हामी किन दीर्घरोगी जस्ता भयौँ, साथीहरू.. ?!



गंगाधर गौतम, बेल्जियम

कमलो ठाउँमै प्रहार हुन्छ भन्ने मान्यताअनुसार ममाथि निरन्तर आक्रमण र धोका भइरहन्छ, किनकि म अलिक लचिलो छु र उदार पनि । तर, केही मानिस शङ्कालु र स्वार्थी छन् समाजमा । राम्रो–नराम्रोको द्वन्द्व चलिरहन्छ दुनियाँमा । यी दुई दृष्टिकोण नभएको समाज कहाँ पो होला र !

समाजमा परम्परावादी सोच राख्ने र परिवर्तन गर्न चाहने मानिसहरूका बीचमा युगौँदेखि द्वन्द्व चल्दै आएका छ । संसारभर चलिरहेको त्यो द्वन्द्व नेपालमा पनि छ, विदेशतिर पनि र सर्वत्रै छ । विपरीत मनोविज्ञान नेपाली डायस्पोरामा पनि हामीसँगै भित्रिएको छ ।

केही मान्छेहरू सामाजिक एकता, सद्भाव र प्रगतिको चक्रलाई रोक्न निरन्तर कोशिस गरिरहन्छन् । तर, त्यो चिरस्थाई कुरा हैन । एक निबन्धकारको शब्दमा भन्ने हो भने ‘त्यस्ता विरोधको परवाह नगरी क्रमभंगताको लागि प्रत्येक युगमा केही मान्छे बहुलाउनु पनि पर्दछ । केही मान्छे बहुलाहा नभइकन समाजको भीड छिचोल्न सकिँदैन ।

अमेरिकामा अब्राहम लिङ्कनले दासप्रथा उन्मूलन गर्दा उनलाई अमेरिकाका जनताको एक हिस्साले बहुलाएको भने । केही स्थानमा त दासहरू नै लिङ्कनको विरुद्ध नाराबाजीमा उत्रिए । ती दासहरूको सोचाइ दासप्रथा नै ठीक छ र त्यसैमा उनीहरूको सुरक्षा छ भन्ने थियो । आखिर सबै सोच चेतना स्तरमा निर्भर रहने कुरा हो । मैले मेरो जीवनमा धेरै किसिमका यस्ता गलत आरोप खेपेको पनि छु र चुप लागेको छु ।

मान्छेको सोच उसको ब्यक्तिगत स्वार्थले निर्देशित गऱ्यो भने एक प्रकारको हुन्छ र सामाजिक स्वार्थले निर्देशित गऱ्यो भने त्यसको विपरीत हुन्छ । कतै पढेको थिएँ कि कुनै व्यक्तिलाई जन्मकालदेखि नै अँध्यारो गुफामा राख्ने, बाहिर निस्कन नदिने हो भने ऊ त्यसैलाई संसार सम्झन थाल्छ र दृष्टिकोण पनि त्यहीअनुशार बनाउँछ । कुनै दिन उसलाई गुफाबाट बाहिर ल्याइयो भने, बाहिरी वातावरण वा प्रकाश देख्यो भने आत्तिन्छ । हत्तपत्त दौडिएर अँध्यारो गुफामा जान खोज्छ । मानवको स्वभाव के हुन्छ भने ऊ जुन कुराका लागि अभ्यस्त हुन्छ, त्यहि कुरा नै स्वीकार्छ । संसारलाई म यसरी नै बुझ्छु ।

