अज्ञात समूहद्वारा वडा कार्यालय र स्काभेटरमा आगजनी

अज्ञात समूहद्वारा वडा कार्यालय र स्काभेटरमा आगजनी


संखुवासभाको मादी नगरपालिका वडा नं. ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

गएराति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए । आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुन सक्ने उनको भनाइ छ । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ ।

आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा बताए । आगजनीमा संलग्नको खोजी कार्य भइरहेको उनको भनाइ छ । वडा कार्यालय स्थानीय चेतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो ।