चितवनको निर्वाचन परिणाम : प्रचण्डदेखि शेरबहादुरसम्मलाई गतिलो पाठ

चितवनको निर्वाचन परिणाम : प्रचण्डदेखि शेरबहादुरसम्मलाई गतिलो पाठ


■ रमेश बस्ताकोटी

हालै सम्पन्न उपनिर्वाचनमा चितवनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पराजय ब्यहोरेपछि यो विषय विशेष चर्चामा छ । देशभरिको परिणामलाई हेर्दा प्रमुख विपक्षी नेपाली काङ्ग्रेसभन्दा दोब्बर सिटका साथ नेकपा अघि रहेको भए पनि चितवनमा भएको पराजयको विषयलाई लिएर नेकपाभित्र गम्भीर चर्चा र बहस भएको छ । यो पटकको उपनिर्वाचनमा चितवनमा चुनाव भएका तीन वडामध्ये तीनवटै वडामा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ । खासगरी भरतपुर १६ मा आएको चुनावी नतिजाले नेकपाका धेरै नेता र कार्यकर्ताहरूको ध्यान खिचेको छ ।

उक्त वडा पहिले एमाले एक्लैले जितेको स्थान हो । पार्टी एकतापछि अहिले चुनाव हुँदा काङ्ग्रेसका अमृत हमालले ३८६ मतको अन्तरले नेकपाका उम्मेदवार भक्तबहादुर हमाललाई हराए । यसपछि अहिले चितवनका नेकपाका नेता कार्यकर्ताहरू पार्टी एकताको अर्थ खोजिरहेका छन् । निर्वाचनमा भएको पराजयपछि नेकपाका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमा व्यक्त गरेको भावनापछि सोझै बुझ्न सकिन्छ कि चितवनको पराजयलाई उनीहरूले ‘आत्मघाती गोल’को रूपमा बुझेका छन् ।

सामाजिक सञ्जालमार्फत् धारणा राख्ने अधिकांश नेता–कार्यकर्ताको भनाईको एउटै अर्थ लगाउन सकिन्छ– पार्टी एकता भएपनि चितवनका नेता कार्यकर्ताहरू मनैदेखि एकीकृत हुन सकिरहेका छैनन् । खासगरी पुर्वएमालेबाट आएका नेता–कार्यकर्ताहरूले पार्टीभित्रको अन्तर्घात, गुटगत समस्यालगायतका कारण चुनावमा पराजय भोग्न परेकोप्रति सङ्केत गरेको पाइन्छ । यसको एउटै कारण छ नेकपा चितवनभित्र प्रचण्ड पक्षधर अर्थात् पुर्वमाओवादी केन्द्रबाट आएका कार्यकर्ताहरूको हालीमुहाली हुनु । पार्टी एकता गर्ने क्रममा प्रचण्डको गृहजिल्ला भएका कारण उनीनिकट धेरै नेता–कार्यकर्ताहरू महत्वपूर्ण पदहरूमा समेटिएका छन् । यसले पुर्वएमालेबाट आएका नेता कार्यकर्ताहरू खुशी छैनन् । चितवनमा पुर्वएमाले र तत्कालीन एमालेका भातृसङ्गठनहरू बलिया थिए, तत्कालीन माओवादी केन्द्र कमजोर अवस्थामा थियो तर पनि पार्टी एकता हुँदा महत्वपूर्ण पदजति सबै प्रचण्डको गृहजिल्ला भएको नाममा प्रचण्ड पक्षधरहरूलाई परेपछि त्यसले नेकपाभित्र एक तहको असन्तुष्टि थियो । यो पराजयको एउटा कारण यो पनि हो ।

यति मात्र होइन नेकपाका कार्यकर्ताहरूमा देखिएको दम्भ र सत्ताको उन्माद पनि चितवनमा नेकपाका उम्मेदवारहरू पराजय हुनुको कारण हो । दम्भ र उन्माद यति बढेको थियो कि यसले सीमा नाघिसकेको थियो । सामाजिक सञ्जालहरूमा नेकपाका नेता कार्यकर्ताहरूले व्यक्त गर्ने उरन्ठेउला धारणाहरू र टिप्पणी पनि नेकपा पराजयको कारण हो । नेकपाका नेता कार्यकर्ताहरूको यस्तो प्रवृत्ति तटस्थ बस्न रुचाउने मानिहरूलाई मन परेको थिएन । उनीहरू नेकपा नेता कार्यकर्ताहरूको यो दम्भ र सत्ताको उन्मादलाई जवाफ फर्काउन चाहन्थे त्यसैको परिणाम हो चितवनको नेकपाको पराजय ।

हुन त यो वडाको निर्वाचन हो, केन्द्रीय सत्ता राजनीतिमा यसले कुनै प्रभाव पार्दैन तर पनि यसले नेकपालाई भने गतिलो पाठ सिकाएको छ । भरतपुर १६ नेकपा अध्यक्ष प्रचण्ड र उनकी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसँग जोडिएको प्रतिष्ठाको विषय पनि थियो । त्यसकारण उनीहरू भरतपुर–१६ गुम्न दिन हुन्न भन्नेमा लागिपरेका थिए । त्यसैका लागि भनेर स्वयम् अध्यक्ष प्रचण्डको पटक–पटकको चितवन दौडाहा चलेको थियो । उनको चुनावी सभामा सहभागिता थियो भने सांसद तहका जनप्रतिनिधि निरन्तर निर्वाचनको प्रचारमा खटेका थिए । तर यो नेकपाको लागि प्रत्युत्पादक सावित भयो । मतदाताहरूले नेकपा बेस्सरी आत्तिएको रुपमा यसलाई बुझे र त्यसपछि पर्न गएको मनोवैज्ञानिक असर पनि पराजयको अर्को कारण हो । निकै लामो विवादपछि भरतपुर महानगरको मेयरमा चुनिएकी प्रचण्डपुत्री रेनु दाहाल मेयर भएपछि जनताका अपेक्षा नेकपासँग हुनु स्वभाविक हो । तर अपेक्षाअनुसार मेयर दाहालले काम गर्न सकिनन् यसले स्थानीय सरकारप्रति जनताको विश्वास गुम्यो, अर्थात् उनीहरूले नेकपालाई भरोसाको साथी मान्न सकेनन्, त्यसको सिधा असर निर्वाचनमा परेको कुरालाई नकार्न मिल्दैन ।