दृष्टिकोण बनाउने भनेको वातावरण र परिवेशले पनि हो । वातावरणको कारणले भन्नुपर्दा डायस्पोरामा पुगेका नेपालीहरूको मुलभुत रुपमा दुई फरक दृष्टिकोण पाइन्छ । गाउँबाट युरोप, अमेरिका, अष्ट्रेलियालगायत स्थानमा आएकाहरूको अपवाद बाहेक सामाजिक भावना धेरै र स्वार्थी भावना कम हुन्छ भने शहरबाट वा त्यसमा पनि उच्च घरानाबाट आएकाहरूमा ब्याक्तिवादी भावना धेरै र सामाजिक भावना कम देखिन्छ । यो सब गाउँ र शहरबीचको फरक पनि हो । ठुला सहरमा हेर्ने हो भने धेरै मान्छेका घरमा जाने हो भने थाहा हुन्छ, आफैले हुर्काएका छोराछोरी अमेरिका, जापान, जर्मनी, युरोप, अष्ट्रेलिया गएपछि बाउआमालाई भुलिदिन्छन् । खाली एकपटक सम्झन्छन्, श्रीमती सुत्केरी भएका बेलामा । सुत्केरी भएका बेलामा विदेशको मानिसलाई नै सहयोगी राख्दा त्यहाँ धेरै महँगो पर्न जान्छ । यस्तो बेलामा बाउआमालाई ‘तेल भिषा’मा मात्र बोलाउँछन् । उनीहरूको धेरै निर्णय स्वार्थप्रेरित हुन्छ । तर गाउँले परिवेशमा हुर्केर आएकाहरूमा यदाकदा बाहेक आफ्ना अग्रजहरूको सेवा–सम्मानमा आफूलाई भरसक समर्पित गरेका हुन्छन् । आफ्नो गाउँको परोपकार र समृद्धिको लागि सामाजिक अभियानहरू चलाइरहेका हुन्छन् । शहरियाहरूले गरेको विरोधलाई उनीहरूले कुनै हेक्का राख्दैनन् । यो मानव नेचरको कुरा हो, जसलाई सम्बन्धित वातावरणले प्रभाव पार्ने गरेको हुन्छ । तर त्यसमा अपवाद हुने सक्दैन भन्ने हैन ।

ब्यक्तिको आफ्ना समकालीन व्यक्तिहरू र अघिल्ला पुस्ताका मानिहरूसँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धहरूको समष्टि यो समाजलाई हामीले के दिन सक्छौं ? मूलकुरा यसैको वरिपरि हुन्छ । त्यसको लागि राजनैतिक बहस अनिवार्य छ । मानव स्वाभावअनुरुप राजनीतिका भिन्न दर्शनबारे बहस हुँदै आएको छ । म सुखी र सम्पन्न बन्ने वा हामी ? महामानव बिपीले यो बहस सर्वप्रथम नेपालको राजनीतिमा भित्र्याउनुभयो । उहाँले आफ्नो वरिपरिका समर्थकहरूलाई आफ्नो निचोड पनि सुनाउनुभयो ।

एक्लो घरधनी बनेर देश वा समाज सम्पन्न हुँदैन तर राज्य सम्पन्न बन्यो भने नागरिक स्वतः सम्पन्न हुन्छन् । सामाजको दुख सुख सबै अन्तरसम्बन्धित छन् । दुःखसुख बराबरीको सोच समाजवाद बिना सम्भव छैन । दुःखसुख मानव जातिमै हुन्छ । समाजवादमा मेरो सुख, तेरो दुःख हुँदैन । जति सुख छ मानवजातिको हुन्छ, दुःख पनि मानवजातिकै हुन्छ । यही आदर्शको परिवरि हजारौं वर्षदेखि संसारभर बहस चल्दैछ । राम राज्य भन्नुस् वा प्लेटो, गान्धी, मन्डेला बिपी वा लेनिन नै किन नहुन् सबैले समुहको हित नै उत्तम चिन्तन हो भने । सामुहिक हितको सोच नै समाजवादी सोच हो र स्वतन्त्रतासहितको समाजवादको विकल्प राजनीतिमा छैन । परिवर्तनको खोजीले मलाई राजनीतिप्रति रुचि पैदा गऱ्यो । समाजवाद उत्कृष्ट समाज ब्यवस्था हो भन्ने निष्कर्षले नै मलाई बिपीवादी र नेपाली कांग्रेसको कार्यकर्ता बन्न प्रेरित गरेको हो ।

