फेसबुकको दुरुपयोग

फेसबुकको दुरुपयोग


■ ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

पङ्क्तिकारले फेसबुकमा खाता खोलेको १०–१२ वर्षजति भयो हाला । यसबीचमा फरक–फरक समयमा गरी झन्डै १० हजारजति फ्रेन्ड भए होलान् । दुईपल्ट त ५–५ हजार भएर नामहरू कटाएर जिरोबाट शुरु गरे भने केहीले पासवर्ड चोरेर जे पनि गरिदिएकाले २–३ पल्ट पासवर्ड फेरेर यही नाममा अर्कै खाता खोलेँ । जसले गर्दा आदरणीय कवि रमेश खकुरेल, कोषराज नेउपाने आदि अहिलेको कनेक्सनमा हुनुभएजस्तो लागेन । भएकामा चन्द्रमणि गौतम, डा. रामप्रसाद ज्ञवाली, रामचन्द्र घिमिरे, चन्द्रप्रसाद नेउपाने, विजयराज नेउपानेजस्ता केही दिग्गजहरूका सामग्री पठनीय लाग्छन् । अरू केही नामहरू पनि हुन सक्छन् । अहिले मैले नसम्झेको पनि हुन सक्छु । अहिलेचाहिँ ग्वाँगाहरूको लेखाइप्रति टिप्पणी गर्ने जमर्को गरेको छु । किनकि, फेसबुकमा केहीबाहेक धेरैजसो नपढेका ‘गँवार’हरूको बोलवाला चल्दोरहेछ ।

फेसबुक वालमा केहीले शिवलाई बलात्कारी लेखेको पाइयो । तिनका ‘प्रदूषित’ आँखाले कुमार सम्भव पढेको भए त्यहाँ के लेखिएको छ, त्यो थाहा हुन्थ्यो । शिवजीले प्रथम पत्नी सतीदेवी मरेपछि महिनौँ कुहिएको लास बोकेर हिँडेका थिए । यो उनको पत्नीप्रेम कति थियो भन्ने प्रमाण हो । सतीदेवीको निधनले व्याकुल भएका शिवमा वैराग्य उत्पन्न भई जङ्गल पसेका थिए । पछि पार्वतीले थाहा पाएर उनी जुन जङ्गलमा गई बस्छन्, उतै पार्वती पनि गइन् । सांसारिक विषयमा फर्काउन अनेक चेष्टा गरिन् । नसकेपछि शिवजीका छेउमा नाङ्गै बस्ने, नुहाउने, गुप्ताङ्ग खेलाउने अनेक गरिन् । बल्ल शिवमा यौनचेष्टा आयो । र बिहा गरे । भविष्यमा कसैलाई यस्तो स्थिति नआओस् भनेर पार्वतीको योनिमा शिवजीको लिङ्गसहित खोपिएको पशुपतिनाथले नामाङ्कन गरी मन्दिर निर्माण गरेका हुन् ।

शिवको डमरु बजाउने कलाबाट अ,उ,ण,लृ आदि वर्ण बनेका हुन् । आजको विश्वको सम्पूर्ण अक्षरका सृष्टिकर्ता नै शिवजी हुन् । अर्कोतिर उनी नाच र गायनमा निपुण थिए, वेदका कैयौँ मन्त्रहरू शिवबाटै रचित थिए । यसर्थ शिवजी नै बह्माण्डका प्राणीका लागि भाषाका उत्पत्तिकर्ता थिए । ज्ञातव्य नै छ कि पार्वतीले शिवसित बिहा गर्दा कुमार कार्तिकेय छोरा पनि थिए । शिवले पार्वतीको छोरालाई सहजै स्वीकार गरेका थिए भने शिवजी आर्यन र पार्वती मंगोलियन थिइन् । उनीहरूको अन्तर्जातीय विवाह भएको थियो । केही पुरेत पण्डाहरूले शिवलाई बङ्ग्याएर नकारात्मक बनाएका हुन् । त्यस्ताका पछि लागेर शिवलाई बलात्कारी भन्ने कति स्वाँठ होलान् ? बताइरहन परेन ।

