आउनुस् लोकतन्त्रको अर्थ खोजौँ

■ स्वयम्भूनाथ कार्की



मुलुकको वागडोर समाउने स्थानमा भएका दलका शीर्ष नेताहरू, आफूलाई नागरिक समाजका अगुवा भनाउने बुद्धिजीवीहरू, सम्पूर्ण मुलुकवासीलाई निदाएको देख्ने र गाउँ–शहर ब्युँझाउने जिम्मेवारी स्वेच्छाले लिने सञ्चारकर्मीहरूको अनवरत प्रयत्न तथा प्रयास अनि उनीहरूका विदेशी मित्रहरूको भौतिक र नैतिक सहायताको परिणामले मुलुक लोकतान्त्रिक गणतन्त्र भएको छ । मजाको कुरो के छ भने मुलुकको वागडोर समाउने हातहरू केही थप भए पनि पुरानै छन् । राजाको प्रत्यक्ष शासनकालका राष्ट्रिय पञ्चायतका सदस्यहरू गणतन्त्रमा पनि शासनसत्ताकै वरिपरि छन् झन् असरदार रूपमा ।

लोकतन्त्रको परिभाषा इच्छा, सम्मति र निर्देशअनुसार चल्ने व्यवस्था हो । चुनावमा नेपालीले २०१५ सालदेखि नै मत खसालेका हुन् । अझ २०१७ सालमा प्रादुर्भाव भएको र हाल नेपालको हालिमुहाली पाएका वर्गद्वारा निरङ्कुश र कालरात्रि भनिएको पञ्चायती व्यवस्थामा पनि जनताले मत खसालेकै हुन् । बरु त्यो निरङ्कुश भनिएको व्यवस्थालाई समाप्त गरेर आएको बहुदलीय संसदीय व्यवस्थामा औसतमा पञ्चायती व्यवस्थाभन्दा कम चुनाव भयो ।

सबै धर्मलाई एक समान व्यवहार गर्न निमित्त राज्यको जामेमस्जिदमा पहुँच छैन, कुनै चर्च वा गुरुद्वाराको प्रबन्धनमा राज्यको कुनै अधिकार र भूमिका छैन भने हिन्दू मन्दिरमा मात्र भूमिका र हस्तक्षेप हुनु भनेको आफूलाई हिन्दूराष्ट्र नै राख्नु हो ।

पञ्चायतमा भएको चारवर्षे कार्यकालको सट्टा पाँचवर्षे कार्यकाल राख्दा त्यसै पनि कम चुनाव त हुने नै भयो । जति कमपटक चुनाव भयो त्यति जनताको इच्छा, सम्मति र निर्देश स्पष्ट हुन्छ भन्ने भनाइ त पक्कै खोजेको होइन होला । जनताको निर्देश थाहा पाउने तरिका के हो, एकपटकको सम्मति कहिलेसम्मलाई जस्ता प्रश्नको निर्क्योल अति आवश्यक भएको छ । एकपटकको निर्णय, सम्मति, सहमति वा कार्यक्रम चिरकाललाई हुँदैन रहेछ भन्ने कुरा त मुलुकका अगुवा (?) भनिएकाहरू आफैंले फलाक्दै छन् । केही समयअगाडिको आफ्नै कामको विपरीत काम गरिनु र त्यसको समर्थनमा दिइएका तर्क जनताले मानिदिनुपर्ने अवस्था कस्तो लोकतन्त्र हो ?

आन्दोलनरत सात दल र विद्रोहरत माओवादीबीचमा भारतीय भूमि र मध्यस्ततामा भएको बाह्रबुँदे सम्झौता नै आज मुलुकको राम्रो र नराम्रो दुवै अवस्थाको जिम्मेवार हो । यसैको जगमा भएको आन्दोलनले नेपालमा ठूलो परिवर्तन भयो । यसअघि भएको गरिएको सबै दोष बोकाएर मुलुकबाट राजतन्त्र बिदा गरियो । अरिष्ट ग्रह मन्छाएपछि सुदिन आउँछ, तर राजतन्त्रसँगै कुदिन बिदा भएनन् । बरु कुदिनको निमित्त मूलढोका नै खुल्यो । अनि त्यही बाह्रबुँदे समझदारीमा सहीछाप ठोक्नेहरू नै भन्न लागे– यो असान्दर्भिक भयो ।

