कर्णालीमा चार करोडको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रम

कर्णालीमा चार करोडको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रम


कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत रु. दुई हजार पाउने भएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मंसिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत रु. दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले रु. चार हजार आठ सय पाउने भएका छन् । यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायातबापत रु. दुई हजार र चारपटक गर्भ जाँच गरेबापत आठ सय रुपैयाँ पाउँदै आएका थिए ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार पोषणबापत दिइने रु. दुई हजार प्रदेश अस्पतालको हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिनेछ । अन्य स्वास्थ्य संस्थामा भने सबै सुत्केरीलाई प्रदान गरिनेछ ।

स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहनस्वरूप यो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘कर्णालीमा रहेका विपन्न गरिब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ,’ उनले भने, ‘पोषणभत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्युदरमा कमी गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य हो ।’

मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु. चार करोड बजेट छुट्याइएको जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वाग्लेले यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने बताए ।
rss