सुडानका पूर्वराष्ट्रपति बसिरलाई नजरबन्द राख्न आदेश

सुडानका पूर्वराष्ट्रपति बसिरलाई नजरबन्द राख्न आदेश


सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्वराष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई वर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ । उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न अदालतले सजाय सुनाएको हो ।

‘आफ्नो कार्यकालमा पदको दुरूपयोग गरी अकुत विदेशी मुद्रा आर्जन गरेको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा अदालतले पूर्वराष्ट्रपति अल–बसिरलाई दोषी ठहर गरेको छ,’ न्यायाधीश अल–सादिक अब्देल रहमानले अदालतको निर्णय यसरी सुनाएका एएफपीले जनाएको छ ।

‘अदालतले उहाँलाई दुई वर्ष सामुदायिक सुधार केन्द्रमा पठाउने सजाय गरेको छ । सुडानको कानूनअनुसार कुनै पनि ७० वर्ष काटेको नागरिकलाई जेल सजाय गर्न मिल्दैन । त्यसैले उहाँलाई सामाजिक सुधार गृहमा नजरबन्दमा राख्नसक्ने निर्णय सुनाएको हो’– रहमानले बताए ।

पचहत्तर वर्षीय बसिरले उनमाथि लागेको अर्को मुद्दा (जुन अदालतमा विचाराधीन अवस्थामा छ) माथि सुनुवाईपछि हुने फैसलापछि नजरबन्दको सजाय शुरू हुनेछ । भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिई निर्दोष नागरिकको हत्यामा सम्लग्नता रहेको भन्दै बसिरमाथि दोस्रो मुद्दा पनि लागेको छ ।

गत अप्रिलमा बसिरलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो ।