डा. शिवमायालाई सभामुख बनाउन मौलिक जरोकिलोको माग

डा. शिवमायालाई सभामुख बनाउन मौलिक जरोकिलोको माग


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्ने समाचार सार्वजनिक भइरहेको परिवेशमा मौलिक जरोकिलो पार्टीले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन माग गरेको छ ।

सो पार्टीको महिला विभागले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तुम्बाहाम्फेलाई नै सभामुख बनाउन माग गरेको हो । बलात्कारको आरोप लागेर सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा गराउनु भनेको एउटाको अपराधको सजाय अर्कोलाई दिनु जस्तै हो, जुन घोर अन्यायपूर्ण हुने जरोकिलोकी महिला विभाग संयोजक हिराकुमारी लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्कैले गरेको अपराध र एउटै पार्टी तथा लिङ्गका सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक व्यवस्थाको कारण डा. तुम्बाहाम्फेलाई पद छोड्न बाध्य पारिनु राजिनामा नभई ‘जवरजस्तीनामा’ हो भन्ने आफ्नो पार्टीको ठहर रहेको हिराकुमारीले जनाएकी छिन् । उपसभामुखको कार्यसम्पादनको मुल्याङ्कन गरी तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु न्यायसङ्गत हुने मौलिक जरोकिलो पार्टीको धारणा रहेको विज्ञप्तिमा जोडदार रुपमा उल्लेख गरिएको छ ।