भर्खरै एउटा तथाकथित सिद्धबाबा नामधारी र महरा केसमा मथुराधीश श्री कृष्ण, जसलाई द्वैपायन पनि भनिन्छ लाई पनि बलात्कारी अर्थात् १६०० गोपिनी खेलाउनेका रूपमा चित्रण गरेको पाइयो । तथ्य नखोजी हावाका पछि कुद्नेले के बुझ्नुपथ्र्यो भने एउटा व्यक्तिले समान रूपमा १६०० महिला भोग गर्न सक्छ ? श्री कृष्ण पनि मानिसै हुन्, हाम्रैजस्तो जन्म थियो र मरण पनि । उनको जीवनशैली अत्यन्त साधारण भए पनि लेख्नेले अनेक लेखिदियो । उनलाई गोपिनीसितको आरोप लगाउनेले के बुझ्न जरुरी छ भने श्री कृष्णले मामा कंश मार्नुअघि गोपिनीहरूसित राशलीला गरे भनेर कसैले भागवत्मा थपेको मात्र हो । यहाँनेर पत्याउन नसकिने के कुरा छ भने श्री कृष्णले कंशलाई मार्दा उनको उमेर जम्मा ११ वर्षको मात्र थियो । अब भन्नुस् १० वर्षको मान्छेमा कुन यौन चेतना हुन्छ र राशलीला गर्छ ? यस्ता वाहियात कुरा लेखेर दुनियाँलाई रनभुल्लमा पार्नु कति ठूलो अपराध होला ? अर्कोतिर श्री कृष्णले ४ रानी राखेका थिए भन्ने अफवाह फैलाइएको छ । कतिले त राधासित पनि …..थियो भनेर लेखेका छन् । राधालाई श्री कृष्ण मन पराउँथे, यो सत्य हो । तर, श्री कृष्ण जन्मनुअघि नै राधाको अर्यनसित विवाह भइसकेको थियो ।

चलनचल्तीको भाषामा भन्नुपर्दा श्री कृष्णभन्दा राधा १२ वर्ष जेठी थिइन् । राधाले कहिल्यै श्री कृष्णलाई मन पराइनन् । उनीहरूबीच प्रेम पनि थिएन । श्री कृष्णको नारीप्रति कस्तो समानताको भाव थियो भने द्रौपदीलाई सभा भवनमा कौरवहरूले नङ्ग्याएपछि पाँच पाण्डवहरूलाई श्री कृष्णले यति हप्काए कि, नारीमाथि यस्तो अभद्रता हुँदा पनि तिमीहरू बडेबडेमाका तिघ्रा लिएर के बाँच्छौ ? नारीमाथि गरिएको अपमानले श्रीकृष्णले भीष्म, द्रोण, कृपाचार्यहरूलाई खासै मानमनितो गरेनन् । महाभारतमा श्रीकृष्णकी एक मात्र पत्नी छन्, जसको नाम रुक्मिणी थियो । यसबाहेक अरू पत्नी थपेका पछिकाले हो । भागवतमा पनि वेदव्यासले लेखेभन्दा कैयन् कथाहरू थपिएका छन् । महाभारतमा लगभग ४० हजार श्लोक थपिएका छन् । तसर्थ यो पूरै हावादारी कुरा हो । श्रीकृष्ण, गौतम बुद्ध र कार्लमाक्र्समा धेरै समानता पाइन्छ । युगअनुसार केही अन्तर हुनु स्वाभाविकै हो । श्रीकृष्णले कर्म र योगलाई बढी जोड दिएका छन् । बुद्धले करुणा र अहिंसालाई, अनि मार्क्सले मानवीय न्याय र समानतालाई । यी तीनैजनाका दर्शनमा दुईतिहाइ विश्व अडेको छ । श्री कृष्णबाट प्रतिपादित भागवत् गीता मात्रै वार्षिक डेढ करोडको हाराहारीमा बिक्री हुने गर्छ ।

गीता सानो पुस्तक भए पनि यसलाई पार लगाउन मै हुँ भन्नेलाई पनि कठिन पर्छ । अर्कोतिर श्री कृष्ण गोठालाका प्रतिनिधि हुन्, गरिबको छोरो महान् भएको हेर्न नसक्ने सामन्ती वर्गले श्री कृष्णमाथि अनेक लाञ्छना रच्यो, त्यसलाई अनुशरण गर्ने सामन्ती अवशेष अझै हुनुमा दुःखद कुरा भएको छ । जसले जे लेखे पनि पत्याइहाल्ने हावादारी फेसबुके स्वाँठहरूप्रति भने दया लागेर आउनुबाहेक मसित विकल्प पनि छैन । कसैको पनि जीवनदर्शन उसका कृतिमा हुन्छ, श्री कृष्णको जीवनदर्शन गीता हो । गीताले यी स्वाँठहरूको के कुभलो चिताउँछ कुन्नि ? कृष्ण त यति प्रगतिशील थिए, त्यसबेला पनि उनले जगत् अनित्य हो भनेका थिए भने पृथ्वीको सबभन्दा उँचा भागलाई स्वर्ग ठान्थे । श्री कृष्णले भनेका पनि छन्– अधिआत्मबाट अध्यात्म भएको हो, आत्मको चिन्तन गर्ने प्रणाली अध्यात्म हो । जस्तो मगजले वा आत्म (मन)ले चिन्तन गर्छ, त्यो अध्यात्म भयो, त्यसलाई बाहिरी आवरणले सुरक्षा दिन्छ त्यो भौतिक भयो । अतः मनमस्तिकहरू अध्यात्म भए भने खप्परको हड्डी, छातीको करङचाहिँ भौतिक भए । गीताले जगत्लाई बुझ्न यति सरल बनाएको छ कि दुःखको कारण नै काम, क्रोध, मोह, दम्भ मात्र हो । त्यो हटाउनेबित्तिकै दुःखको लेस पनि बाँकी रहँदैन । यति बुझे काफी छ । मरेका मानिसलाई लाञ्छना लगाउने अपराधी जत्थाबाट समाजले के सिक्ने ?

