जुम्लाका २१ गाउँ छुईगोठमुक्त

जुम्लाका २१ गाउँ छुईगोठमुक्त


अहिलेसम्म जुम्लाका २१ गाउँबस्ती छुईगोठमुक्त घोषणा भएका छन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ गाउँबस्ती छुईगोठमुक्त घोषणा भएका हुन् ।

सर्वाेदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला, एक्सन बक्स जुम्लालगायतका संघसंस्थाको साझेदारीमा र विभिन्न स्थानीय तहको आयोजनामा २१ गाउँबस्ती छुईगोठमुक्त घोषणा भएका छन् ।

गैरसरकारी संस्था सर्वाेदय नेपाल जुम्लाका अनुसार २१ गाउँबस्तीका एक हजार ७ सय ४० घरधुरी छुईगोठमुक्त घोषणा भएका छन् । जिल्लाका आठ हजार ७ सय ८९ ले छुई नमान्ने गरेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए ।

छुईगोठमुक्त घोषणा अभियानलाई अझ बढी व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उनले महिलामाथिको अत्याचार अन्त्यका लागि स्वयं महिला नै एकजुट भएकाले बिस्तारै जुम्लामा छुईप्रथा न्यूनीकरण हुँदै जाने बताए ।

लैंगिक समानता, महिलाको कार्यबोझ न्यूनीकरण र महिलामा भएको विभेद छाउपडी प्रथा न्यूनीकरण विषयमा सर्वाेदय नेपाल जुम्लाले काम गर्दै आएको छ । घरदैलो, सामूहिक प्रतिबद्धता, हस्ताक्षर, वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक र अनुगमनको प्रतिवेदनका आधारमा छुईगोठ घोषणा कार्यक्रम गरिएको कार्यकारी निर्देशक खत्रीले जानकारी दिए ।

पाँच वर्षदेखि इटालियन फाउन्डेसन र सर्वाेदय नेपाल ललितपुरको आर्थिक सहयोगमा यस संस्थाले महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
rss