परिवेशको कुरा गर्नुपर्दा हाम्रो जिल्ला बाग्लुङको गल्कोट पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी, शहीद थिरबम मल्ल, नेता कुलराज शर्मा, गोविन्द कँडेललगायत धेरै नेताहरूको कर्मथलो मात्रै नभएर राणा कालदेखि नै राजनीतिको चेतना छरिएको ठाउँ हो । म उहाँहरूकै अप्रत्यक्ष प्रेरणा, द्वन्द्व प्रतिद्वन्द्व र झक्झकावटबाट ब्युँझेको केटा थिएँ । काँढेबास पढ्दा सानो कक्षामा समेत मनिटर हुनुपर्ने, रेडक्रसमा अध्यक्ष हुनुपर्ने साथै पञ्चायतविरोधि समेत बन्नुपर्ने । म त्यहीँबाट सानो नेता हुँदै बाग्लुङ क्याम्पसमा नेवि संघबाट स्ववियु सभापति (२०५१–५५) र विद्यार्थीको जिल्ला अध्यक्ष (२०५३–५७) निर्वाचित भएँ । सक्रियता तथा राजनीतिको भोकले नेतृत्वमा पुऱ्यायो । कुनै नेताको चाकडीमा भन्दा आफ्नो सामर्थ्य र सक्रियताले म नेतृत्वमा पुगेको हुँ । बाग्लुङका प्रायः सबै गाविसका स्कुलहरूमा मैले नेवि संघको इकाई बनाएको थिएँ । त्यसपछि मेरो सक्रियता देखेर ममाथि बामपन्थीहरूको आक्रमण हुन थाल्यो । आर्थिक अवस्था निम्नमध्यमवर्गीय किसानको भए पनि जसोतसो ब्याचलरसम्मको अध्ययन पूरा गर्न सकेँ ।

राजनैतिक सक्रियताका कारण म घुमिरहनु पर्ने, एकै स्थानमा बस्न नसक्ने र साथीहरूको टिममा रमाउने बानीले गर्दा क्याम्पसमा अध्ययन समयमा समेत आर्थिक अभाव राम्रैसँग झेलेको छु । पढाइकै बीच खर्च जुटाउनसमेत विभिन्न हण्डर खाँदै पढाइलाई जसोतसो सुचारु गराएँ । पैसा नहुँदा पनि बाँच्न जानेँ । त्यो नै मेरो सबैभन्दा महत्वपूर्ण खुबी हो । अहिले नेपालको राजनीतिमा मात्रै नभएर एनआरएनमा समेत ‘पैसा फेँको तमासा देखो’ जस्तो भएको छ । यो सब देख्दा दुःख लाग्छ । संघ–संगठनहरूमा पहिले पहिले त्याग, पवित्र भावना र सामाजिक सक्रियतालाई संगठनको पुँजी मानिन्थ्यो । अहिले पैसा कमाउन सके अरु सबै किन्न सकिन्छ भन्ने सोच देखिन्छ । यो सोचले कुनै पनि संघ–संगठनहरू दीर्घकालसम्म बाँच्न सक्दैनन् ।

सबैले स्वार्थी आचरण सुधारुन् र समाजवादी बनुन् । मेरो यही सुझाव हो सबैलाई । सक्रियताको कुरा गर्दा अहिले पनि अचम्म लाग्छ । विद्यार्थी कालमा निकै सक्रिय भइन्थ्यो । संगठनको काममा बाग्लुङ बजारबाट विहान पाँच बजे हिँडेर बेलुका बुर्तिबाङ पुगिन्थ्यो । बर्खामा हिँड्दा शरीरमा जुकाले नखाएको कतै हुँदैनथ्यो । टिमुर वा नुन दलेर हिँड्नुपर्ने ! सामाजिक भावनाले त्यो सबै मुस्किल पचाइन्थ्यो । ६२ गाविसमा मैले नबनाएको कुनै विद्यार्थी इकाई थिएन । जुन अहिलेसम्म कसैले बनाएको मेरो जानकारीमा छैन । त्यति खटिन्थ्यो । २०४५ सालको घटना हो जनआन्दोलन चलेको थियो । किरण पौडेल, हर्क खत्रीलगायत हामी ११ जनालाई आन्दोलनको क्रममा प्रहरीले समात्यो । जनताले राजबन्दी रिहा गर्न हरिचौर प्रहरी चौकी घेरा हाले । त्यहाँ ऐतिहासिक प्रदर्शन भयो । त्यो सामुहिक संघर्षको गौरवमय दिनको मलाई सँधै याद आइरहन्छ । कति निःस्वार्थ थियो कार्यकर्ताहरूको जमात त्यो बेला ।

