घीननीयज्यू

घीननीयज्यू


चट्याङ मास्टर

हटाई माननीय शब्द, घीननीय शुरु गरौँ !
कमसेकम पदवी एउटा, सुहाउँदो त दिने गरौँ !
यी फेरिन्नन् यी यस्तै हुन्, जुनसुकै तन्त्रमा पनि !
छैनन् यी मानका पात्र, माननीय भने पनि !

टन्न जाँड धोकी एउटा, बन्दुक ठाइँठाइँ चलाउँछ !
हुल लिई ऊ त्यो अर्को, मेच धुलो बनाउँछ !

उद्घाटन र विसर्जनमा, चाहिन्छ घीननीयज्यू !
सराद्धेमा पुरेतजस्तै, सभामा घीननीयज्यू !
टोलमा चाहिन्छ पोडे, क्षेत्रमा घीननीयज्यू !
दमैले माग्दछ पुन्की, भेटचौँ घीननीयज्यू !

ऊ त्यो हो रण्डीको नाइके, यसका छन् डाँका लस्कर !
फटाहा छ यता अर्को, ऊ त्यो चैँ ठूलो तस्कर !

बोलाएर सुनौँ अर्ती, क्या जान्ने घीननीयज्यू !
बजाऊँ ताली, चढाऊँ मोटर, नमस्कार घीननीयज्यू !
हुटिट्याउँ यी सागर थाम्छन्, वाह रे घीननीयज्यू !
मिलेन माननीय भन्न, बानीले घीननीयज्यू !

पुरानो कैदी हो यो चैँ, ऊ त्यो चैँ घुसखोर छ !
यताको यो नियम मिच्छ, त्यताको पनि चोर छ !

देशकै मानको हानि, गर्दछन् घीननीयज्यू !
मान्छेभन्दा तल धेरै, झर्दछन् घीननीयज्यू !
घीनहानिमा पनि मुद्दा, हाल्छन् कि घीननीयज्यू !
छीः फलानाको घीनहानि भो, भन्छन् कि घीननीयज्यू !

माननीयको हुन्छ मानहानि, घीननीय भन्यो भने !
घीननीयको हुन्छ घीनहानि, माननीय भन्यो भने !

घीननीय भने सबले, घीन लाग्छ घीननीयज्यू ?
कैदनीयभन्दा त राम्रै छ घीननीयज्यू !