डा. महतको उपयोगी पुस्तक बजारमा

डा. महतको उपयोगी पुस्तक बजारमा


उच्चकोटिका मानिसहरू आफ्नो प्रतिकूल समयलाई समेत उच्चतम उपयोग गर्छन् भन्ने उक्तिको चरितार्थ डा. रामशरण महतले गर्नुभएको छ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् ख्यातिप्राप्त अर्थविद् डा. महतले गत संसदीय निर्वाचनमा पराजित भएपछिको समयलाई सदुपयोग गर्दै लेख्नुभएको पुस्तक नेपाल र यसको विकासप्रति चासो राख्ने हरेकका निम्ति गहकिलो खुराक हुने विश्वास गरिएको छ ।

Trails, Tremors and Hope नाममा २२० पृष्ठको उक्त पुस्तकमा नेपालको समकालीन राजनीति र अर्थव्यवस्थाबारे रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नेपालको सामाजिक र आर्थिक रूपान्तरणमा रचनात्मक ढङ्गले इमानदारीका साथ लाग्नेहरूप्रति समर्पित सो पुस्तकमा बदलिँदो विश्वमा समाजवाद, बीपी समाजवाद र नेपाली काङ्ग्रेस, आर्थिक सुधार र त्यसको प्रभाव, माओवादी द्वन्द्व र शान्ति प्रक्रिया, संविधान लेखन, विदेशी सहयोग र वित्तीय विकास, विपत्ति र त्यसबाट उन्मुक्तिका प्रयास तथा अगाडिका चुनौती र कार्यलगायत विभिन्न बाह्र शीर्षकअन्तर्गत समसामयिक नेपालको यथार्थ तस्बिर देखाउने प्रयास भएको छ ।

नयाँदिल्लीस्थित अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त प्रकाशक Adroit Publishers द्वारा प्रकाशित अङ्ग्रेजी भाषाको उक्त पुस्तक निकट भविष्यमै नेपालीमा पनि प्रकाशित हुने बताइएको छ । डा. महतले आफूले भोगेका, देखेका र बुझेका विषयवस्तुलाई स्पष्ट र सरल ढङ्गले प्रस्तुत गर्नुभएकोले पुस्तक पठनीय र मननीय बन्न पुगेको छ ।