पछि गृहयुद्धले नेपाल थिलोथिलो भयो । मुलुकमा राजनीतिक द्वन्द्वले अत्यासलाग्दो अवस्था प्रायः नेपालीहरू विदेशिनुको परोक्ष कारण हो जस्तो लाग्छ । आर्थिक कारण पनि होला । तर मेरो आफ्नोबारे भन्नु पर्दा २०५४ सालमा घरमा आगो लगाइयो । म नेवि संघको जिल्ला अध्यक्ष थिएँ त्यो बेला । गल्कोट हटियामा ममाथि सांघातिक आक्रमण समेत भयो । घरनजिक बम विष्फोट गरियो । ज्यानको जोखिम भएपछि मात्र म विदेश पलायन भएको हुँ । मेरो सन्दर्भमा आर्थिक कारण गौण हो । यहाँ आएर पनि मैले बाँच्नको लागि मात्रै काम गरेको छु र धेरै समय समाजको लागि दिएको चिनजानका सबैले देखेकै छन् । राजनैतिक आधार बलियो बनाएको थिएँ, देशमै बसेको भए सायद नेतृत्वमा पुगीसक्थेँ होला ! विवशताले विदेश पलायन भए पनि सपना त अहिलेसम्म पनि आफ्नै गाउँको मात्र देख्ने गरेको छु । राज्यको त सीमा होला, तर आस्था र राष्ट्रियताको सीमा हुँदैन, त्यसैले सबैको प्रतिक्रिया ग्रहण गर्दै जनसम्पर्क समिति र एनआरएनको अभियानमा लागियो । केही पाइएला भनेर करले संगठनमा लागेको पनि हैन ।

आफ्नो जमातको पछि लाग्दा विदेशमा पनि नेपालमै र नेपालीसँगै भएको अनुभूति दिँदोरहेछ । सन् २००० मा बेल्जियम आएपछि केही आस्था मिल्ने नेपालीको सम्पर्कमा आई आस्थावान कांग्रेसहरूमार्फत नेपाली समाज सङ्गठित गर्नतिर लागियो । भेटघाट बढाएँ । ध्रुव पौडेल, सुवास जोशी, जानकी गुरुङ, शेखर कँडेल, राम थापा, गोविन्द सुवेदीलगायतको सल्लाहमा नेपाली काङ्ग्रेस बेल्जियम–नेपाल सम्पर्क समिति बनायौँ ।

अब त उमेर पनि घर्किन थाल्यो अलिक । म २०३० सालमा बाग्लुङ, गल्कोटको मल्म वार्ड ३ मा जन्मेको मान्छे, बेल्जियममा आएर पनि राजनीतिमै लागियो । बुबा–आमाले पनि मलाई सामाजिक गतिविधिमा लाग्दा कहिल्यै गाली गर्नुभएन । जीवनमा राजनैतिक तथा सामाजिक क्षेत्रमा लाग्न जीवनसंगिनी शशीले समेत कहिल्यै अवरोध गरिनन् । मैले मेरा दुई छोरा रोशन र कृष्णलाई समेत सर्वप्रथम नेपाली समाजको सेवा गर्ने प्रेरणा दिन कुनै कसर छोडेको छैन ।

सामाजिक भावना भनेको परोपकारको भ्रुण हो र यो चेतनासँग जोडिएर आउँछ र देवता बनेर फुल्दछ । भूगोल यसको बाधक हुन सक्दैन । ब्राजिलको फूल बेल्जियममा फुल्न सक्छ भने विचार किन सक्दैन ?