यो पटकको निर्वाचनमा जसरी पनि जित्नैपर्ने दबाबमा चितवन काङ्ग्रेस थियो । यसअघि कहिले हँसिया हथौडा त कहिले हलोमा भोट हाल्न काङ्ग्रेसको केन्द्रीय नेतृत्वले कार्यकर्ताहरूलाई निर्देशन दिएको थियो । यसलाई चितवनका काङ्ग्रेसी कार्यकर्ताहरूले आफ्नो अपमान र आफुमाथिको अन्न्यायको रूपमा बुझेका थिए । जिल्ला राजनीतिको अन्तरवस्तु बुझ्दै नबुझी केन्द्रबाट निर्देशन लादेर कार्यकर्ताको भावनामाथि खेल्ने काङ्ग्रेस नेतृतवका कमजोरीका कारण चितवनमा अघिल्लो निर्वाचनमा शर्मनाक हार ब्यहोरेको थियो । यो काङ्ग्रेसलाई जसरी पनि जित्नु थियो र अझै भरतपुर–१६ मा जितेर एकैपटक नेकपा र आफ्नै केन्द्रीय नेतृत्वलाई पनि जवाफ दिनु थियो । त्यसकारण यसपटक चितवनका काङ्ग्रेसीहरू एकजुट भए र उनीहरूले आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई समेत सन्देश दिए कि अब चितवनमा केन्द्रीय हस्तक्षेप बन्द गर ! यदि केन्द्रबाट तिमी हस्तक्षेप गर्देनौँ भने हामी यहाँ एकजुट हुन सक्छौँ र आफ्ना उम्मेदवार जिताउन सक्छौ भन्ने सन्देश प्रष्ट रुपमा चितवन काङ्ग्रेसले दिएको छ । त्यस कारण यो निर्वाचनको परिणाम स्वयम् काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाका लागि पनि एउटा सन्देश हो ।

चितवनमा भएको अघिल्लो निर्वाचनका क्रममा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नी छोरी रेनु दाहाललाई निर्वाचनमा जिताउनका लागि काङ्ग्रेससँग गठबन्धन गरेका थिए । काङ्ग्रेस नेतृत्वले आफ्नो जित निश्चित भएको ठाउँमा आफ्नो उम्मेदवार ब्याक गरेर तत्कालीन माओवादी केन्द्रलाई सघाएका थिए । प्रचण्डले त्यसको गुण उपयुक्त समयमा तिर्ने भने सार्वजनीक रुपमा नै घोषणा गरे पनि पछि उनले काङ्ग्रेसलाइ धोका दिए र तत्कालीन एमालेसँग गठबन्धन बनाएर चुनावमा गए । चितवनका काङ्ग्रेस कार्यकर्ताले यो धोकालाई भुलेका थिएनन् र उनीहरूले खोलो तर्ने तर लौरो बिर्सने प्रवृत्तिलाई सवक सिकाउने घोषणा गरेका थिए । अहिले भएको निर्वाचनमा यो मनोविज्ञानले पनि राम्रोसँग काम गरेको थियो । प्रचण्डलाई सवक सिकाउन काङ्ग्रेसीहरू एकजुट थिए यो पटक र त्यही अनुकुलको निर्वाचन परिणाम पनि आयो । अर्कोतर्फ पार्टी एकीकरणका क्रममा उनले आफ्नो पक्षका कार्यकर्ताहरूलाई महत्वपूर्ण पदमा पुऱ्याउनु र त्यहीअनुसारको व्यालेन्स गर्न नसक्नुले पनि यो निर्वाचनलाई प्रभावित पारेको छ । यसबाट नेकपा अध्यक्ष प्रचण्डले पक्कै केही पाठ सिके होलान् ।

समग्रमा चितवनको निर्वाचन परिणामको दुइवटा सन्देश थियो एउटा प्रचण्डलगायतकालाई चितवनमा काङ्ग्रेस अझै बलियो छ र हिजो छलछाम र धोकाधडीले काङ्ग्रेसको मत पाए पनि अब त्यो सम्भव छैन भन्ने सन्देश चितवका काङ्ग्रेसीहरूले दिएका छन् । उनीहरूले यो निर्वाचनमार्फत् आगामी चुनावमा काङ्ग्रेस एक जुट हुदा स्वयम् प्रचण्ड र नेकपालाई हम्मे–हम्मे पार्छौं र हामी अझै बलियो छौँ भन्ने सन्देश दिएका छन् । अर्को, चितवनका काङ्ग्रेसीले आफ्नै केन्द्रीय नेतृत्वलाई पनि ग्राउण्डमा काम गर्ने कार्यकर्ताको भावना नबुझी सानेपामा बसेर तिमी जथाभावी निर्णय नगर भन्ने सन्देश दिएका छन् । यसले काङ्ग्रेस नेतृत्वलाइ अबका दिनमा निर्णय लिँदा सोच्न बाध्य बनाएको छ । चितवनको निर्वाचनको परिणामले नेकपा अध्यक्ष प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवा दुबैलाई गतिलो पाठ सिकाएको छ ।