वास्तवमा दोष लगाउनेले प्रमाण दिन सक्नुपर्ने हो । कि त आँखाले देखेको हुनुपर्ने हो । एकपल्ट एकजना हावादारी लेखकले मलाई पागल भयो भनेर पत्रिकामा लेखेछन्, तत्कालै सम्पादकले थाहा पाएर उनलाई निष्कासन गरेछन्, अर्का हावादारी मार्क्सवादी भनाउँदाले मलाई वरिष्ठ प्रगतिशीलले घाँस खायो भन्ने शीर्षकमा गिरिजाले घर, गाडी र सुविधा दिएको भनेर लेखेछन् । त्यतिबेला म गिरिजाको कट्टर विरोधी थिएँ । गिरिजाप्रसादले सामान्य मतभिन्नता राख्नेलाई त खँदार्थे भने म दुस्मनलाई कसरी घर, गाडी दिए होलान् ? आफैं अनुमान गर्नुहोस् । एउटा एफएमबाट भावक अभियान कार्यक्रममा मलाई पारसको समर्थक भनेर उल्लेख गरे

अझ केही वर्षअघि यही फेसबुकमा एकजनाले मलाई बिहे गरेर स्वास्नी कुटेर खेदे भनी लाञ्छित गरेका रहेछन् । एक हप्ताभरि मलाई हाँसो उठिरह्यो । ए बाबा अविवाहित मान्छेले कसकी स्वास्नी कुटो होला ? अस्ति भर्खरै मलाई महिला हिंसा गरेको आक्षेप लगाइयो । गाउँमा सासूले बुहारीलाई दिएको यातना हेर्न नसकेर गाउँ छाडेको मान्छेलाई हिंसा गरेको आरोप लगाउनु कति ठूलो अपराध होला ? मैले बिहे गरेर थिचोमिचो गरेको भए वा आइमाईहरू अघिपछि लाएर कुकर्म गरेको भए त केही थिएन, तर गर्दै नगरेको काम गरिस् भनेर दोष लगाउनु कम ठूलो अपराध थिएन । अझ एउटा कम्युनिस्ट भन्नेले त मलाई शेरबहादुर देउवाको दलाल होस् भनेर लेखेछ । होइन जुग–जमाना कस्तो आएछ, मैले देउवाको समर्थन धरी गरेको छैन । २०४८ चैत २४ गते भएको दमनलाई चर्को विरोध गरेर लेख्ने मै थिएँ, त्यहाँ देउवालाई केसम्म लेखेको छ, ती अरिँगालले एकपल्ट हेरे पुग्छ ।

हो म बीपी, किसुनजी र गणेशमान सिंहप्रति अत्यन्त सद्भाव राख्छु, साथै पुष्पलाल, मनमोहन, मदन भण्डारी, रोहित, मोहनविक्रमप्रति पनि सद्भाव राख्छु । अहिले मलाई गगन थापा, गोकर्ण विष्टजस्ता मान्छेहरू मन पर्छ । म गुण–दोषका आधारमा मूल्याङ्कन गर्छु । सामान्य हिसाबले अहिले मलाई अरूभन्दा काङ्ग्रेसका रामचन्द्र पौडेल र एमालेका माधवकुमार नेपाल ठीकै लाग्छन् । उनीहरू अब्बल छन् भन्नेचाहिँ म ठान्दिनँ । यी फेसबुके हल्लनटाठहरूले जसलाई जे पनि आरोप लाउँदारहेछन् भन्ने यसैबाट बुझिन्छ । जिउँदैमा त यस्तो आरोपको खेती गर्दारहेछन् भने मरेका शिव, कृष्णमाथि नगर्ने कुरै भएन । यो फेसबुकमाथि सर्वेक्षण पनि हुँदो रहेनछ, जसलाई पनि फेसबुकमा खाता खोल्ने अनुमति दिनाले पनि यस्तो भएको हो । देश र समाजप्रति चिन्तन नभएका लाउकेहरूलाई फेसबुकले खाता खोल्न छुट दिनु यो कम्पनीको पनि अपराधै हो । यी सबैको पाप यो कम्पनीको मालिक वा सञ्चालकलाई लाग्नुपर्छ । होइन भने यस्ता अन्टसन्ट मानिसलाई फेसबुके कम्पनीले किन अनुमति दिन्छ ? कसैले आरोप गर्नेबित्तिकै किन स्पष्टीकरण लिँदैन ? के हामीजस्ता निरीह मानिसले यो कम्पनीका माध्यमबाट ताडित भइरहने ? फेसबुक कम्पनीको यसप्रति दृष्टि जाओस् र हामी अन्यायमा पर्नेले न्याय पाऔँ भनी यति लेखेँ, जदौ ।