सागमा पदकविजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीद्वारा ‘सरप्राइज’ प्याकेज घोषणा हुँदै

सागमा पदकविजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीद्वारा ‘सरप्राइज’ प्याकेज घोषणा हुँदै


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिजो सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने नेपाली खेलाडीलाई बधाई दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आमन्त्रण गरेका छन् ।

१३औँ सागमा सहभागिता जनाई राष्ट्रलाई स्वर्ण, रजत र कांस्य पदक दिलाउने खेलाडीलाई बधाई दिन प्रधानमन्त्री ओलीले आज (बुधबार) अपराह्न २ः१५ बजे बालुवाटारमा आमन्त्रण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले सो अवसरमा खेलाडीलाई विशेष सम्बोधन गर्ने पनि जनाइएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई आकर्षक आर्थिक प्याकेजको घोषणा गर्ने बालुवाटार स्रोत बताउँछ ।

नेपालले आयोजना गरेको १३औँ सागमा नेपाल ५१ स्वर्ण पदक जित्दै दोस्रो भएको थियो । यो सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी समग्रमा २०६ पदक प्राप्त गरेको थियो ।