सात वर्षका कुरा एउटै गीतमा !

सात वर्षका कुरा एउटै गीतमा !


■ राजन घिमिरे, सिड्नी

भन्ने गरिन्छ कि १२ वर्षमा खोला फर्कन्छ, तर आफूलाई पहिचानको शिखरमा पुऱ्याएको र वाहवाही दिलाएको संगीत क्षेत्रमा फर्कन सुदिन पोखरेललाई १२ वर्ष कुरिरहनु परेन । साढे सात वर्षमै उनी नयाँ जोश, जाँगर, उत्साह–उमङ्ग बोकेर फर्किए । धेरैलाई थाहा नै छ– एक समय नेपाली टेलिभिजन प्रस्तोतासमेत रहेका सुदिनको ऱ्याप–संगीतमा जगजगी नै थियो ।

नेपालमा ऱ्याप भित्र्याउने र यस विधाप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने मामलामा सुदिनको राम्रै भूमिका छ । नेपालमा नाम र दाम राम्रै छापिरहेका सुदिन एक्कासी परिवारसहित अष्ट्रेलिया हानिए ।

उनी अष्ट्रेलियाको सिड्नी आएको पनि १० वर्ष बितेछ । सिड्नीमा कहिलेकांही यता हुने कार्यक्रम तिर पनि उनले उपस्थिति त जनाएकै थिए । तर, नेपालको मिडियामा ठूलो फ्रेममा ‘हायहाय’ भएका उनलाई सिड्नीको सीममत फ्रेममा उकुसमुकुस भएको थियो ।

आफ्नो क्षेत्रमा विशिष्टता हांसिल गरेका र एउटा उचाई बनाएका यी सर्जक प्रवासमा करिव ७ वर्ष गुमराहमै रहे । गीत–संगीत क्षेत्रमा केही गर्ने सोच त थियो तर प्रवासको बसाई त्यति सजिलो कहाँ हुन्छ ? जे भएता पनि ढिलो आयो तर कडा आयो भने जस्तो सुदिनको ७ वर्षभन्दा बढीको ‘गुमनाम’ अवस्था बुधबार (२५ डिसेम्बर २०१९) देखि भङ्ग भएको छ । उनले आफ्ना प्रशंसकहरू खुशी हुने र उनीहरूको चाहलाई मनन गर्दै ७ वर्षपछि ‘जोश…’ बोलको ऱ्याप गीत ल्याएर अब आफूलाई निरन्तरता दिने कार्यको शुरूवात गरेका छन् । ‘अब हराउँदिनँ । चाहना हुँदाहुँदै पनि विविध कारणले आफ्नो क्षेत्रमा पुनरागमन दिन सकेको थिइनँ, तर अब पहिले जस्तो ग्याप हुने या हराउने छैन’, सिड्नीमा भेटिएका सुदिनले भने ।

उनले आफ्नो पछिल्लो गीतमा ७ वर्षका कुरा बोलेका छन् । त्यो सात वर्षका यात्रा, मनोभावना पोखेका छन् । यो पनि भन्न सकिन्छ कि यो गीत उनको सात वर्ष प्रवास बसाइको अनुभव र उनको बारेमा उठ्ने टीका–टिप्पणीहरूको पोको पनि हो ।