इज्जत भन्दा धनलाई महत्व दिँदा मौलायो भ्रष्टाचार : प्रदेश प्रमुख परियार

इज्जत भन्दा धनलाई महत्व दिँदा मौलायो भ्रष्टाचार : प्रदेश प्रमुख परियार


■ हेमशंकर सिंह, राजविराज

प्रदेश २ का प्रमुख तिलक परियारले इज्जतभन्दा धनलाई बढी महत्व दिने गरेका कारण भ्रष्टाचार मौलाएको धारणा सार्वजनिक गरेका छन् । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत बुधबार (२५ मंसिर) राजविराजमा आयोजित मानवअधिकारकर्मीहरुको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै परियारले यस्तो बताएका हुन् ।

आम्दानी अठन्नी खर्च रुपैयाँ भनेझैँ आम्दानी न्यून रहे पनि जीवनशैली र आचरण फजुलखर्चीको दिशामा जाँदै गरेकाले आवश्यकता पूरा गर्न मानिसले जुनसुकै धन्धा अपनाउने गरेकाले इज्जत भन्दा पनि धनको महत्व बढ्न गएको उनले प्रष्टयाए ।

पश्चिमी संस्कृतिको अनुशरण गर्ने क्रम बढ्न थालेको र पूर्वीय संस्कृतिसँग पश्चिमी संस्कृतिको मेल नखाँदा सांस्कृतिक विचलन बढनुका साथै बलात्कार, दुर्व्यवहार जस्ता घटनामा वृद्धि भइरहेको समेत उनले बताए ।

महिला हिंसा, बलात्कार जस्ता समस्याको सामाधानका लागि सर्वप्रथम राजनीतिक दलहरुबाट प्रतिबद्धता आउनुपर्नेमा जोड दिँदै उनले भने, ‘सुरक्षा निकाय र न्यायालय जस्तो राज्यका यन्त्रहरुले इमान्दारीपूर्वक राज्यसत्ताले सुम्पेको जिम्मेवारी बहन गरे यस प्रकारका विकृतिको अन्त्य गर्न सकिने छ ।’

सोही कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले नेपाल जस्तो महिलामैत्री शासनप्रणाली विश्वका लागि उदाहरणीय भएपनि महिला हिंसामा कमी नआउनु चिन्ताको विषय रहेको बताए । मानवअधिकारकर्मीहरुले आफ्नो घरपरिवारमा पनि मानवअधिकारको रक्षा गर्न सके हिंसा न्यूनीकरणमा सघाउ पुग्ने दाबी समेत उनले गरे ।

जनप्रतिनिधि हुन समेत योग्यता तोकिनुपर्नेमा जोड दिँदै उनले भने, ‘पियन, खरदारको जागिर खान योग्यता चाहिने तर राष्ट्रपति, प्रधानमन्त्री र सांसद हुन योग्यता नचाहिने ? अब यस विषयमा बहश चलाउनुपर्छ ।’

सेतु सामुदायिक विकास मञ्चका अध्यक्ष जंगबहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्तिका लागि साझा अभियानका कार्यक्रम संयोजक हरि तिमल्सिना र सेतु सामुदायिक विकास मञ्चको तर्फबाट आभा सेतु सिंहले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी आधारपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राजपा नेपालका केन्द्रिय सदस्य पुनम यादव, अभियानका प्रदेश प्रमुख अजय कुशवाहा, नेकपा सप्तरीका जिल्ला सदस्य मन्जु साह, अधिवक्ता पुष्पराज पौडेल, जिल्लाकै पहिलो महिला वडा अध्यक्ष कुसुम आचार्य, नवनिर्वाचित वडाअध्यक्ष प्रमिला यादव लगायतले मन्तव्य व्यक्त गरे ।

सोही कार्यक्रममा प्रदेश प्रमुख परियारले जिल्लाको पहिलो र दोस्रो निर्वाचित महिला वडा अध्यक्ष आचार्य र यादवलाई सम्मानपत्रसहित सम्मानित गरेका थिए ।