पौडेल–सिटौला समूहद्वारा कांग्रेस केन्द्रीय समिति बैठक बहिष्कार

पौडेल–सिटौला समूहद्वारा कांग्रेस केन्द्रीय समिति बैठक बहिष्कार


नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले केन्द्रीय कार्यसमिति आजको बैठक बहिष्कार गरेका छन् ।

सभापति शेरबहादुर देउवाले विभाग गठन र कार्यसम्पादन समिति गठनमा एकलौटी गर्न खोजेको भन्दै संस्थापन इतरका नेताले बैठक बहिष्कार गरेका हुन् ।

बैठक बहिष्कार गर्ने असन्तुष्ट पक्षको चेतावनीलाई सभापति देउवाले बेवास्ता गर्दै बैठक सुरु गर्न निर्देशन दिएपछि अपराह्न साढे चार बजे बैठक सुरु भएको थियो । बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मालगायत देउवापक्षीय सदस्य सहभागी छन् ।

संस्थापन पक्षले बहुमतका आधारमा प्रस्तावित एजेन्डा पारित गर्ने तयारी गरेपछि उनीहरू बैठकमै उपस्थित भएनन् । उनीहरू आगामी महाधिवेशनको एजेन्डा बैठकमा प्रस्तुत नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् । आजको बैठक बैठक दिउँसो एक बजेदेखि बोलाइएको थियो ।