नेवि सङ्घको नेतृत्व तत्काल ल्याउन माग

नेवि सङ्घको नेतृत्व तत्काल ल्याउन माग


नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले तत्काल नेविसङ्घको नेतृत्व ल्याउन माग गरेका छन् । नेविसङ्घले बुधबार राजधानीमा आयोजना गरेको ‘विवेकपूर्ण व्यवहार–काङ्ग्रेस एकताको आधार, प्राकृतिक न्यायको आधारमा नेविसङ्घको नेतृत्वमा हाम्रो अधिकार’ विषयक विचार गोष्ठीमा नेविसङ्घका नेताले नेवि सङ्घलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका हुन् ।

कार्यक्रममा नेवि सङ्घका नेता मनोजमणि आचार्यले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा नेविसङ्घको नेतृत्व नहुनु दुःखद भएको बताए । ‘अरू राजनीतिक दलका विद्यार्थी सङ्गठन क्याम्पसमा गएर सदस्यता वितरण गरिसके तर नेविसङ्घ नेतृत्व खोजेर बसिरहेको छ’, उनले गुनासो गरे । इतिहास बोकेको विद्यार्थी सङ्गठन कमजोर हुँदै गएको आचार्यको भनाई छ ।

नेविसङ्घका नेता दीपक भट्टराईले पार्टी नेतृत्वले काखा र पाखाको आधारमा क्षमतावान् व्यक्तिलाई किनारा लगाएर अयोग्य व्यक्तिलाई नेतृत्व दिन खोजेको आरोप लगाए । नेविसङ्घको नेतृत्व षड्यन्त्रको कोखबाट नभई सङ्घर्षको मैदानबाट जन्मिने उनको भनाई थियो ।

यस्तै, सङ्घका नेता हिमालदत्त श्रेष्ठ, प्रतिमा गौतम, शिव रिमाललगायतले पार्टीको नर्सरीका रुपमा रहेको नेवि सङ्घ लामो समयदेखि खाली हुनु दुर्भाग्य भएको बताए ।

विसं २०७५ माघमा नेविसङ्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि हालसम्म नेविसङ्घ नेतृत्वविहीन बन्दै आएको छ ।