भूकम्पप्रभावित सांस्कृतिक सम्पदा संरक्षणको लागि भारतद्वारा INTACH परिचालन

भूकम्पप्रभावित सांस्कृतिक सम्पदा संरक्षणको लागि भारतद्वारा INTACH परिचालन


नेपालमा एघार वटा साँस्कृतिक सम्पदाको भूकम्पपश्चातको पुनर्निर्माणका लागि भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज INTACH सँग आज (२६ मंसिर) गते एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा INTACH का सदस्य सचिव श्रीमती डा. सि. टी मिश्राले हस्ताक्षर गरेका छन् ।

INTACH ले काठमाडौं, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि INTACH ले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्ने बताइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले सो समारोहमा उपस्थिति जनाउनुभएको थियो ।

ज्ञातव्य छ, भारतभर १९० भन्दा बढी शाखाहरू रहेको INTACH विश्वको सबैभन्दा ठूलो साँस्कृतिक सङ्घठनहरु मध्येकोे एक हो । INTACH ले सन् २००७ मा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्का लागि समेत विशेष परामर्शदातृको रुपमा सेवा प्रदान गरेको थियो ।