्दर्भले नेपाल कसका लागि कस्तो खालको समृद्धिको यात्रा गरिरहेको छ भन्ने स्पष्ट सङ्केत गरेको छ । सीधासाधा जनतालाई भ्रमित पार्दै, सचेत तप्कालाई प्रलोभन वा त्रासमा राख्दै अन्धाधुन्ध जारी ‘समृद्धिको यात्रा’ले नेपालीलाई उहीँको उहीँ छोड्ने हो कि यसभन्दा पनि तल पछार्ने हो ! अनुमान गर्न अब कठिन छैन । तथापि, इस्वी सम्वत् २०२० सँगै शुरु गरिएको नेपाल सरकारको ‘भ्रमण वर्ष महाअभियान’ले सफलता पाओस् भन्ने शुभकामना दिन कञ्जुस्याइँ नगरौँ ।