राजाको अवशिष्ट अधिकारको गर्भबाट जन्मिएको पुनर्स्थापित संसद् नामको टिके संसद्ले गरेको घोषणालाई हाम्रा अगुवाहरूले नेपालको म्याग्नाकार्टा नाम दिए । त्यसले नेपाललाई धर्मनिरपेक्ष मुलुक भन्यो । धर्मनिरपेक्ष मुलुकले कुनै पनि धर्म अपनाउँदैन । सबै धर्मलाई समभाव राख्न त मुलुक धर्मनिरपेक्ष हुन आवश्यक नै थिएन । धर्मनिरपेक्षता अपनाउँदा राज्यले कुनै पनि धर्मप्रति आफ्नो अधिकार छोड्छ । संविधानले यसलाई संस्थागत पनि गऱ्यो, तर न राष्ट्रप्रमुखले हिन्दू समारोहमा औपचारिक अधिकार छोडे न राष्ट्रले विश्वभरिका हिन्दू आस्थाकेन्द्र श्री पशुपतिनाथको मन्दिरमा नाङ्गो हस्तक्षेप नै छोड्यो । सबै धर्मलाई एक समान व्यवहार गर्न निमित्त राज्यको जामेमस्जिदमा पहुँच छैन, कुनै चर्च वा गुरुद्वाराको प्रबन्धनमा राज्यको कुनै अधिकार र भूमिका छैन भने हिन्दू मन्दिरमा मात्र भूमिका र हस्तक्षेप हुनु भनेको आफूलाई हिन्दूराष्ट्र नै राख्नु हो ।

यसअघि भएको गरिएको सबै दोष बोकाएर मुलुकबाट राजतन्त्र बिदा गरियो । अरिष्ट ग्रह मन्छाएपछि सुदिन आउँछ, तर राजतन्त्रसँगै कुदिन बिदा भएनन् । बरु कुदिनको निमित्त मूलढोका नै खुल्यो । अनि त्यही बाह्रबुँदे समझदारीमा सहीछाप ठोक्नेहरू नै भन्न लागे– यो असान्दर्भिक भयो ।

अन्तरिम संविधान जारी भएको दिन नै त्यसको प्रति जलाएर आन्दोलन शुरु गरेको समूह आफ्ना कैयौँ समर्थकको प्राणको मोलले मुलुकको अग्रणी शक्तिमध्ये एक भएको छ । आफैंले जलाएको संविधानअन्तर्गत भएको चुनावपछि गठित सबै सरकारमा उसको निर्णायक उपस्थिति छ । त्यही संविधानको पालना र रक्षाको शपथ खाएको छ । यसलाई पनि एकपटकको निर्णय चिरकाललाई हुँदैन रहेछ भन्ने उदाहरण मान्न सकिन्न र ? आदत नै जस्तो वर्तमान संविधानमा पनि विरोध कायम राखेर सरकारमा ढलिमली गर्नु उनीहरूको निमित्त लोकतन्त्र भएको छ ।

लोकतन्त्रको परिभाषा संसारभर बदलिएको छैन । व्यक्तिगत स्वतन्त्रता, बहुलवाद, बहुसङ्ख्यकको शासन अल्पसङ्ख्यकको अधिकार रक्षा र सम्मान नै लोकतन्त्रको मर्म मानिएको छ । विधिको शासन संसारभरलाई लोकतन्त्र हो भने नेपाललाई चाहिँ दलका नेताहरूको मर्जी, हाम्राको संरक्षण, अनि विधिको शासन होइन, विधिले शासन लोकतन्त्र भएको छ । यहाँ विधिको शासन र विधिले शासन दुई कुरा आएका छन् । एकैजस्तो लागे पनि दुवै एक होइनन् । प्राकृतिक न्याय, नैतिकता अनि सर्वस्वीकार्यताको आधारले निर्धारित विधिले गर्ने शासन विधिको शासन हो । आफूलाई सजिलो बनाउन सत्ताधारीले औचित्यविहीन विधि परिवर्तन गर्दै गर्ने शासन भने विधिले शासन हो । त्यसैले आउनुस् खोजौँ लोकतन्त्रको सही अर्थचाहिँ के हो ?

प्रतिक्रिया