काङ्ग्रेस यथास्थितिमै !

काङ्ग्रेस यथास्थितिमै !


दशैँको अवसरमा नेपाली काङ्ग्रेसद्वारा आयोजित चियापान कार्यक्रममा सरिक हुँदै गर्दा सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ठट्टाको लवजमा भनेका थिए– ‘यो देशको प्रमुख प्रतिपक्षी दल कहाँ गएछ भनी म त खोज्न आएँ..!’ दुई वर्षअघि सम्पन्न आमनिर्वाचनपछि झन्झन् ओह्रालो लागेको, लगातार कमजोर बनिरहेको काङ्ग्रेसको अवस्थाप्रति प्रमुख प्रतिस्पर्धी दलका नेताको त्यो गम्भीर कटाक्ष थियो । ठट्टा शैलीमा अभिव्यक्त भए पनि खनालको उक्त अभिव्यक्तिभित्र गम्भीर यथार्थ निहित थियो । यदि काङ्ग्रेसी नेतृत्वमा इख थियो भने त्यसबाट ठूलै पाठ सिकेर आफूलाई सच्याउँदै, तिखार्दै आजसम्म आइपुग्दा पार्टीलाई एक प्रखर प्रतिपक्षीको रूपमा उभ्याइसक्नुपर्ने थियो । आफ्ना कार्यकर्तालाई जागृत तुल्याउने मात्र नभई ‘काङ्ग्रेसले अबचाहिँ केही गर्छ’ भन्ने भाव आमनेपाली जनतामा जगाउन सक्नुपथ्र्यो । तर, काङ्ग्रेस जहीँको तहीँ छ । अझ आलोचकहरू त यो दल थप ओह्रालो यात्रामा चलिरहेको देख्छन् ।

वास्तवमा कम्युनिस्ट पार्टीको अप्रत्यासित लहर उठेको परिवेशमा भएको चुनावमा नेपाली काङ्ग्रेस परास्त हुनुलाई त्यति अस्वाभाविक रूपमा लिइएको थिएन । सत्तामा रहे मात्र कुनै पनि दलको अस्तित्व जोगिने भन्ने त होइन । अस्तित्व जोगाउने, पार्टीलाई अझै सशक्त पार्ने र आफ्नो प्रखरता पुष्टि गरेर जनताको हृदयमा स्थान बनाउने सवालमा त सत्तामा भन्दा प्रतिपक्षमा रहँदा नै ज्यादा भूमिका निर्वाह गर्न सकिन्छ भन्ने राजनीतिशास्त्रीको मत छ । तर, कैयनको आशाविपरीत प्रतिपक्षीय जिम्मेदारी निर्वाहमा काङ्ग्रेसले आफूलाई लज्जास्पद ढङ्गले असफल साबित गरिसकेको यथार्थ हाम्रासामु छ ।

विडम्बना त के भने आन्तरिक तथा बाह्य समुदायको दृष्टिमा यसरी खस्किँदा पनि काङ्ग्रेस नेतृत्वमा आफ्नो इतिहास, औकात र अवस्थाप्रति चेत रहेको अनुभूति गर्न सकिएको छैन । पछिल्लो अढाई दशक अवधिमा जसरी गुटगत स्वार्थ मौलायो, जसरी नेता तथा अगुवा कार्यकर्तामा देश होइन आफूचाहिँ बन्नैपर्छ भन्ने दुर्भावनाले घर गऱ्यो, जुन हिसाबले नाता–कृपा र चाकडीवादलाई प्रश्रय दिइयो, भ्रष्टाचारको संस्कृतिलाई जुन गतिमा अघि बढाइयो, राष्ट्रको मौलिकता, धर्म–परम्परा, संस्कार–संस्कृतिलाई मेटाउन जुन हदसम्म भूमिका खेलियो, यसको समग्र पुनरावलोकन गरी काङ्ग्रेसले प्रायश्चित गर्दै सच्चिएर अघि बढ्ने प्रयत्न गर्ने अपेक्षा राष्ट्रप्रति संवेदनशील तप्काले राखेको थियो ।

दुर्भाग्यपूर्ण छ कि काङ्ग्रेसले अब यस्तो सम्भावनाको ढोका लगभग पूरै बन्द गरिसकेको छ । ऊ न आफ्नो मौलिक विशेषतामा फर्कने सोचमा छ न त नयाँ राजनीतिक माहोलमा आफ्नो वर्चश्व स्थापित गर्ने क्षमता नै राख्दछ । देशको सत्ता हातमा नरहे पनि पार्टी–सत्तामा पकड जमाउन, पदीय हैसियत हात पार्न अन्धाधुन्ध कसरत गरिरहेछन् काङ्ग्रेसी अगुवाहरू । फगत ‘सत्ता–शक्ति’को निम्ति मरिहत्ते गर्ने चरित्रले ऐतिहासिक दलको छवि त धुमिल भएकै छ, इतिहासकै कमजोर अवस्थामा काङ्ग्रेस पुगेबाट मुलुकसमेत गैरप्रजातान्त्रिक शासनको दलदलमा धसिएर तहसनहस हुने दिशातर्फ उन्मुख हुँदै छ ।

मुलुकमा नयाँ संविधान जारी भएकै चार वर्ष बितिसक्यो, तर संविधानअनुसार पार्टीको विधान बनाउन सकेको छैन काङ्ग्रेसले । सर्वसहमति जुटाएर विधान संशोधन गर्ने र पार्टीलाई चुस्त–दुरुस्त तुल्याएर अघि बढ्नुपर्नेमा काङ्ग्रेस नेतृत्व कसरी पार्टी कब्जा गर्ने, कसरी आफ्नालाई नेतृत्वमा स्थापित गर्ने भन्नेमै तल्लीन देखिएको छ । संस्थापन पक्ष भनिएकाहरूमा मात्र नभई असन्तुष्ट पक्षधरमा पनि सोही भावना प्रचुर रहेबाट काङ्ग्रेस अब गुटगत झमेलामै अल्झिएर पूरै भुत्ते र अन्ततः नामेट नै हुने त होइन भन्ने आशङ्का गर्न थालेका छन् यसका इमानदार कार्यकर्ता तथा शुभचिन्तकहरू ।

यतिबेला जारी काङ्ग्रेस केन्द्रीय समितिको बैठक गुटगत स्वार्थको रस्साकस्सीकै कारण विभिन्न व्यवधान वा अवरोधको सिकार बन्न पुगेको छ । बेलैमा महाधिवेशन गराउनेतिर नलागी जसरी हुन्छ समय गुजार्ने र कृत्रिम सङ्कट निम्त्याएर त्यसकै जगमा पद थमाउने निकृष्ट खेलमा मूल नेतृत्व रमेको र असन्तुष्ट पक्षका नेताहरू पनि पार्टीको समष्टिगत सुधारमा नभई आफ्नो स्थान सुरक्षित गर्ने प्रयत्नमा जोड लगाइरहेको अवस्थाले यो पार्टी सच्चिने दिशामा नरहेको स्पष्ट नै छ । अन्ततः भागबन्डाको एउटा बिन्दुमा पुगेर नेताहरूले हात मिलाउने र कार्यकर्ता तथा आमशुभचिन्तक हेरेको हेऱ्यै हुने काङ्ग्रेसको नियति हो । यसबाट उक्त दलका कार्यकर्ताले त केही पाउँदैनन् भने देशलाई उपलब्धि हासिल हुने त कल्पनाबाहिरकै कुरा हो ।