आर्थिक अवस्थाले सामाजिक सेवाको निर्धारण कदापि गर्दैन । चेतनासहितको दायित्वबोध समाजसेवाको महत्वपूर्ण पक्ष हो । अहिलेको समाजमा केही मानिसले व्यक्तिगत स्वार्थका लागि मात्र व्यवहार गर्दछन् । नोकरी गर्ने, घरसम्पत्ति जोड्ने मात्र काम गर्दछन्, धेरै पैसा कमाउँछन् । समाजले उनीहरूलाई इज्जत गर्छ । एक करोड वा अर्ब जम्मा गरेको अवस्थामा ठूलो सम्मान हुन्छ । कुनै व्यक्तिले त्यस विषयमा ध्यान दिएन र समाज परिवर्तनमा लाग्यो भने ऊ बहुलाहा ठानिन्छ । यो सब चिन्तनको कुरा हो । यही ब्याक्तिवादी खराब चिन्तनको विरुद्ध म संघर्ष गरिरहन्छु । समाजवाद आफूबाट लागु गर्ने कुरा हो जुन सामाजिक चिन्तनसँग अभिन्न रुपले जोडिएको हुन्छ । यसैको लागि हो मेरो लडाइँ, चलिरहन्छ ।

हामीले आफ्नो सुखका लागि पनि समाजको, देशको विकासलाई सम्झनुपर्छ । देशको निर्माणका लागि लाग्नुपर्दछ । हाम्रो जिम्मेवारी आफ्नो लागि मात्रै हुनुहुन्न । समाज र देशप्रति पनि हुनुपर्दछ । धेरै मान्छेको त्यस्तो सोचाइ छैन । उनीहरूलाई आफ्नो मात्रै चिन्ता हुन्छ । व्यक्तिगत फाइदाका लागि जे पनि गर्न तम्सिने संस्कार बढेकोमा दुःख लाग्छ ।

एनआरएनएबाट समेत मातृभूमिको लागि धेरै गर्न सकिने सम्भावना छ । तर नयाँ अवधारणा र नयाँ योजना ल्याउने कला र जाँगरको आवश्यकता हो । एनआरएनए आफैले जन्माएकोले अति नै माया लाग्छ । त्यतिबेला युवराज गुरुङ, जानकी गुरुङ, रवीन्द्रमान श्रेष्ठ, रजनी प्रधान, सुवास जोशी लगायतका थुप्रै साथीहरू मिलेर एनआरएनको बेल्जियम शाखा खोल्यौँ र नेपाली संस्कृति चिनाउन नेपाल महोत्सवको सुरुवात गऱ्यौँ । सांस्कृतिक, खेलकुद र शैक्षिक कार्यक्रममार्फत दोश्रो पिँढीलाई समेट्ने अवधारणा समेत ल्यायौँ । हामीले त्यो बेला राम्रा योजना बनाएका थियौं, तर सोचेजस्तो साथ पाएनौँ ।

हाम्रा केही अभियान सफल पनि भए भने केही प्रयासहरू अझै पूर्ण सफल भइसकेका छैनन् । संगठन पनि एउटा शरीरजस्तै रहेछ । शरीरमा विभिन्न संक्रमण भइरहन्छन् । रोगले आक्रमण गरिरहन्छ । मानिसले शरीरलाई संक्रमणबाट बचाउन पौष्टिक आहार, सरसफाइ वा औषधिमूलोको सहारा लिँदै आइरहनुपरेको छ । अहिले हामी दीर्घरोगी जस्ता भएका छौँ । मन खोलेर कुरा गर्न नसक्ने, भित्रभित्रै गुम्सिएका, मिचिएका मनोरोगी जस्तै । सबैले आफ्नो रोग पहिचान गऱ्यौँ भने संगठनभित्रको रोग सकिन्छ, नभए हामीलाई खान्छ । हाम्रो संगठनको मूल नेतृत्व मनोरोगको शिकार भएको हो, त्यो बेलादेखि अहिलेसम्म । संगठनभित्र हुने विचारको द्वन्द्वलाई संक्रमणबाट बचाउन सक्ने कार्यकर्ता हुन् । उनीहरूको कुरै सुन्दैनौँ हामीले । अब उपयुक्त औषधिबाट उपचार जरुरी छ । त्यसको मुख्य औषधि नेतृत्वको सोचमा रुपान्तरण हो । मनभित्रको अमिलो डकाररुपी रोग फाल्यौँ भने हाम्रो जनसम्पर्क समितिलाई संसारभरि कुनै शक्तिले हल्लाउन सक्ने छैन ।

प्रतिक्रिया