इमरान खानका भतिजको घर पाकिस्तानी प्रहरीद्वारा खानतलासी

इमरान खानका भतिजको घर पाकिस्तानी प्रहरीद्वारा खानतलासी


पाकिस्तानको प्रहरीले प्रधानमन्त्री इमरान खानका भतिजको घरमा खोजतलास गरेको छ । एक दिनपहिले लाहोरको एक अस्पतालमा भएको हुलदङ्गाको भनिएको भिडियोमा प्रधानमन्त्रीका भतिज देखिएपछि प्रहरीले लाहोरमा खानतलासी गरेको हो ।

खानतलासीको समयमा हसन नाइजी घरमा भने नभएको बताइएको छ । चिकित्सकहरूसँगको विवादपछि करिव २०० वकिलहरूको सहभागितामा ‘पञ्जाब हार्ट इन्स्टिच्युट हस्पिटल’मा गत बुधबार भएको आन्दोलनमा वकिल पेशा भएका खानका भतिज नाइजीको पनि सहभागिता भएको शुक्रबार सार्वजनिक भिडियोमा देखिएको थियो ।

प्राप्त समाचार अनुसार वकीलहरूको आन्दोलनमा नाइजीको सम्लग्नता रहेको भए पनि आन्दोलनले हिंसात्मक रूप लिएपछि उनी उक्त भीडबाट पछि हटेका सञ्चारमाध्यमहरूले जनाएका छन् । नाइजीले वकीलहरूको शान्तिपूर्ण आन्दोलनमा आफ्नो समर्थन दर्शाउन अस्पताल परिसरमा पुगेको स्वीकार गरेका एएफपीले जनाएको छ । तर उनले उक्त आन्दोलनको भावनाविपरीत हिंसात्मक रूप लिएको भन्दै यसमा सहभागी भएकोमा आत्मआलोचना गरेका छन् ।

घटनामा प्रदर्शनकारीले अस्पतालका सामान तोडफोड गर्नुका साथै प्रहरीको सवारी साधनमा समेत आगो लगाइदिएका थिए । प्रहरीले शनिबार प्रधानमन्त्रीका भतिजको घरसहित विभिन्न पाँच स्थललाई खोजतलास गरेको थियो । खोजतलासबारे प्रहरीले पुष्टि गर्दै भनेको छ, ‘घटनामा संलग्न जो–कोही पनि पक्राउ पर्ने र अनुसन्धानको दायरामा आउनेछन् । अनुसन्धानमा निर्दोष भेटिएमा उनीहरूलाई छिट्टै छोडिनेछ ।’