चलचित्र हेरेपछि दर्शकले भने- ‘वाह मारूनी ! क्या मारूनी !!’

चलचित्र हेरेपछि दर्शकले भने- ‘वाह मारूनी ! क्या मारूनी !!’


■ राजन घिमिरे, सिड्नी

चलचित्र मारूनीले नेपालमै पनि राम्रै प्रशंसा कमाएको हो । नाम र दाममा यो चलचित्रले आफूलाई माथि नै राख्यो । नेपाल–प्रदर्शनमा दर्शकप्रिय सावित भएपछि प्रवासमा रहेका नेपालीहरू माझ पुगेको चलचित्र मारूनीको यात्रा यतिबेला अष्ट्रेलियाको सिड्नीमा जारी छ । यसअघि ‘मारुनी’ जापान पुगेको थियो ।

शुक्रबार साँझ सिड्नीको हर्सभिलस्थित सिभिक थिएटरमा प्रदर्शन भएको चलचित्र मारूनीका नायक पुष्प खड्का र निर्मात्री पुनम गौतमसँगै बसेर चलचित्र हेर्न पाउँदा दर्शकहरू जति उत्साहित देखिए, चलचित्र हेरिसकेपछि दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले नायक र निमात्री पनि उत्तिकै प्रशन्न हुन पुगे ।

‘मैले जहाँ–जहाँ चलचित्र लिएर गएँ, त्यहाँ–त्यहाँ मारुनी चलचित्रले स्याबासी पाउँदा हृदय निकै आल्हादित हुँदोरहेछ’, चलचित्रकी निर्मात्री पुनम गौतमको भनाई थियो । ‘चलचित्रप्रति विश्वास भएकै कारण म आफ्नो सृजना माथि गौरव गर्छु’– उनले थपिन् ।

चलचित्र हेरिसकेपछि नायक पुष्प खड्कासँग तस्बिर खिचाउने उनका प्रसंशकहरूको बाक्लै भिड लाग्यो । ‘सिड्नीमा हामी जे सोचेर आएका थियौँ, त्यो भन्दा बढी साथ र माया पायौँ, सबैमा नमन छ’– पुष्पले भने ।

हलमा चलचित्र हेर्न हरेक उमेरका दर्शकहरूको उपस्थिति थियो । मारुनी सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिए मुकुन्द भट्टराईले । ‘धेरै समयपछि नेपाली चलचित्र हेरियो, साँच्चै मन छोयो’, उनले भने । भट्टराई परिवारसहित चलचित्र हेर्न आएका थिए । ‘विशेष गरेर मारूनीको कथा मन पऱ्यो, पारिवारिक कथा र मन छुने प्रस्तुति साँच्चै तारिफयोग्य छ’, भावना पराजुलीले भनिन् ।

चलचित्र प्रदर्शन हुनुअगाडि चलचित्रका नायक पुष्प खड्का र निर्मात्री पुनम गौतमलाई सम्मान गरिएको थियो । ‘प्रवासमा हाम्रो लागि उहाँहरू सिनेमा लिएर आउनुभएको छ । हामी सबै मिलेर नेपाली सिनेमा र कलाकारहरूलाई सहयोग गर्नुपर्छ’– गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका निवर्तमान उपाध्यक्ष नन्द गुरुङले कलाकर्मीद्वयलाई सम्मान गर्दै भने ।

राम्रा निर्देशकको रूपमा आफूलाई स्थापित गराएका निर्देशक नवल नेपालले मारूनीमा आफ्नो त्यो विशेषतालाई पनि दोहोऱ्याएका छन् । ‘सफा’ चलचित्र बनाउने र दर्शकहरूलाई हलमा बाँध्न सक्ने उनको क्षमताको चिनजानका सबैले खुलेर तारिफ गर्छन् । ‘नेपाली परिवेश, नेपाली स्वाद अनि नेपाली सुगन्ध, मनबाटै भनेको छु कि मारूनी साँच्चै गजबको बनेको रहेछ’– सिड्नीका सर्जक रमण रेग्मीको प्रतिक्रिया थियो ।