राष्ट्रिय सभा सदस्यको चुनाव माघ ९ मा

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ९ मा


राष्ट्रिय सभा सदस्यको चुनाव माघ ९ गते हुने भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले माघ ९ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने जानकारी दिएका हुन् ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेअनुसार माघ ९ गतेका लागि निर्वाचन कार्यक्रम तय गरिएको हो ।

सो दिन रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत गरिनेछ ।

प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सदस्यको निर्वाचन हुने प्रावधान छ । पहिलोपटक गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएका एकतिहाइ सदस्यको पदावधि सकिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो । सो निर्वाचन सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ जनाको पदावधि सकिन लागेको हो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेश सभाका सदस्य राष्ट्रिय सभा सदस्यका लागि मतदाता रहनेछन् । उनीहरूकै मतका आधारमा धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उनीहरूको छनोट हुनेछ ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने राष्ट्रिय सभाका सदस्यहरूमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन्

पदावधि सकिएका राष्ट्रिय सभा सदस्यहरू निम्नानुसार छन्–

नेकपा : हरिचरण सिवाकोटी, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, राजकुमार कुँवर, डा. युवराज खतिवडा, कालीबहादुर मल्ल, कमलाकुमारी ओली, खेमराज नेपाली, युटोल तामाङ

कांग्रेस : सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, मुक्ताकुमारी यादव, विन्दादेवी आले, दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, धनकुमारी खतिवडा

राजपा : वृषेशचन्द्र लाल, रमेशप्रसाद यादव

समाजवादी : रामप्रित पासवान