हुम्लामा टिपर दुर्घटनामा दुई र दोलखामा स्काभेटर पल्टिँदा एकको मृत्यु

हुम्लामा टिपर दुर्घटनामा दुई र दोलखामा स्काभेटर पल्टिँदा एकको मृत्यु


हुम्लामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नाम्खा गाउँपालिका–५ स्थित पानी पाल्वाङमा बा.५ख नम्बरको टिपर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको र अन्य दुई घाइते भएका हुन् ।

हिल्साबाट याल्वाङतर्फ आउँदै गर्दा भएको उक्त दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसैगरी दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गएराति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।

गएराति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परी तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालिञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन् । घाइतेको काठमाडौंको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।