‘चेली’ बचाउन ‘हेली’ अभियान

‘चेली’ बचाउन ‘हेली’ अभियान


नेपाली चलचित्र बिर–बिक्रम २ युरोपभित्र प्रदर्शन गरिने भएको छ । ‘चेली’ बचाउन ‘हेली’ अभियानको उद्धेश्य लिएर सुपर हिट नेपाली चलचित्र बिर–बिक्रम २ युरोपको बिभिन्न शहरमा प्रदर्शनमा ल्याउन लागिएको हो ।

नेपालका दुर्गम क्षेत्रका गर्भवती महिलाहरुको समयमै उपचार नपाई प्रसुती हुन नस्कदा हुने मृत्‍युदरलाई कम गर्न हेलिकप्टर किन्ने अभियान थालिएको हो । हरेक बर्ष दुर्गम पहाडी जिल्लाका विकट बस्तीका गर्भवती महिलाहरु यातायात सुविधा नभएकै कारण मर्ने गरेका कारण बीर – बिक्रम २ युरोप यात्रामा च्यारिटी शो का लागि निस्किन लागेको हो । घरआगन नेपाल सहयोगका लागि अपिल गर्दै युरोपको पोर्तुगल, स्पेन, पोल्यान्ड, बेल्जियम लगायतका देशहरुमा चलचित्र प्रदर्शन गरेर आर्थिक सहायता जम्मा गर्ने संचारकर्मी बासु सत्यालले बताएका छन् । चलचित्र बिर–बिक्रम २ संचारकर्मी सत्यालको अग्रसरतामा युरोपमा प्रदर्शनमा ल्याउन लागिएको आयोजकले दावी गरेको छ ।

नेपालका रमणिय स्थलहरुमा छायांकन गरिएको उक्त चलचित्रलाई मिलन च्याम्सले निर्देशन गरेका छन् । युरोपमा प्रदर्शन हुने बिर बिक्रम २ मा चर्चित कलाकार नाजिर हुसैन, पल शाह, बर्षा शिवाकोटी लगायतको उत्कृष्ट अभिनय रहेको आयोजकले जनाएको छ । पोर्तुगलस्थित ‘रिनजिन ट्राभल एन्ड टुर’ को मुख्य प्रायोजन रहेको चलचित्रलाई आगामी सप्ताह लिस्बन लागायत पोर्तुगलका बिभिन्न शहरमा प्रदर्शन गरिने रिनजिन ट्राभल्सका डाइरेक्टर कुमार घलानले जानकारी दिए ।

युरोपमा चलचित्रको मिडिया पार्टनरको जिम्मेवारी ‘भोइस अफ नेपाल टिभी’ र ‘नमस्ते नेपाली डट कम’ले पाएका छन् ।